फिक्सिङ र विवादले बदनाम नेपाल टी-२०, नेपाली खेलाडीको ब्याटिङमै संघर्ष – Nepal Press

फिक्सिङ र विवादले बदनाम नेपाल टी-२०, नेपाली खेलाडीको ब्याटिङमै संघर्ष

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) र भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सले आयोजना गरेको नेपाल टी-२० लिगको पहिलो संस्करण अन्ततः सकिएको छ । त्रिवि क्रिकेट मैदानमा सम्पन्न ‘ग्रान्ड’ फ्रेन्चाइज लिग भनिएको यो प्रतियोगिताले ‘ग्रान्ड’ चर्चा कमायो । तर, त्यो चर्चा दर्शकको उपस्थिति, उत्कृष्ट क्रिकेट र चुस्त व्यवस्थापनका कारण नभई ‘म्याच फिक्सिङ’, स्पट फिक्सिङ, पारिश्रमिक विवादले थियो ।

पहिलो खेलको टस हुँदासम्म पनि प्रतियोगिता हुन्छ भनेर धेरैले पत्याएका थिएनन् । आज त भयो, भोलि के होला ? भोलि भए पनि पर्सि खेल होला र ? यस्तै, शंका-आशंका र अन्योलका बीच नेपाल टी-२० लिगको मुन्धुम क्यानले पूरा गरेको छ । बुधबार भएको फाइनलमा विराटनगर सुपर किङ्ग्सलाई पराजित गर्दै लुम्बिनी अल स्टार्स पहिलो सिजनको च्याम्पियनसिप पनि बनिसकेको छ ।

लुम्बिनीले प्रतियोगिता अगाडिनै सुरू गरेको तयारीको फलस्वरूप उपाधि जित्यो । अन्य टिमको तुलनामा ‘व्यवस्थित’ टीमले सफलता पनि पायो । सुरूआतदेखि नै आफूलाई उपाधि दाबेदारको रुपमा प्रस्तुत गरेको लुम्बिनीले उपाधि जित्नु अपेक्षित नै थियो ।

क्रिकेट एशोसिएशन नेपाल (क्यान) र भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसले ‘संयुक्त आयोजना’ भनिएपनि क्यानको आयोजना त कहिले सेभेन थ्री स्ट्रेटिजिक तथा कमर्सियल पार्टनरमात्रै जस्ता कुराले यो प्रतियोगिताको प्रमुख जिम्मेवार को हो भन्ने स्पष्ट नहुँदै प्रतियोगिता सकिएको छ । सुरू हुनुअघि ‘नेपालकै ठूलो’ र ‘एकमात्र आधिकारिक’ भनेर क्यानले व्याख्या गरेको प्रतियोगिता नेपालकै सबैभन्दा विवादित पनि बनेको छ । नेपाली क्रिकेटको सर्वोच्च निकायको प्रतियोगिता नै तीन पटक सरेको थियो ।

विवादै विवादमा सकिएको यो प्रतियोगितासँगै नेपाली क्रिकेटको आगामी यात्राको भविश्य पनि अनिश्चित बनेको छ । प्रतियोगिता सुरू हुन एक दिन बाँकी रहँदा विदेशी खेलाडीको श्रम स्विकृतिमा ढिलाई भएको भनेर एक दिन सारेपनि प्रतियोगितामा भएका ६ फ्रेन्चाइज टीममा लुम्बिनी र पोखरा एभेन्जर्सबाहेक अरु टीमको मालिक नै टुंगो नलागेको र प्रायोजकका बारेमा पनि अन्योल रहेको अवस्था थियो । प्रतियोगितालाई तेस्रो पटकमा तय भएको पुस ८ को मिति एक दिन सारेर ९ गते पुर्‍याइयो ।

उद्घाटन खेल हुन्छ या हुँदैन भन्नेमा खेलाडी नै ढुक्क हुन सकेका थिएनन् । जसोतसो विवादकै बीच खेल सुरू भएको ११औं दिन बिहान हुने पहिलो खेलमा टी-२० लिगको कमजोर व्यवस्थापन र यसका धुमिल पक्ष बाहिरिन थालेका थिए । काठमाडौं नाइट्स र विराटनगर सुपर किङ्सका खेलाडी मैदान आएर पनि समयमा टस गर्न मानेनन् । उनीहरूले पारिश्रमिककै कारण त्यो समाधान नभई नखेल्ने अडान राखेपछि क्यानले बिन्ती बिसाउनु परेको थियो ।

खेलाडीले उठाएको प्रमुख समस्या प्रतियोगिताको ६० प्रतिशत खेल सकिँदा पनि खेलाडीले पारिश्रमिक नपाउनु थियो । सम्झौता अनुसार खेल सुरू हुनुअघि ४० प्रतिशत र प्रतियोगिता चलिरहँदा ६० प्रतिशत गरी पुरा रकम पाउनुपर्नेमा खेलाडीहरूले ११ दिनको खेल सकिँदासम्म कुनैपनि रकम पाएका थिएनन् । त्यही कुरालाई लिएर काठमाडौं र विराटनगरका खेलाडीले खेल खेल्न मानेनन् । क्यानका पदाधिकारीसँग करिब दुई घण्टाको छलफल र केहि सम्झौतापछि ९ ओभरमा घटाएर जसोतसो खेल भएको थियो ।

त्यहीदिन कमेन्टेटर सचिन तिमल्सिनाले सामाजिक सञ्जाल फेसबुकमा भिडिओ पोस्ट गर्दै टी-२० लिग फिक्सिङ हो, र यसमा कुन खेलाडी कसरी संलग्न रहेको भन्ने बताएपछि प्रतियोगिताको विवाद सतहमा आएको थियो । केही क्यानकै पदाधिकारीहरूले पनि सामाजिक सञ्जालमार्फत लिगको विरोध गरे । खेलपछि बोल्दै काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्ले आफ्नो टीमको खेलाडीलाई फिक्सरले अप्रोच गरेको बताएपछि क्रिकेट जमात तरङ्गित बनेको थियो । यद्यपि, ज्ञानेन्द्रले त्यसबारे एन्टीकरप्सनमा जानकारी दिएको बताएका थिए । अर्को दिनको खेलमा काठमाडौं ढिलो मैदान पुग्यो । त्यो दिन मैदानमा केही विवाद नदेखिए पनि खेलाडीहरूले होटेलमै पारिश्रमिकका बारेमा पुनः बहस गरेर मैदान आएको स्पष्ट बुझ्न सकिन्थ्यो । त्यो दिन पनि खेल १७ ओभरमा छोट्याइएको थियो ।

खेलाडीहरूलाई पारिश्रमीक दिन नसक्दा र लिग विवादित बनेपछि सेभेन थ्री स्पोर्टसका मालिक जतिन अलुवालिया र सेभेन थ्री स्पोर्टसका पदाधिकारीहरू सबै क्यानलाई थाहै नदिई सम्पर्कबिहीन बने । केही विदेशी खेलाडीहरू लिगको प्रारुप बुझेर पारिश्रमिक नपाएपछि एक-दुई खेल खेलेर घर फर्किएका थिए । नामै नसुनेको वेस्टइन्डिजका खेलाडी आन्द्रे मकार्थीलाई ल्याएर कप्तान बनाएको विराटनगरले कप्तान परिवर्तन गरेर रोहित पौडेललाई टिमको जिम्मेवारी दिएको थियो । रोहितले कप्तानको जिम्मेवारी पाएपछि दुई खेलमात्रै खेलेका मकार्थीको त्यसपछि प्लेइङ लिस्टमा कहिले पनि नाम देखिएन । प्रतियोगिताको इलिमिनेटर पुगेको काठमाडौंले ११ जना नेपाली खेलाडीमात्रै लिएर मैदान उत्रिएको थियो ।

टीममा रहेका ४ विदेशी खेलाडी घर फर्किएपछि काठमाडौं ११ जना खेलाडीमा मात्रै सीमित भयो । सबै खेलाडी मैदान उतारेपछि काठमाडौंको डगआउट रितै थियो । न प्रशिक्षक थिए, न व्यावस्थापक र फिजियो नै । उनीहरुलाई मैदानमा पुर्‍याउनेसमेत कोही भएन । डगआउटमा रित्ता कुर्सीमात्रै थिए । उक्त खेलमा काठमाडौंका खेलाडीले विपक्षी टीमकै खेलाडीले दिएको पानी खाए र चित्त बुझाए । तर, आम समर्थकका लागि त्यो दृष्य चित्तबुझ्दो थिएन । त्यो खाली डगआउटमा छर्लङग क्यानको लाचारपन झल्किरहेको थियो । खेलपछि काठमाडौंका कप्तान मल्लले दु:ख मिश्रित हाँसो देखाउँदै भनेका थिए ।

‘११ जनामात्रै खेलाडी भएपछि कस्लाई बेन्चमा राख्ने सोच्न परेन सबैलाई खेलाउने हो छनोट सजिलो भयो ।’ तर, उनले जसरी सजिलै भने त्यो कुरा हालसम्म क्रिकेट समर्थकलाई पचाउन भने पक्कै सजिलो भएको छैन ।

फिक्सिङ र नेपाल टी-२० लिगको चौतर्फी विवादपछि नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ । सिआईबीले लिगमा स्पट फिक्सिङ भएको प्रारम्भिक निष्कर्ष निकालेको थियो । क्रिकेटको सर्वोच्च निकाय आईसीसीका पदाधिकारीहरूनै छानबिनका लागि नेपाल आएका थिए । त्यसपछि आईसीसी, सीआईबी र राष्ट्रिय खेलकुद परिषद् (राखेप) तीनै निकायले नेपाल टी-२० लिगमा फिक्सिङका बारेमा छानबिन गरिरहेका छन् ।

यो सब भइराख्दा नेपाली क्रिकेटको सर्वोच्च निकाय क्यानको आधिकारिक भनिएको प्रतियोगिताले अहिले सम्पूर्ण नेपाली क्रिकेटलाई नै बदनाम गरिरहेको छ भन्दा फरक पर्दैन । अन्तर्राष्ट्रियस्तरमा खस्किएको प्रदर्शन गरिरहेको राष्ट्रिय टीमबाट निराश दर्शकलाई पुनः मैदान फर्काउन सक्ने हैसियत राखेको प्रतियोगिताले समर्थकलाई दुगुना निराशपन थपिदिएको छ । क्रिकेट भन्नेबित्तिकै धेरै समर्थक भन्छन मैले एक सच्चा समर्थकको रूपमा सन्‍न्‍यास लिए । अब यो भन्दा धेरै बदनाम के होला र ?

नेपाली खेलाडीको निराशलाग्दो ब्याटिङ

यत्तिका धेरै विवादले थिचिएको प्रतियोगितामा नेपाली खेलाडीहरूको प्रदर्शनले झन् निराशपन थपेको थियो । प्रतियोगिताका सुरूआती केही खेलमा विदेशी खेलाडीको प्रदर्शन हाबी रह्यो । ‘प्लेयर अफ दी म्याच’ पनि विदेशी खेलाडीकै पोल्टोमा जाने गर्थ्यो । जनकपुर रोयल्सले खेलेको तेस्रो दिनको खेलमा ललितनारायण राजवंशीले विराटनगरविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै ‘प्लेअर अफ दी म्याच’ बने । उक्त खेलमा उनले ४ ओभरमा ८ रन खर्चिएर पाँच विकेट लिएका थिए । त्यसअघि पनि नेपाली बलरको प्रदर्शन राम्रै थियो । तर, ब्याटरहरू भने चल्न सकेका थिएनन् । केही बाहेक प्राय खेलमा विदेशी खेलाडीको ब्याटिङमा मात्रै सबै टीम भर परेको देखिन्थ्यो । नेपाली खेलाडीको कुरा गर्दा प्रतियोगिताभरि नै रोहित पौडेलबाहेक अन्य खेलाडीको ब्याटिङ निराशजनक रह्यो । रोहित धेरै रन बनाउने खेलाडीको चौथो स्थानमा छन् । उनले १३ खेल खेल्दै कुल ३४८ रन बनाएका छन् । विराटनगरलाई फाइनलसम्म पुर्‍याउन मजुबत ब्याटिङ गरेका रोहितले प्रतियोगिताभरि ४ अर्धसतक प्रहार गरे । भने, एक खेलमा अविजित ७१ रन बनाएका थिए । त्योबाहेक, जनकपुरका सन्दीप जोरा र फार वेस्टर्न युनाइटेडका विनोद भण्डारीले केही राम्रो प्रदर्शन गरेका थिए ।

नेपाली क्रिकेटमा सबैभन्दा धेरै आशा गरिएका दीपेन्द्रसिंह ऐरीले एक खेलमा अर्धशतक बनाएका थिए । त्योबाहेक अन्य खेलमा उनको ब्याटिङ भन्दा धेरै बलिङ नै चलेको थियो । बलिङको पाटोमा सधैँ बलियो नेपाली टीममा ब्याटिङ कत्तिको काहालीलाग्दो छ यसै प्रतियोगितामा नेपाली खेलाडीको प्रदर्शन हेरेरै पत्ता लगाउन सकिन्छ । प्रतियागिताको सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट ब्याटरको अवार्ड पनि विदेशी खेलाडीले नै हात पारेका थिए । धेरै रन बनाउने खेलाडीमा विदेशीकै वर्चस्व रहेको छ । यो सँगै सुधारिएको नेपालको ब्याटिङ ‘लाइनअप’ को अपेक्षा कहिले गर्ने ? भनेर समर्थकको टिप्पणी सुनिएको छ ।

फाइनलमा पराजित भएपछि विराटनगर तथा नेपाली राष्ट्रिय टीमका कप्तान रोहित पौडेलले पनि त्रिवि क्रिकेट मैदानमा लाग्ने गरेको दर्शकको घुइँचो नेपाली राम्रो पर्दशन गर्न नसकेरै हो भन्नेबारे प्रस्ट पारे । र, ब्याटिङ युनिटका हरेक खेलाडीले कडा मेहेनत गर्नुपर्ने बताए ।

‘हामीले राम्रो खेल्न सकेका छैनौं त्यसैले दर्शकहरू कम आउनु भएको हो । सबै दर्शकलाई पुन: फिर्ता ल्याउन हामीले अझै कडा मेहेनत गर्नुपर्छ । अझ नेपालको ब्याटिङ युनिटले सबैले धेरै मेहनत गरेर फेरी राम्रो प्रदर्शन गर्‍यौं भने दर्शकहरूले पुनः मैदानमा आएर हामीलाई सपोर्ट गर्नु हुनेछ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर