वागमतीको सभामुखमा राप्रपाका पाठक र कांग्रेसका अधिकारी भिड्ने – Nepal Press

वागमतीको सभामुखमा राप्रपाका पाठक र कांग्रेसका अधिकारी भिड्ने

हेटौंडा । वागमती प्रदेशको सभामुखका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भुवन पाठक र नेपाली कांग्रेसबाट शिवराज अधिकारीको चुनावी भिडन्त हुने भएको छ ।

पुस २९ गते हुने निर्वाचनको लागि सत्ता गठवन्धनको तर्फबाट प्रदेशसभा सदस्य एवं राप्रपाका केन्द्रीय महामन्त्री भुवन पाठकले उम्मेदवारी दिने भएका छन् भने नेपाली कांग्रेसको तर्फबाट धादिङका शिवराज अधिकारी उम्मेदवार बन्ने भएका छन् । दिउँसो ११ बजेबाट मनोनयन प्रक्रिया सुरू हुँदैछ ।

सातदलीय गठबन्धनको शीर्ष तहमा वागमतीको सभामुख राप्रपालाई छाडिएको छ । राप्रपाले महामन्त्री पाठकलाई उम्मेदवार बनाउने निर्णय गरेको वागमती प्रदेश संसदीय दलका नेता तथा मन्त्री उद्धव थापाले बताए ।

नेपाली कांग्रेसले पनि आज बिहानमात्र समानुपातिक सांसद अधिकारीलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामाले बताए । कांग्रेसले हिजोसम्म सभामुखमा सत्तारुढ दलले आफूहरूलाई समर्थन गरेको अवस्थामा माघ ३ गते विश्वासको मत दिने बताएको थियो ।

पाठकलाई एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपाको १३, नेकपा एकिकृत समाजवादीको ७ तथा हाम्रो नेपाली पार्टीको २ गरी ७० जना सांसदहरुको साथ रहेको छ भने अधिकारीलाई ३७ जना सभासदको साथ छ ।

नेपाल मजदुर किसान पार्टीले कसलाई सहयोग गर्ने या आफ्नो उम्मेदवार बनाउने भन्नेबारे अहिलेसम्म निर्णय गरेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर