सातवटै प्रदेशले पाए मुख्यमन्त्री : कहाँ आलोपालो, कहाँ एकलौटी ? – Nepal Press

सातवटै प्रदेशले पाए मुख्यमन्त्री : कहाँ आलोपालो, कहाँ एकलौटी ?

काठमाडौं । मुलुकका सातै प्रदेशले नयाँ मुख्यमन्त्री पाएको छ । आज चार प्रदेशमा एकै साथ मुख्यमन्त्री नियुक्त भएसँगै सातै प्रदेशले नयाँ मुख्यमन्त्री पाएको हो ।

आज सुदूरपश्चिममा एमालेका राजेन्द्र रावल, कर्णालीमा माओवादीका राजकुमार शर्मा, लुम्बिनीमा एमालेका लीला गिरी र मधेसमा सरोज यादव मुख्यमन्त्रीमा नियुक्त भए ।

यसअघि प्रदेश १ मा एमालेका हिक्मतकुमार कार्की, बागमतीमा माओवादी केन्द्रका शालिकराम जमकट्टेल र गण्डकी मा एमालेका खगराज अधिकारी मुख्यमन्त्री बनिसकेका छन् ।

मधेस प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशमा केन्द्रबाटै आलोपालो मुख्यमन्त्री बन्ने सहमति अनुसार साढे दुई वर्षको लागि मुख्यमन्त्री नियुक्त भएका हुन् ।

केन्द्रबाट प्रदेश १, गण्डकी, लुम्बिनी र कर्णालीमा पाँच वर्ष सम्म सरकार चलाउने सहमति भएको थियो । कर्णाली प्रदेशमा भने प्रदेश संसदीय दलले आलोपालोमा सहमति गरेका छन् । ती बाहेक अन्य तीन प्रदेशमा पाँच वर्षका लागि मुख्यमन्त्री नियुक्त भएका हुन् ।

९३ सिट रहेको प्रदेश १ मा बहुमतको सरकार बनाउन ४७ सांसद आवश्यक पर्छ । यस अघि नै कार्की ६० सांसदको समर्थनमा मुख्यमन्त्री भएका हुन् । माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आधा आधा कार्यकालको लागि दबाब दिए पनि यस बिषयमा भने सहमति भएको छैन।

मुख्यमन्त्रीले कार्कीले सोमबार नै चार सदस्यीय मन्त्रिपरिषद् गठन समेत गठन गरिसकेका थिए । एमालेका तिलकुमार मेन्याङ्बो, राप्रपाका भक्ति सिटौला र जसपाका निर्मला लिम्बु मन्त्री नियुक्त भएका छन्। उनीहरूलाई मन्त्रालयको जिम्मेवारी पछि दिइने भएको छ ।

मधेस प्रदेशमा आज मुख्यमन्त्रीमा नियुक्त भएका जसपाका सरोज यादवले साढे दुई वर्षमा सत्ता हस्तान्तरण गर्नुपर्ने छ । जसपाकाका यादवले सत्ता हस्तान्तरण गरेपछि आधा समय सिके रावतको जनमत पार्टीले मधेस प्रदेशको सरकार चलाउने छ ।

बागमती प्रदेशमा माओवादी र एमालेले सरकारको नेतृत्व आलोपालो गर्ने सहमति छ । त्यसअनुसार सुरुमा मुख्यमन्त्री भएका शालिकराम जमकट्टेलले आधा कार्यकाल नेतृत्व गर्नेछन् । त्यसपछि उनले सत्ता एमालेलाई हस्तान्तरण गर्नु पर्ने छ ।
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका खगराज अधिकारी पाँच वर्ष सम्म सत्ताको नेतृत्व गर्ने छन् । उनलाई नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र गरी ३३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लीला गिरी नियुक्त भएका छन् । लुम्बिनीमा माओवादीले समेत मुख्यमन्त्री दाबी गरेको थियो । संघले पाँचै वर्ष एमालेले सरकार चलाउने सहमति गरेको छ । अहिले सम्म प्रदेशमा माओवादीले आलोपालोको माग गरे पनि त्यसमा सहमति भने भएको छैन।

केन्द्रबाट कर्णालीमा पाँच वर्ष सम्म माओवादीले सरकारको नेतृत्व गर्ने सहमति भएपनि प्रदेशमा भने आलोपालोको सहमति भएको छ । प्रदेशको त्यही सहमतिअनुसार माओवादी केन्द्र संसदीय दलका नेता राजकुमार शर्मा मुख्यमन्त्री बनेका छन् ।
माओवादी केन्द्रका शर्माले अढाई वर्षपछि एमालेका यमलाल कँडेललाई नेतृत्व छाड्नु पर्ने भएको छ ।

एमाले–माओवादीले आलोपालो सरकार बनाउने सहमति अनुसार सुदूरपश्चिमको मुख्यमन्त्री भएका राजेन्द्र रावलले अढाई बर्ष पनि माओवादीका संसदीय दलका नेता खगराज भट्टलाई सत्ता सुम्पिनु पर्ने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर