यस्तो बन्दैछ लुम्बिनीमा मन्त्रिमण्डल, कसलाई कुन मन्त्रालय ? – Nepal Press

यस्तो बन्दैछ लुम्बिनीमा मन्त्रिमण्डल, कसलाई कुन मन्त्रालय ?

रुपन्देही । लुम्बिनीका मुख्यमन्त्री लीला गिरीले बिहीबार आफूले शपथ ग्रहण गरेसँगै सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका छन् ।

प्रदेश राजधानी देउखुरीमा उनको शपथपछि सानो आकारको मन्त्रीमण्डल बनाउने सत्तारुढ एमालेमाओवादीले गठबन्धन दलमा छलफल गरेका हुन् ।

मन्त्रिपरिषदका नयाँ सदस्यहरुले मुख्यमन्त्रीको शपथ ग्रहणलगत्तै शपथग्रहण गर्ने तयारी छ । पहिलो चरणमा मुख्यमन्त्री गिरीले नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य जोखबहादुर महरासहित एमालेका केन्द्रीय सदस्यहरु भुमिश्वर ढकाल वा चेतनारायण आचार्यमध्येबाट एक जनालाई मन्त्री बनाउने तयारी छ ।

तर माओवादीबाट मन्त्रालय दाबी नटुंगिएकाले एमालेले दुई जना पठाउन तयार भएपनि टुंगो लागेन । साना दलहरुबा पनि नाम दिएमा भोली बढीमा पाँच जनासम्मको मन्त्रीमण्डल बन्नसक्नेछ । मुख्यमन्त्री गिरीले विश्वासको मत नलिँदासम्म सानो आकारको मन्त्रीमण्डल बनाउन खोजेका छन् ।

नेकपा माओवादी केन्द्रका तर्फबाट मुख्यमन्त्रीका दावेदार रहेका महरालाई आन्तरिक मामिला तथा कानूनमन्त्री बनाउने एमालेको तयारी छ । तर माओवादीले अर्थ पनि मागेकाले अझै टुंगो लागेको छैन । एमालेका भुमिश्वर ढकाललाई भौतिक पूर्वाधार तथा चेतनारायण आचार्यले ग्रामीण तथा सहरी विकासमन्त्री बनाउने गरी छलफल भएको छ ।

तर माओवादी केन्द्रले अर्थमन्त्रीमा दावी गरिरहेका कारण अन्तिम टुंगो नलागेको पार्टीहरुको संयुक्त बैठकमा सहभागी एक सदस्यले बताए । मन्त्रालय बाँडफाँडको सहमति नमिलेकाले भोलि हुने मन्त्री पनि बिनाविभागी नै रहने संभावना बढी रहेको एमाले दलका उपनेता चेतनारायण आचार्यले बताए । मुख्यमन्त्री गिरी कुनैपनि हालतमा ११ भन्दा बढी मन्त्री बनाउन तयार छैनन् ।

एमालेको प्रस्तावमा एमालेलाई४ माओवादीलाई २ र साना दललाई एकएक गरी ११ सदस्यीय मन्त्रीमण्डल बनाउने तयारी छ । माओवादीले ४ मन्त्रालय दावी गरेको छ । मन्त्री बनाउने विषयमा माओवादीभित्र धेरै जना आकांक्षी भएकाले प्रत्यक्षमा जितेकालाई प्राथमिकताको आधार बनाइएको छ । माओवादीमा प्रत्यक्षमा ६ र समानुपातिकमा ४ गरी १० सांसद छन् ।

लोसपाको सत्तामोह

केन्द्रमा सरकार बाहिर रहेको लोसपाले पनि लुम्बिनीमा एमाले नेतृत्वको सरकारलाई समर्थन गरेको छ । सो दलका दल नेता सन्तोषकुमार पाण्डेले राजनीतिक स्थायित्वका लागि सरकारलाई समर्थन गरेर हस्ताक्षर गरेको बताए । ‘हामी स्थायित्वका लागि सहयोग गरेका हौं, कुरा मिले सरकारमा पनि सहभागी हुन्छौं, सबै मिलेर प्रदेशको विकास गर्ने हो’, उनले भने ।

उनी यसअघि पनि एमाले नेतृत्वको सरकार संकट पर्दा पार्टीमा विद्रोह गरेर मन्त्री बनेका थिए । यसपटक पनि उनले मन्त्री चाहेका छन् तर एमाले नेताहरु नै अहिलेको चुनावमा उनले एमालेविरुद्ध गरेको अर्नगल प्रचारका कारण सकेसम्म मन्त्री नबनाउने योजनामा छन् ।

आलोपालोमा आफ्ना-आफ्नै दाबी

नवनियुक्त मुख्यमन्त्री लीला गिरीले आधा कार्यकाल माओवादीलाई दिने विषयमा पार्टीबाट कुनै जानकारी नभएको जनाएका छन् । मुख्यमन्त्री नियुक्त भएलगत्तै पत्रकारहरुसँग कुरा गर्दै गिरीले समृद्ध प्रदेश खुसी जनताको नारालाई पुनः कार्यान्वयनमा ल्याउने बताएका छन् । उनले नागरिकको जीवनस्तरलाई राजनीतिक परिवर्तनबाट सम्बोधन हुनुपर्ने बताउँदै त्यसैतर्फ सरकारको ध्यान केन्द्रीत हुने बताए ।

पत्रकारहरुको प्रश्नमा आधा कार्यकालको सम्बन्धमा आफ्नो पार्टीबाट कुनै जानकारी नआएको उनले बताए । उनले पार्टीहरुको केन्द्रको निर्णयलाई मानेर जाने धारणा राखे । उनले मन्त्रीपण्डलको आकार सकेसम्म सानो बनाउने पनि बताए । तर माओवादी संसदीय दलका नेता जोखबहादुर महराले आफ्नो दलका अध्यक्ष पुष्पकमल दाहालले आश्वासन दिएको बताए । गठबन्धन दलको सहमतिमै प्रदेशको विकास गर्ने उनले बताए । तर कर्णालीमा आलोपालो सहमति भएकाले लुम्बिनीमा पनि हुनसक्ने आंकलन गरिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर