उपाधि जित्न लुम्बिनीले विराटनगरलाई दियो १३४ रनको लक्ष्य – Nepal Press

उपाधि जित्न लुम्बिनीले विराटनगरलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । नेपाल टी–२० लिगको उपाधि जित्न लुम्बिनी अलस्टार्सले विराटनगर सुपर किङ्सलाई १ सय ३४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको लुम्बिनी विकेट गुमाउँदै चार बल बाँकी रहँदा अलआउट हुँदै १ सय ३३ रनको योगफल तयार पारेको छ ।

लुम्बिनीका लाहिरु मिलान्थाले सर्वाधिक ४१ रनको योगदान गरे । उनले २८ बलमा समान तीन चौका र तीन छक्का प्रहार गरे । मिलान्थाले रोहित पौडेलको बलमा क्याचआउट हुनु अघि पहिलो विकेटका लागि हर्मीतसिंहसँग ६४ रनको साझेदारी गरेका थिए । हर्मीतसिंह १८ बलमा ३ चौका र २ छक्काको मद्दतमा ३० रन बनाएर क्याचआउट भए ।

कप्तान दीपेन्द्रसिंह ऐरी २० रनमा आउट हुँदा लुम्बिनीका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

विराटनगरका नन्दन यादव र राज नननले समान दुई विकेट लिँदा सूर्य तामाङले ४ ओभरमा ८ रन खर्चिएर एक विकेट लिए । कियोन जोसेफ र कप्तान रोहित पौडेलले समान एक विकेट लिए ।

समूह चरणमा १० मध्यका ८ खेल जितेर १६ अंकसहित शीर्ष स्थानमा रहँदै लुम्बिनी प्लेअफ पुगेको थियो । प्लेअफमा जनकपुर रोयल्सलाई हराउँदै लुम्बिनीले फाइनल यात्रा तय गरेको थियो ।

समूह चरणमा समान ५ जित र हारको नतिजा निकालेको विराटनगर १० अंकसहित तेस्रो स्थानमा रहेर इलिमिनेटर पुगेको थियो । इलिमिनेटरमा काठमाडौं नाइट्सलाई हराउँदै विराटनगरले दोस्रो क्लालिफायरमा स्थान पक्का गर्‍यो । उक्त खेलमा जनकपुरलाई हराउँदै फाइनलमा लुम्बिनीसँगको भेट पक्का गरेको थियो ।

नेपाल क्रिकेट संघ(क्यान) र सेभेन थ्री स्पोर्टसको आयोजनामा जारी प्रतियोगिताको विजेताले ५५ लाख, उपविजेताले ३० लाख, तेस्रो स्थानको टिमले १० लाख र चौथो हुने टिमले ५ लाख प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५ लाख, उत्कृष्ट ब्याटर र बलरले समान २ लाख ५० हजार र उदयमान खेलाडीले १ लाख ८० हजार पाउनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर