रिडी हाइड्रोका गुरु न्यौपानेलाई सूचीकृत संस्थामा १० वर्ष सञ्चालक बन्न प्रतिबन्ध, ज्ञानेन्द्रलालले भने बोर्डमा बुझाए स्पष्टीकरण – Nepal Press

रिडी हाइड्रोका गुरु न्यौपानेलाई सूचीकृत संस्थामा १० वर्ष सञ्चालक बन्न प्रतिबन्ध, ज्ञानेन्द्रलालले भने बोर्डमा बुझाए स्पष्टीकरण

काठमाडौं । नेपाल धितोपत्र बोर्डले रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेलाई कुनै पनि सूचीकृत संस्थामा १० वर्षसम्म सञ्चालक बन्न नपाउने गरी कारबाही गरेको छ ।

बोर्डले गैरकानूनी सेयर कारोबार गरेका न्यौपानेलाई कारबाही गर्नु नपर्ने कारण सहित स्पष्टीकरण सोधेको थियो । तर चित्त बुझ्दो जवाफ नआएकाले कारबाही गरेको बोर्डका अध्यक्ष रमेश हमालले बताए ।

मंसिर २५ गते बसेको बोर्ड सञ्चालक समितिको बैठकले दुबैलाई कारबाही गर्न निर्णयसहित सिफारिस गरेको थियो । न्यौपानेले सञ्चालक समितिमा भएको समयमा एकाघरका परिवारका सदस्यको नाममा भएको सेयर बिक्री गरेको बोर्डको अनुसन्धानले पुष्टि गरेको थियो ।

बोर्डले धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा १०१ अनुसार ७५ हजार रुपैयाँ नगद जरिवाना गरेको छ । सोही ऐनमा भएको व्यवस्था अनुसार अब न्यौपाने कारबाहीको १० वर्षको अवधि पुरा नभएसम्म कुनै पनि सूचिकृत कम्पनी वा संस्थाको सञ्चालक, महाप्रबन्धक वा सो सरहको पदमा बहाल हुन पाउने छैनन् ।

न्यौपानेको छोरा बुहारीको केसमा पनि अध्ययन भइरहेको हमालले जनाए ।

यता नेपाल हाइड्रो डेभलपरका तत्कालीन अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले भने देश बाहिर रहेकाले बोर्डको स्पष्टीकरणको चिठी बुझ्न ढिला गरेको हमालले जनाएका छन् ।

यद्यपि मङ्गलवार (हिजो) साँझ प्रधानले पनि बोर्डमा स्पष्टीकरणको पत्र बुझाएका छन् । उनलाई पनि पत्र अध्ययन गरेर आवश्यक कारबाही गरिने हमालले जनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *