ग्वालादेखि मुख्यमन्त्रीसम्म : यस्तो छ लुम्बिनीका लीला गिरीको राजनीतिक यात्रा – Nepal Press

ग्वालादेखि मुख्यमन्त्रीसम्म : यस्तो छ लुम्बिनीका लीला गिरीको राजनीतिक यात्रा

रुपन्देही । २०७४ सालको निर्वाचनमा रुपन्देही २ (१) बाट प्रदेशसभामा निर्वाचित भएपछि एमाले नेता लीला गिरी पहिलो चरणमै मन्त्री बन्ने निश्चित भयो । सानै उमेरदेखि राजनीतिमा जोडिएका उनले त्यो वेलासम्म राजनीतिसँगै आफ्नो कृषि पेशालाई निरन्तरता दिएका थिए ।

अन्य समयमा राजनीतिका विभिन्न जिम्मेवारीमा दौडे पनि बिहान-साँझ गाई दुहुने समयमा उनी टुप्लुप्क घरमा पुग्थे । दिनहुँ गाई दुहुने, डेरीमा लैजाने र त्यसैबाट परिवारको खर्च चलाउने गिरी मन्त्री बनेपछि पनि यसलाई निरन्तरता दिन चाहन्थे । उनी घरबाटै मन्त्रालय जान चाहन्थे । तर, सुरक्षाका विविध कारणले मन्त्री क्वाटरमा जानुपरेको बाध्यता उनी सुनाउँछन् ।

कृषि, पशुपालनसँगै राजनीतिमा होमिएका गिरी अघिल्लो कार्यकालमा करिब ३ वर्ष उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनेका थिए । उनै गिरी अहिले प्रदेशको मुख्यमन्त्री बनेका छन् ।

गुल्मीको रुरु गाउँपालिका- ५, बम्घा सौरिवोटमा २०११ चैत १४ मा जन्मिएका गिरी २०३४ सालमा रुपन्देहीको तिलोत्तमा नगरपालिका- १ शंकरनगरमा बसाइ सरेका हुन् । उनी स्व.मुक्तिनाथ गिरी र केशवकुमारी गिरीका जेठा छोरा हुन् । गिरीका धर्मपत्नी इन्दिरा गिरी, एक छोरा र दुई छोरी छन् । उनका तीन दाजुभाइ र दुई बहिनी छन् ।

बाल्यकालदेखि नै राजनीतिमा जागरण

वि.सं.२०२२ सालमा गुल्मी जिल्लामा तत्कालीन विभेदयुक्त सामाजिक व्यवस्थाविरुद्धको आन्दोलनबाट प्रभावित भई कम्युनिष्ट आन्दोलनमा लागेका गिरी १२ वर्षको उमेरदेखि नै राजनीतिक जागरण आएको बताउँछन् । माध्यमिक शिक्षा आर्जन गर्ने वेलादेखि त्यहाँका प्रधानाध्यापक सिद्धिनाथ ज्ञवालीको नेतृत्वमा तत्कालीन पञ्चायतविरुद्धको आन्दोलनमा गिरी बाल्यकालमै सरिक भएका थिए । तत्कालीन समाजको थिचोमिचो, अन्याय र विभेदको अन्त्य हुनुपर्छ र समतामूलक समाज निर्माण हुनुपर्छ भन्ने चेतना र भावना उनमा बाल्यकालदेखि नै जागेको थियो ।

गुल्मीबाट रुपन्देहीमा बसाइ सरेपछि वामपन्थी नेताहरुसँग उनको सम्बन्ध जोडियो । २०३६ सालको विद्यार्थी आन्दोलन, २०३७ सालको मजदुर आन्दोलनमा उनी सहभागी भए । २०३९ सालमा क्रान्तिकारी बुद्धिजीवी संघमा आबद्ध हुँदै राजनीतिक कमिटीका औपचारिक नेतृत्वमा सामेल भए । बीएसम्मको अध्ययन गरेका उनले केही समय गुल्मी र रुपन्देहीमा शिक्षक भएर पनि काम गरेका थिए ।

नेपाल राष्ट्रिय शिक्षक संगठन रुपन्देहीको आन्दोलनमा सहभागी हुँदै २०३८ सालमा अखिल नेपाल किसान संगठनको इलाका अध्यक्ष भए । त्यसपछि उनले भूमिगत कम्युनिष्ट पार्टी नेकपा मालेमा सक्रिय सदस्य भएर काम गरेका थिए । २०४५/४६ सालको पञ्चायतविरोधी आन्दोलनताका उनी नेकपा मालेको जिल्ला कमिटी सदस्यको हैसियतले जिल्लामा वाममोर्चाको सदस्य भएर नेतृत्व गरेका थिए ।

विसं २०४७ सालमा पार्टी एकीकरण भएपछि नेकपा एमालेको जिल्ला कमिटी सदस्य भएका गिरी जिल्ला पार्टीको उपसचिव, सचिव र अध्यक्ष तथा अञ्चल कमिटी हुँदै नवौं राष्ट्रिय महाधिवेशनदेखि पार्टीको केन्द्रीय सदस्य र रुपन्देही जिल्ला कमिटीको इन्चार्ज, नेकपा लुम्बिनी प्रदेश कमिटी अध्यक्ष, केन्द्रीय सदस्य बनेका थिए ।

चितवनमा सम्पन्न पार्टीको दशौं महाधिवेशनबाट नेता गिरी पोलिटव्युरो सदस्य र लुम्बिनी प्रदेश कमिटीको सहइन्चार्जको जिम्मेवारीमा छन् ।

राजनीतिक आन्दोलनको नेतृत्व

विसं २०४६ सालको पञ्चायतविरोधी आन्दोलनमा संयुक्त वाममोर्चाको जिल्ला सदस्यको रुपमा रहेका उनी २०६१ सालमा रुपन्देही पार्टी जिल्ला प्रमुखको रुपमा शाही ‘कु’को विरुद्वको आन्दोलनमा नेतृत्वदायी भूमिकामा रहे । शाही ‘कु’ का विरुद्धको आन्दोलनमा लागेको भन्दै उनले तीन महिना जेल सजाय भोगे । २०६२/६३ सालको ऐतिहासिक जनआन्दोलनमा उनले रुपन्देहीमा रहेर कमाण्ड सम्हाले । २०३५/३६ सालमा नेपाल राष्ट्रिय शिक्षक संगठनको आन्दोलनमा सक्रिय सहभागी हुँदा उनलाई तत्कालीन प्रशासनले वारेन्टको सूचीमा राखेको थियो ।

नयाँ व्यवस्था बहालीका लागि भूमिगत रहेर विभिन्न समयका आन्दोलनमा पनि उनी सक्रिय रहे । अविच्छिन्न पार्टी राजनीतिमा सक्रिय हुँदै प्रतिकूल अवस्थामा पनि कुशलतापूर्वक कार्यभार सम्हाल्न सक्ने सामर्थ्य र क्षमता उनले पटक-पटक प्रदर्शन गरेका छन् । सोही विशेषताका कारण उनी अहिले मुख्यमन्त्रीको कुर्सीसम्म पुग्न सफल भएको उनका समर्थकहरु बताउँछन् ।

लीला गिरीको राजनीतिक यात्रा

  • २०३१ सालदेखि कम्युनिष्ट आन्दोलनमा सहभागी
  • २०३६ सालको विद्यार्थी आन्दोलनमा सहभागी
  • २०३७ सालको मजदुर आन्दोलनमा सहभागी
  • २०३७ सालमा शिक्षक आन्दोलनमा सहभागी
  • २०३८ सालमा अखिल नेपाल किसान संगठनको अध्यक्ष
  • २०३९ सालमा क्रान्तिकारी बुद्धिजीवी संघमा आवद्ध
  • २०४६ सालमा नेकपा मालेको सक्रिय सदस्य (भूमिगत)
  • २०४७ सालमा नेकपा एमालेको जिल्ला कमिटी सदस्य
  • २०४९ मा गाविस अध्यक्ष
  • २०५६ सालमा नेकपा एमाले रुपन्देहीको उपसचिव
  • २०५८ सालमा एमाले जिल्ला कमिटीको कार्यवाहक सचिव
  • २०६१-२०६६ र २०६६-२०६९ सम्म एमाले जिल्ला सचिव र अध्यक्ष
  • २०६१ मा शाही ‘कु’ विरुद्धको आन्दोलनको नेतृत्व र जेल यातना
  • २०६२/६३ मा जनआन्दोलनको जिल्ला कमाण्डर
  • २०६९ सालमा एमालेको लुम्बिनी अञ्चल संगठन विभाग प्रमुख
  • २०७१ सालमा नेकपा एमालेको नवौं महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य
  • २०७४ मा प्रदेशसभा सदस्य
  • २०७४ चैत ५ देखि २०७८ बैशाख ६ गतेसम्म प्रदेश मन्त्री
  • २०७७ मा नेकपा केन्द्रीय सदस्य र लुम्बिनी प्रदेश कमिटी अध्यक्ष
  • २०७८ मंसिरमा एमाले दसौं महाधिवेशनदेखि पोलिटव्युरो सदस्य
  • २०७९ मा प्रदेशसभा सदस्यमा निर्वाचित
  • २०७९ पुसमा एमाले लुम्बिनी प्रदेश संसदीय दलको नेता
  • २०७९ पुस २६ मा प्रदेशको मुख्यमन्त्री
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर