विराटनगर नेपाल टी-२० लिगको फाइनलमा – Nepal Press

विराटनगर नेपाल टी-२० लिगको फाइनलमा

काठमाडौं । दोस्रो क्वालिफायरमा जनकपुर रोयल्सलाई ३९ रनले पराजित गर्दै विराटनगर सुपर किङ्स जारी नेपाल टी-२० लिगको फाइनल प्रवेश गरेको छ । विराटनगरले उपाधिका लागि बुधबार लुम्बिनी अलस्टार्ससँग खेल्नेछ ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको विराटनगरले जनकपुरलाई १६८ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याउने क्रममा जनकपुर ४ बल बाँकी रहँदा अलआउट हुँदै १२८ रनमा सीमित भयो ।

जनकपुरका चादविक वालटनले ४७ बलमा ६ चौका प्रहार गर्दै सर्वाधिक ५१ रनको अर्धशतकीय इनिङ खेले । कप्तान ट्रेभोन ग्रिफित ३४ रनमा आउट हुँदा खडक बोहराले १४ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

विराटनगरका तीब्र गतिका बलर कियोन जोसेफले ४ ओभरमा १ मेडन राख्दै २७ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए । नन्दन यादव र राज नननले समान दुईदुई विकेट लिँदा सूर्य तामाङले एक विकेट लिए ।

यसअधि विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रनको योगफल तयार पारेको थियो ।

ओपनर गौरान्सु शर्माले ४१ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ४२ रनको योगदान गरे । अर्जुन साउद २६ बलमा दुई चौका र दुई छक्का प्रहार गर्दै ३५ रनमा आउट भए ।

हुसेन टलत २१ बलमा ५ चौकासहित ३२ रनमा पभेलियन फर्कंदा राज ननन १८ बलमा ३ चौका र २ छक्कासहित ३३ रनमा आउट भए । त्योबाहेक विराटनगरका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

जनकपुरको बलिङमा जितेन्द्र मुखियाले ४ ओभरमा ३८ रन खर्चिएर दुई विकेट लिए । शर्राफुदिन असरर्फ, ललित राजवंशी र सामिउल्लाह सिनवारीले समान एकएक विकेट लिए ।

यसअघि, पहिलो क्वालिफायर खेलेको जनकपुर लुम्बिनी अलस्टार्ससँग पराजित हुँदै दोस्रो क्वालिफायर्स खेल्ने भएको थियो । विराटनगरले मंगलबार काठमाडौं नाइट्सलाई इलिमिनेटरमा पराजित गर्दै दोस्रो क्वालिफायरमा जनकपुरसँगको भेट पक्का गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर