प्रधानमन्त्री प्रचण्डले यसरी पाउन सक्छन् २७२ मत – Nepal Press

प्रधानमन्त्री प्रचण्डले यसरी पाउन सक्छन् २७२ मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् । एमालेसहित ७ दलको १६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले २७२ सांसदको मत पाउने देखिएको छ ।

प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त हुँदा समर्थन नगरेका नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादीले पनि विश्वासको मत दिने निर्णय गरिसकेका छन् ।

२७५ सदस्यीय प्रतिनिधिसभामा मनाङबाट निर्वाचित कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बनमा छन् । १२ दल र स्वतन्त्रसहित बाँकी २७४ मा राष्ट्रिय जनमोर्चा र नेमकिपा मात्रै विपक्षमा उभिएका छन् ।

संसदमा प्रचण्डको पक्षमा नेपाली कांग्रेसको ८८, नेकपा एमालेको ७९, माओवादी केन्द्रको ३२, रास्वपाको २०, राप्रपाको १४, जसपाको १२, नेकपा एसको १०, जनमत पार्टीको ६, नागरिक उन्मुक्तिको ४, लोसपाको ४, आम जनता पार्टीको १ र स्वतन्त्र २ सांसद रहेका छन् । कांग्रेसका सांसद टेकबहादुर गुरुङ निलम्बित भएकाले मतदान गर्ने पाउँदैनन् । प्रतिनिधिसभामा कांग्रेसका ८८ सांसद छन् ।

कांग्रेसले प्रधानमन्त्री नदिएपछि प्रचण्डले पाँचदलीय गठबन्धन फुटाएर एमाले नेतृत्वको कित्तामा उभिएका थिए । तर, अहिले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने पक्षमा कांग्रेस स्वम् उभिएको छ ।

कांग्रेसभित्र केही विवाद भएपछि सभापति शेरबहादुर देउवासहित अधिकांश नेताहरूले प्रचण्डको पक्षमा उभिएका थिए । तर, कांग्रेसका केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बहुमतले विश्वासको मत दिने निर्णय गरेपछि महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, अर्जुनसिंह केसी र प्रकाशमानसिंह ले फरक मत राखेका थिए ।

तर, पार्टीमा दलको नेताले ह्यीप जारी गरेपछि उनीहरु पनि बाध्य भएका हुन् । सबै राजनीतिक दलहरुले सरकारलाई विश्वासको मत दिएपछि कतिपयले प्रतिपक्ष बिहिन भएको टिप्पणी गरेका छन् भने केही नेताहरुले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्नेमा जोड दिएका छन् ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टाईले भने यसअघि नै राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्नेमा आवाज उठाउँदै आइरहेका थिए । प्रतिनिधि सभाका सबै दल विश्वासको मत दिने पक्षमा उभिएपछि सरकारलाई विश्वासको मत नदिने पार्टी नै प्रमुख प्रतिपक्षी हुने संविधानविद् भीमार्जुन आचार्य बताउँछन् ।

आचार्यले नेपाल प्रेससँग भने, ‘जसले विश्वासको मत दिँदैन त्यही प्रमुख प्रतिपक्षी दल हो । संविधानले बलियो प्रतिपक्षीको कल्पना गरेको छ । सबैले सरकारलाई समर्थनको कल्पना गरेको छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर