व्यवसायीदेखि प्रधानमन्त्री-गभर्नरसम्म एकै मञ्चमा, अर्थतन्त्रको सुधारमा सबैको जोड – Nepal Press

व्यवसायीदेखि प्रधानमन्त्री-गभर्नरसम्म एकै मञ्चमा, अर्थतन्त्रको सुधारमा सबैको जोड

काठमाडौ । सोमबार प्रधानमन्त्री, मुख्य सचिव, सचिव र गभर्नरदेखि व्यवसायीसम्मले एउटै मञ्च सेयर गरे । ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबारको उद्घाटन कार्यक्रमले यो अवसर जुराएको थियो ।

कार्यक्रमका विशेष अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्र सुधारमा जोड दिए ।

यसअघि नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालयको समन्वय रोकिँदा अर्थतन्त्रमा समस्या परेको प्रधानमन्त्रीको अभिव्यक्तिबाट प्रष्टिन्थ्यो ।

‘राष्ट्र बैंकका गभर्नर र म आफैँ बसेर निजी क्षेत्रको माग सम्बोधन गर्न सहजीकरण गरेको छु । अर्थतन्त्रमा तत्काल विद्यमान समस्या समाधान गर्न अर्थमन्त्रालय र राष्ट्र बैंकको समन्वयात्मक भूमिका सुरू भइसकेको छ ।’

वर्तमान सरकार गठन भएसँगै सुधारिएको सेयर बजारको उदाहरण दिँदै प्रचण्डले अर्थतन्त्रको संकट समाधानमा सरकार अघि बढेको सुनाए ।

उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पछिल्लो समय अर्थतन्त्रमा झिनो सुधार आएको साथै व्यापार-व्यवसाय पनि केही सुधारिएको अनुभव सुनाए ।

अर्थतन्त्र सुधार्ने आम विश्वासले वर्तमान सरकार थिचिएको छ । प्रधानमन्त्री अहिले गभर्नर र अर्थमन्त्रीसँग निरन्तर संवादमा छन् । मन्त्रिपरिषद्को पहिलो निर्णय नै अर्थतन्त्र सुधारतर्फ लक्षित भएको दाहालको भनाइ थियो ।

प्रधानमन्त्री दाहालले सरकारको न्यूनतम साझा कार्याक्रम पनि दिगो अर्थतन्त्र र सबलीकरणमा केन्द्रित हुने बताएका छन् । प्रभावकारी सेवा प्रवाह, नीति ऐन र संरचना फेर्ने विषयले सरकारको न्यूनतम साझा कार्यक्रममा प्रवेश पाएको छ । वित्तीय, मौद्रिक, पूँजी बजार, बीमा, सहकारीलगायतमा समन्वय गरी सुधार गर्न अर्थमन्त्री र गर्भनरसँग निरन्तर संवाद भइरहेको दाहाल आफैँले बताए ।

प्रधानमन्त्री प्रचण्डकै निर्देशनमा राष्ट्र बैंकले चालूपूँजी कर्जा संशोधन गरिसकेको छ । आयल निगमले पनि हिजो पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । यसअघि माओवादीकै जनार्दन शर्मा अर्थमन्त्री छँदा ट्रयाकबाहिर गएको देशको अर्थतन्त्रमा सरकारको पछिल्लो निर्णयले केही सुधारको संकेत देखिन थालिसकेको छ ।

निजी क्षेत्रका आफ्नै अपेक्षा

ग्लोबल आईएमइ बैंकको एकीकृत कारोबारमा शुभकामना दिँदै नेपाल उद्योग परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षले आगामी मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा केन्द्रित रहेर बोलेका थिए ।

सीएनआईका अध्यक्ष विष्णु अग्रवालले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामा ब्याजदर घटाउन माग गरे । चालूपूँजी कर्जाको संशोधन र पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै वर्तमान सरकारप्रति आशा पलाएको उनले सुनाए । ब्याजदर घटाउने र तरलता बढाउने गरी काम गर्न उनको सुझाव थियो ।

एफएनसीसीआईका अध्यक्ष शेखर गोल्छाले राजस्व घटेको, महंगी बढेको सुनाउँदै अर्थतन्त्र संकुचन आउँदा निजी क्षेत्रको मनोबल कमजोर भएको बताए । यद्यपि, नयाँ सरकार गठन भएसँगै अर्थतन्त्रमा झिनो सुधार आएको उनको भनाइ थियो ।

नले पनि सरकार प्रमुख (प्रधानमन्त्री) , मौद्रिक व्यवस्थापन प्रमुख (गभर्नर) भएको मौका छोपेर आगामी मौद्रिक नीतिले परिमाणात्मक जोखिम लिनुपर्ने अन्यथा सहजमात्र खोज्दा आर्थिक विद्धिदर नहुने बताए ।

यसअघि अर्थमन्त्री र गभर्नरको ‘टसल’ ले अर्थतन्त्रमै चुनौती देखेका उद्योगी/व्यवसायीले पनि आशा जनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *