सुदूरपश्चिम सरकारका प्रवक्ताले आफ्नै मन्त्रालयलाई दिए अनुत्तीर्ण अंक – Nepal Press

सुदूरपश्चिम सरकारका प्रवक्ताले आफ्नै मन्त्रालयलाई दिए अनुत्तीर्ण अंक

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री डा. रणबहादुर रावलले आफूले प्रदेशमा धेरै काम गरेको दाबी गरेका छन् ।

आज पत्रकार सम्मेलनको आयोजना गर्दै उनले आफू मन्त्री भएपछि भएका प्रगतिहरू सुनाए । मन्त्री रावलले प्रदेश प्रहरी मुख्यालयको भवन निर्माण गरेको, मन्त्रालयमा सिसी क्यामेरा जडान गरेको नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका लागि विभिन्न स्थानमा कार्यालय स्थापन गरेको दाबी गरे ।

उनले आफ्नो कार्यकालमा पारित भएका संशोधन भएका विधेयकका विषयमा पनि जानकारी दिएका थिए ।

आफू र आफ्नो कार्यकालमा भएका प्रगतिहरूको बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले प्रगति विवरण मात्रै सुनाएनन् आफूलाई मूल्यांकनसमेत गरे । लामो समय प्रतिपक्षी दलको नेता हुँदै सरकारको प्रवक्ता भएका रावलले पहिले सरकार र सरकारमा रहेका मन्त्रीहरूको मूल्याङ्कन गर्दै अंक दिने गरेका थिए ।

‘यस पटक आफूले गरेको कामलाई कति अंक दिनुहुन्छ त’ भन्ने पत्रकारको प्रश्नमा पहिले भन्दा केही काम भएका छन् भन्दै उनले भने, ‘पहिलेको जस्तो १.५ हुँदैछ अहिले १० मा ३ नम्बर दिन्छु ।’

रावल सुदूरपश्चिम कांग्रेस संसदीय दलका निवर्तमान दलका नेता हुन् । उनी अघिल्लो पटक निर्वाचित भएको कैलालीको प्रतिनिधिसभा १ को प्रदेशसभामा यस पटक पराजित भए ।

केन्द्रमा सत्ता गठबन्धनमा कांग्रेस रहँदा पनि सुदूरपश्चिममा कांग्रेस प्रतिपक्षमा रहेको थियो । अघिल्लो बर्ष चैत्र २८ गते उनी आन्तरिक मामिला तथा कानूनमन्त्रीमा नियुक्त भएका थिए ।

उनले स्थानीय तह र प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको आचार संहिताका कारण धेरै काम गर्न नसकेको जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर