मासिक ९० हजारको बदाम बेच्छिन् धनलक्ष्मी – Nepal Press

मासिक ९० हजारको बदाम बेच्छिन् धनलक्ष्मी

सुर्खेत । ४३ वर्षीया धनलक्ष्मी सुनारको पुर्ख्यौली घर जुम्लाको खलङ्गा बजार हो । उनी सुर्खेत झरेको झण्डै २६ वर्ष भयो । वीरेन्द्रनगर नगरपालिका- १२ बस्ने उनले बदाम बेचेरै वार्षिक ९० हजार रुपैयाँ कमाउँदै आएकी छन् ।

उनले वीरेन्द्रनगर-८ क्याम्पस रोडमा बदाम भुटेर बेच्दै आएकी छन् । बदाम बेच्नु उनको दैनिकी हो । धनलक्ष्मी बिहान ८ बजे क्याम्पस रोड पुग्छिन् र आफ्नो दैनिकीलाई निरन्तता दिन्छिन् ।

उनी नियमितजसो आगो बालेर तसलामा बालुवा हालेर बदाम भुट्छन् । भुटेको बदाम बोरामा खनाउँछिन् । भुटेको बदाम किन्न बिहान ९ बजेपछि फाट्टफुट्ट ग्राहकहरू आउँछन् । अर्गानिक बदाम भएकाले धेरैको रोजाइमा परेको उनी सुनाउँछिन् ।

धनलक्ष्मीका दुई छोरा छन् । एक छोरा गाडी चालक हुन् । अर्को कक्षा १० मा पढ्दैछन् । उनका श्रीमानले पनि नेपाल प्रहरीबाट अवकाश पाइसकेका छन् । धनलक्ष्मीले बदाम व्यापारबाट राम्रो आम्दानी भएकाले आफूले यसलाई निरन्तरता दिँदै आएको बताइन् ।

बदाम भुट्दै गरेकी उनले भनिन्, ‘बदाम व्यापार गर्न थालेको १२ वर्ष भयो । ज्यानले साथ दिएसम्म यही व्यापार गर्ने हो ।’

उनले २ जना मिलेर बदाम खरिद गर्ने गर्दै आएको बताइन् । सुर्खेतको पश्चिमबाट तीन दिन लगाएर बदाम ल्याउने गरेको धनलक्ष्मीले सुनाइन् । उनले थपिन्, ‘एकपटकमा ३०-४० हजारको काँचो बदाम खरिद गरेर ल्याउँछु । त्यही बदाम भुटेर बेच्ने गरेको छु ।’

पछिल्लो समय व्यापार गर्न निकै गाह्रो भएको उनले सुनाइन् । ‘आम्दानीमात्रै राम्रो छ भनेर के गर्नु ? दुःख पनि उत्तिकै छ’, धनलक्ष्मीले थपिन्  । उनका अनुसार दिनको २५ सय देखि ३ हजारसम्म कमाइ हुने गरेको छ । उनले मासिक करिब ९० हजारसम्म आम्दानी हुने गरेको बताइन् ।

धनलक्ष्मीले कार्तिकदेखि फागुनसम्म बदाम व्यापार गर्छिन् । बदामको व्यापार नभएका वेला जेठदेखि भदौसम्म मकैको व्यापार गर्ने गरेको बताउँछिन् । तर बदाममा जस्तो मकैबाट आम्दानी नहुने उनी बताउँछिन् । ‘मकै बेचेर मासिक करिब ७५ हजार रुपैयाँमात्रै आम्दानी हुने गरेको छ’, धनलक्ष्मीले भनिन् ।

बदाम र मकै नहुने मौसममा हात खाली हुने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *