असंवैधानिक र अनैतिक ढंगबाट बनेको परमादेशी गठबन्धन ढाल्नु एमालेको सफलता हो : ओली (भिडिओ) – Nepal Press

असंवैधानिक र अनैतिक ढंगबाट बनेको परमादेशी गठबन्धन ढाल्नु एमालेको सफलता हो : ओली (भिडिओ)

माधव नेपाललाई कठैबरा भन्दै ओलीको टिप्पणी- जनताको शक्ति कमजोर पारेको अपराधलाई अझै कोर्ष करेक्सन भन्दैछन्

धुलिखेल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असंवैधानिक र अनैतिक ढंगबाट बनाइएको परमादेशी गठबन्धनलाई परास्त गर्ने आफूहरूको चुनावअघिको घोषणा सफल पारिएको दाबी गरेका छन् ।

जनसंगठनका पदाधिकारीहरूलाई प्रशिक्षण दिन आइतबार धुलिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशी-विदेशी शक्तिहरूको भयानक षडयन्त्रलाई असफल पार्दै एमालेको अगुवाइमा परमादेशी गठबन्धन भत्काइएको बताए ।

ओलीले भने, ‘हामीले असंवैधानिक र अनैतिक ढंगले अदालतले बनाइदिएको परमादेशी गठबन्धनलाई परास्त गरेर नयाँ जनादेश बमोजिम सरकार बनाउँछौं भनेर चुनावमै भनेकै थियौं । त्यसलाई निर्वाचनपछि सफलतापूर्वक सम्पन्न गरेका छौं ।’

अध्यक्ष ओलीले नेकपा एसका अध्यक्ष माधवकुमार नेपालप्रति कटाक्ष गर्दै अझै पनि एमाले नेतृत्वको कम्युनिष्ट सरकार र पार्टी ढालेर कोर्ष करेक्सन गरेकोमा गर्व गरिरहेको टिप्पणी गरे । नेपालले शनिवार आयोजित कार्यक्रममा आफ्नै अगुवाईमा केपी ओलीलाई ढालेर राजनीतिलाई सही दिशामा लगेको बताएका थिए ।

नेपालप्रति लक्षित गर्दै ओलीले भने, ‘हिजोतिर एकजना नेताले एमालेले गलत दिशामा लगेको राजनीति सही बाटोमा ल्यायौं,दुईतिहाइको हैसियतप्राप्त कम्युनिष्ट पार्टी राष्ट्रिय शक्ति बन्नु गलत ट्रेण्ड थियो, त्यसलाई असंवैधानिक ढंगले अदालतबाट कोर्ष करेक्सन गर्‍यौं भनेछन् । माया लाग्यो त्यस्ता व्यक्ति देखेर, अझ आफूलाई वामपन्थी पनि भन्छन् । मो नेता हो नेता, कार्यकर्ता होइन भन्छन् । त्यस्ता मान्छेले जनताको शक्तिलाई कमजोर गरेकोमा कोर्ष करेक्सन गरेको ठान्छन् । कठैबरा भन्न सकिन्छ, कठैबरा ।’

ओलीले एमालेलाई सिध्यायौं भनेर दंग परे पनि एमाले भनेको रक्तबीज भएकाले यो अझ मजबुत हुने बताए । कांग्रेसले गठबन्धनको बल र बुथ कब्जा गरेर केही सीट एमालेभन्दा बढी जिते पनि एमालेलाई जनताले लोकप्रिय मतमा पहिलो बनाएको ओलीको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर