एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा नेपाल पुलिस क्लबको विजयी सुरूवात (भिडिओ) – Nepal Press

एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा नेपाल पुलिस क्लबको विजयी सुरूवात (भिडिओ)

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ विजयी सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आइतबार भएको खेलमा न्युटन भलिबल एकेडेमीलाई ३–० को सोझो सेटमा हराउँदै पुलिसले सुखद सुरुआत गरेको हो । उपाधि दाबेदार मानिएको पुलिसले न्युटनमाथि २५–१६,२५–१७ र २५–१६ ले हराएको हो । यस जितसँगै समूह ’सी’ को पुलिसले पहिलो खेलमा ३ अंक जोडेको छ । न्युटनले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

यस्तै महिलातर्फको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । पुलिस क्लबले नयाँबजार सामाजिक युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी भएको हो । खेलमा पहिलो सेट २५–१० ले आफ्नो पक्षमा पारेको पुलिस क्लबले दोस्रो २५–६ ले जित्यो । तेस्तै तेस्रो सेट पुलिस क्लब २५–८ ले विजयी भयो । यस जितसँगै पुलिसले प्रतियोगितामा तीन अङ्क जोडेको छ ।

यसैगरी आइतबार नै भएको महिलातर्फको अर्को खेलमा त्रिभुवन आर्मी क्लब कृष्ण माध्यमिक एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी भएको छ । आर्मीले कृष्ण माध्यमिक एकेडेमीमाथि पहिलो सेट २५–३ ले पराजित गर्‍यो भने खेलको दोस्रो सेट २५–५ ले हरायो । त्यस्तै आर्मीले खेलको तेस्रो सेट २५–१० आफ्नो पक्षमा पार्दै आफ्नो टोलीको जित सुनिश्चित गर्‍यो ।

च्याम्पियनसिपमा पुरुषतर्फ १४ र महिलातर्फ ८ टोलीको सहभागीता रहेको छ । च्याम्पियनसिपको महिला र पुरुष विजेताले नगद ४ लाख पाउनेछन् । यस्तै उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख पाउनेछन् । च्याम्पियनसिपको सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउने छन् ।

विधागततर्फ उत्कृष्ट हुने लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ पाउनेछन् । त्यस्तै च्याम्पियनसिपबाट पुरुषतर्फ शीर्ष ८ टोली र महिलातर्फ शीर्ष ६ टोलीले सातौं आरबीबी–एनभीए क्लब लिगका लागि छनोट हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर