सुदूरपश्चिममा नयाँ सरकार गठनको समयसीमा चार दिन रहँदा सम्मपनि मुख्यमन्त्रीमै अन्योल – Nepal Press

सुदूरपश्चिममा नयाँ सरकार गठनको समयसीमा चार दिन रहँदा सम्मपनि मुख्यमन्त्रीमै अन्योल

कैलाली । अघिल्लो बिहीबार सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीको लागि बहुमत पुराएर दाबी पेस गर्न दलहरूलाई आग्रह गरे । त्यसपछि दलहरू सरकार बनाउन लागि परे पनि अझै सम्म कुनै प्रगति भने हुन सकेको छैन ।

सत्ता गठबन्धनमा रहेका माओवादी, एमाले, नागरिक उन्मुक्ति र राप्रपा मिल्दा सुदूरपश्चिममा बहुमत पुग्छ । तर, राप्रपा बाहेकका तीन दल बिच सरकारको नेतृत्व कसरले गर्ने भन्ने बारे सहमति नजुट्दा सरकार गठन प्रक्रियामा कुनै प्रगति हुन नसकेको हो ।

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि २७ सांसद आवश्यक पर्छ । यहाँ गठबन्धन भित्र माओवादीका ११, एमालेका १० नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सांसद छन् ।

सरकार गठनका लागि २७ सांसद आवश्यक पर्ने गठबन्धनका दलहरू बिच सहमति जुट्ने अवस्थामा २९ सांसद पुग्छन् ।तर, नागरिक उन्मुक्तिको सर्तले भने सुदूरपश्चिममा सरकार गठनमा हलो अड्किएको छ ।

सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले आफ्नामा मागहरू सम्बोधन नगरे सरकार गठन प्रक्रियामा सहभागी नहुने जनाएको छ । उनीहरूले रेशम चौधरी लगायतको रिहाइ,टिकापुर घटनाका ५८ जनाको मुद्दा खारेजी र गिरीशचन्द्र लालको प्रतिवेदन सार्वजनिकको माग गरिरहेका छन् ।

आफ्ना मागहरू सम्बोधन नगर्दा सम्म नागरिक उन्मुक्ति सरकार गठन प्रक्रियामा सहभागी नहुने अवस्था आए सुदूरपश्चिम प्रदेशमा गठबन्धनको सरकार बनाउन सकस छ । उता गठबन्धन बाहिर पनि बहुमत पुग्दैन । यहाँ कांग्रेसका १९, नेकपा एकीकृत समाजवादीका ४ र स्वतन्त्र १ उम्मेदवार छन् ।

सुदूरपश्चिम सरकार गठनमा एकातिर नागरिक उन्मुक्तिको अडानले उल्झन ल्याएको छ भने अर्को तर्फ माओवादी र एमालेको दाबीले अझै मूर्त रूप पाउन सकेको छैन । माओवादी संसदीय दलका नेता खगराज भट्ट र एमाले संसदीय दलका नेता राजेन्द्र रावल अहिले दुवै जना मुख्यमन्त्रीका दाबेदार हुन् । उनीहरू दुवै जना अहिले काठमाडौँ मा छन् ।

शुक्रवार माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई माओवादी दलका नेता सहितको टोलीले भेटेर सुदूरपश्चिममा माओवादीले पाउनु पर्ने अडान राखेका थिए । प्रधानमन्त्री भेट्न भट्ट सहित माओवादी प्रदेश अध्यक्ष हरि चौधरी र प्रदेशसभा सदस्य ओमविक्रम भाट पनि गएका थिए ।

आजै साँझ सम्म सुदूरपश्चिम प्रदेश कसको भागमा पर्ने भन्ने बारे शीर्ष नेताहरूले निर्णय गरिसक्ने नेताहरूको बुझाइ छ। ‘हामीले यस विषयमा कुरा राखिरहेका छौँ ’एमालेका एक नेताले भने, ‘सायद आज साँझ सम्म केही कुरा आउन सक्छ ।’

२७ गते भित्र दाबी पेस गर्नु पर्ने भएको हुँदा आज साँझ सम्म निर्णय आइसक्ने उनको बुझाइ छ ।

मुख्यमन्त्री भागबन्डामा जुन पार्टी सरकारको नेतृत्व गर्न पाउँछ त्यसपछि नागरिक उन्मुक्तिसँग पनि संवाद गर्नुपर्ने हुँदा चाँडै शीर्ष नेताहरूलाई टुङ्गो लगाउन एमाले र माओवादीका नेताहरूले आग्रह गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर