फारवेस्टसँग हार्दै बाहिरियो पोखरा, काठमाडौं प्लेअफमा – Nepal Press

फारवेस्टसँग हार्दै बाहिरियो पोखरा, काठमाडौं प्लेअफमा

काठमाडौं । लिग चरणको अन्तिम खेलमा फारवेस्टर्न यूनाइटेडसँग ४१ रनले पराजित हुँदै पोखरा एभेन्जर्स जारी नेपाल टी–२० लिगबाट बाहिरिएको छ । पोखरा बाहिरिएसँगै काठमाडौं नाइट्स हारका बाबजुद पनि प्लेअफ पुगेको छ ।

काठमाडौं लिग चरणको अन्तिम खेलमा आजै विराटनगर सुपर किङ्सँग पराजित भएको थियो । काठमाडौंले इलिमिनेटरमा सोमबार विराटनगरसँगै खेल्नेछ ।

पहिलो प्लेअफमा आइतबार लुम्बिनी अलस्टार्स र जनकपुर रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।

शनिवार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्लेअफ पुग्न फारवेस्टले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको पोखरा १८.१ ओभरमा अलआउट हुँदै १ सय ४६ रनमा सीमित भयो ।

पोखराले फारवेस्टले दिएको लक्ष्य १२ ओभरमा पुरा गरेको खण्डमा रनरेटका आधारमा काठमाडौं भन्दा माथि रहँदै प्लेअफ पुग्ने समीकरण रहेको थियो । तर पोखरा १२ ओभरमा ७४/४ को अवस्थामा रहेको थियो ।

पोखराका लागि कप्तान उपुल थरंगाले सर्वाधिक ३६ रन योगदान गरे । उनले २३ बलमा ५ चौका र एक छक्का प्रहार गरे ।

प्रतिश जिसी ११ बलमा ५ छक्का प्र्रहार गर्दै ३४ रन बनाएर पभेलियन फर्किएका थिए । सिद्दान्त लोहनीले २५ बलमा १ चौका र २ छक्काको मद्दत लिँदै २८ रन योगदान गरे । विशाल विक्रम केसी १३ रन र ओपनर सुमित महर्जन १४ रन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

फारवेस्टका दुर्गेश गुप्ताले ४ ओभरमा २९ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए ।

हर्शमतुल्लाह शाहिदी र प्रकाश जैशीले समान दुई विकेट लिँदा करण केसीले एक विकेट लिए ।

यसअघि, टस जितेर ब्याटिङ थालेको फारवेस्टले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८७ रनको योगफल तयार पारेको थियो ।

फारवेस्टका ओपनर शाहिदी र भण्डारीले शतकीय साझेदारी गरे । भण्डारीले पहिलो विकेटका लागि शाहिदीसँग १ सय ३४ रनको साझेदारी गरेका थिए ।

शाहिदी १४औँ ओभरको अन्तिम बलमा रनआउट भएका थिए । उनले ५१ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ६७ रनको योगदान गरे । करण केसी ११ रनमा अविजित रहे ।

भण्डारी १८.४ ओभरमा प्रतिश जिसीको बलमा क्याचआउट भएका थिए । त्यसअघि, उनले ४७ बलमा ६ चौका र २ छक्कासहित ५९ रन योगदान गरे ।

मिलान्दा सिरिवारर्दाना १२ रनमा आउट हुँदा रासिद खान १४ रन बनाएर पभेलियन फर्किएका थिए ।

पोखराको बलिङमा अभिमन्यू मिथुनले ४ ओभरमा ३२ रन खर्चिएर दुई विकेट लिए । प्रतिस जिसीले तीन ओभरमा ३१ रन खर्चिएर एक विकेट लिए ।

प्रतियोगितामा लिग चरणका खेल सकिँदा लुम्बिनी अलस्टार्स १० मध्य आठ खेलमा जित र २ हारको नतिजासहित १६ अंक जोडेर तालिकाको शिर्ष स्थानमा छ । लुम्बिनी लिग चरणका तीन खेल अगावै प्लेअफ पुगेको थियो ।

जनकपुर रोयल्स १० खेलमा ७ जित र तीन हारको नतिजासहित १४ अंक जोडेर दोस्रो स्थानमा छ । विराटनगर १० खेलमा समान ५ जित र हारसहित १० अंक जोडेर तेस्रो स्थानमा रहयो । काठमाडौं ८ अंकसहित चौथो स्थानमा रहँदा फारवेस्ट र पोखरा समान ६ अंकसहित क्रमशः पाँचौँ र छैटौँ स्थानमा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर