बौरिँदै लुम्बिनीको पर्यटन, एकै वर्षमा ९ लाख भित्रिए – Nepal Press

बौरिँदै लुम्बिनीको पर्यटन, एकै वर्षमा ९ लाख भित्रिए

रूपन्देही । कोरोना महामारीका कारण दुई वर्ष सुनसानजस्तै बनेको बुद्धजन्मस्थल लुम्बिनीमा सन् २०२२ मा ९ लाख आन्तरिक तथा बाह्य पर्यटक पुगेका छन् । तर, यसरी आएका अधिकांश पर्यटकहरू उही दिनमै फर्किएका कारण व्यवसायमा भने अपेक्षित सुधार हुन नसकेको पर्यटन व्यवसायी सुनाउँछन् ।

कोरोना महामारीको संक्रमण कम हुँदै गएपछि खुल्ला गरिएकाले बिस्तारै पर्यटकहरू बढदै गएका छन् । सन् २०२१ मा कुल ५ लाख ८ हजार ८ सय ९२ पर्यटक आएकोमा २०२२ मा ९ लाख १ सय ८३ जनाले अवलोकन गरेको लुम्बिनी विकास कोषले जनाएको छ ।

यो संख्यामा धेरै आन्तरिक नै छन् । यो वर्ष ६ लाख ४६ हजार ७८ नेपाली पर्यटक लुम्बिनी आउँदा छिमेकी मुलुक भारतबाट २ लाख ३० हजार ४ सय १३ जना तथा तेश्रो मुलुकबाट २३ हजार ६ सय ९२ पर्यटक लुम्बिनी आएका छन् । लुम्बिनी विकास कोष सूचना अधिकारी राजन बस्नेतका अनुसार भारतीय पर्यटक लुम्बिनी आएको यो निकै धेरै हो ।

२०२१ मा ४ लाख ६३ हजार ९ सय ६३ जना आन्तरिक पर्यटक पुग्दा ४३ हजार ७ सय ३२ जना भारतीय पर्यटक पुगेका थिए भने तेस्रो मुलुकका १ हजार १ सय ९७ जना मात्रै पर्यटक लुम्बिनी पुगेका थिए । यो समय कोरोना महामारी कम गर्न गरिएको तेस्रो मुलुकबाट रोकिएका कारण पनि तेस्रो मुलुकका आएका थिएनन् । नेपालमै बसेकाहरू मात्रै लुम्बिनी पुगेका थिए त्यो समयमा ।

लुम्बिनी अहिले आन्तरिक पर्यटकको केन्द्र बनिरहेको छ । पूर्वदेखि पश्चिमसम्मबाट आन्तरिक पर्यटकले यो क्षेत्रलाई गन्तव्य बनाउन थालेका छन् । हिउँदको समय अहिले यहाँ धेरै घुम्ने मौसम पनि हो । सबैभन्दा बढी डिसेम्बर महिना (मंसिर १५देखि पुस १६ सम्म) १ लाख १ सय ९६) जना नेपाली पर्यटक लुम्बिनी भ्रमणका लागि पुगेकाले पनि यो घुम्ने समय भनेर प्रमाणित हुन्छ ।

सन् २०१९ पछि सबैभन्दा बढी पर्यटक लुम्बिनी पुगेका हुन् । २०१९ मा ११ लाख ७८ हजार १ सय ४० नेपाली, २ लाख ६ हजार १ सय ७१ भारतीय र १ लाख ७४ हजार १५ तेश्रो मुलुकका गरी कुल १५ लाख ५८ हजार ३ सय २६ पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए ।

२०२२ मा लुम्बिनी आउने तेस्रो मुलुकका पर्यटकहरू (राहदानी बाहक) मा सबैभन्दा बढी भियतनामका ६ हजार ६ सय ७३, थाइल्याण्डका ४ हजार ३ सय ८०, श्रीलंकाका १ हजार ८ सय ८५, म्यान्मारका १ हजार ४ सय ९५,जर्मनीका ९ सय ५०, अमेरिकाका ९ सय २४, फ्रान्सका ६ सय ६१, मलेसियाका ६ सय ४२, दक्षिण कोरियाका ६ सय १७, नेदरल्याण्डका ४ सय ६३, इन्डोनेसियाका ४ सय ६३, चीनका ४ सय ३२, स्पेनका ३ सय ७३ लगायत विभिन्न ९५ देशका पर्यटक छन् । रुस, स्पेन, इटाली, डेनमार्क, अष्ट्रेलिया, सिंगापुर, जापान, अर्जेन्टिना लगायतका मुलुकबाट पनि लुम्बिनी भ्रमणमा आउने पर्यटक रहेका छन् ।

अहिले संख्याको आधारमा पर्यटक आगमन राम्रो छ, यस्तै तरिकाले पर्यटक आगमन बढेमा पुरानै लयमा फर्कने अपेक्षा यहाँका व्यवसायी तथा विकास कोषका पदाधिकारीको छ । बिदेशी पर्यटकको संख्या पनि बढ्दै गएकाले उनीहरूको उत्साह बढेको हो । लुम्बिनी विकास कोषका सदस्यसचिब सानुराजा शाक्यले पर्यटकको संख्या बिस्तारै बढ्दै गएको र तेस्रो मुलुकका पर्यटक पनि बढ्दै गएको बताए । विकास कोषले यसरी आउने पर्यटकको बसाई लम्बाउने योजना बनाएको उनले बताए ।

लुम्बिनी भ्रमणमा जानेमा लुम्बिनीसंग जोडिएका क्षेत्रहरू भैरहवा, बुटवल, कपिलबस्तु, नवलपरासीका धेरै छन् भने अन्य टाढा टाढाबाट पनि आएको पाइएको छ । मायादेवी मन्दिरमा रूपन्देही, नवलपरासी र कपिलवस्तुका सर्बसाधारणलाई परिचयपत्रका आधारमा प्रवेश निःशुल्क छ भने अन्य जिल्लाका लागि प्रवेश शुल्क लाग्छ, यही प्रवेशका आधारमा पर्यटक आगमन गणना हुने गरेको छ, लुम्बिनी भ्रमणमा आउने प्राय सबै मायादेवी मन्दिर पुग्ने गरेका छन् ।.

पर्यटकहरूका लागि मायादेवी मन्दिर, अशोक स्तम्भ, पवित्र पुष्करणी कुण्ड, स्वदेशी तथा विदेशी बिहार, विश्व शान्ति द्वीप, केन्द्रीय नहरमा नौका बिहार आकर्षक छन् । अहिले वसन्त ऋतुमा फुलेका विभिन्न रंगिबिरंगी फुलहरू, चराको चिरबिरले पनि पर्यटकलाई आकर्षित गर्ने गरेका छन् । लुम्बिनीमा ४ सय ५० भन्दा बढी प्रजातिका चराहरू पाइने गरेका छन् ।

लुम्बिनी आउने पर्यटक बढे पनि उही दिन फर्कने पर्यटक धेरै रहेकाले यहाँको पर्यटन व्यसायीहरू सन्तुष्ट छैनन् । उनीहरूले पर्यटकको बसाई लम्बाउने योजना बनाउन सरकार र विकास कोषलाई आग्रह गरिरहेका छन् । लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीका अनुसार अहिले लुम्बिनीमा पर्यटक आगमन बृद्धि भएपनि रात बिताउने पर्यटकहरू धेरै आएका छैनन् ।

‘लुम्बिनी वरिपरीका पर्यटक बढी आएका छन्, जो एकै दिनमा फर्कन्छन् र केही मात्र बास बस्ने गरेका छन् । आन्तरिक मात्रै होइन बाह्य पर्यटकहरू समेत एकैदिनमा फर्कने गरेका छन् । केही भारतीय र युरोपियनहरू एकाध बास बस्ने गरेका छन् । भारतबाट प्याकेज बनाई आउने तेश्रो मुलुकका पर्यटकहरू पनि उही दिन फर्कने धेरै छन्’, उनले सुनाए ।

पर्यटन व्यवसायी एवं होटल संघ लुम्बिनीका वरिष्ठ उपाध्यक्ष लिलामणि शर्मा कोरोनाले ध्वस्त पर्यटन क्षेत्र बिस्तारै अघि बढेको र पर्यटक आगमन बढेको भएपनि पर्यटन व्यवसायीहरू भने लाभान्वित हुन नसकेका बताउँछन् । पर्यटकहरूका लागि एकरात भए पनि भुलाउने गरी आध्यात्मिक गतिबिधि कार्यक्रम आयोजना हुनसके पर्यटकहरूको बसाई अबधि बढाउन सकिने र पर्यटन बजार पनि फस्टाउने उनको सुझाव छ ।

होटल संघ लुम्बिनीले आन्तरिक पर्यटकलाई लक्षित गरी लुम्बिनी भ्रमणका लागि सस्तो दरको प्याकेजहरू ल्याएको, भ्रमणमा आउने स्कुल कलेजका छात्रछात्राहरूलाई ग्रुपमा छुट्टै प्याकेज बनाईएको होटल संघका निवर्तमान अध्यक्ष मिथुनमान श्रेष्ठले बताए ।

धार्मिक कार्यक्रमले व्यवसायी उत्साहित

माघको अन्तिम साता बुद्ध जन्मस्थल लुम्बिनीमा भारतका आध्यात्मिक व्यक्ति मुरारी वापुबाट हुने नौं दिने धार्मिक कार्यक्रमबाट यहाँको पर्यटन व्यवसायी उत्साहित भएका छन् ।
माघको २१ देखि २९ गतेसम्म लुम्बिनीका अधिकांश होटल बुक भएपछि व्यवसायी उत्साहित बनेका हुन् । यसभन्दा अघि कोरोनाका कारण त्यहाँ होटल बर्षौंसम्म थलिएकाले पूर्ण क्षमतामा संचालन हुन पाएको थिए । मुरारी वापुबाट लुम्बिनीको अन्तर्राष्ट्रिय ध्यान केन्द्र तथा सभाहलमा रामकथा प्रबचनसहितको धार्मिक कार्यक्रम संचालन हुने भएपछि यसको तयारी थालिएको छ ।

लुम्बिनी होटेल संघ नेपालका अध्यक्ष गोबिन्द ज्ञवालीले उक्त धार्मिक कार्यक्रमका लागि लुम्बिनीका दुई दर्जन भन्दा धेरै होटल बुक भैसकेको र होटेल बुक हुने क्रम जारी रहेको बताए । मुरारी वापुको यो कार्यक्रम सन् २०१९ मा पनि लुम्बिनीमा तय गरिएको थियो । तर, कोरोना संक्रमण विश्वव्यापी हुन थालेपछि स्थगित गरिएको थियो । कार्यक्रम सफल बनाउका लागि गठित रामकथा प्रेम यज्ञ समितिका संयोजक अनिल मिश्रले भारत र विभिन्न तेश्रो मुलुकबाट पनि कार्यक्रममा सहभागी हुने जानकारी आइरहेको र तत्कालका लागि २ हजारलाई बस्ने व्यवस्था स्थानीय होटलमा मिलाइएको बताए ।

मिश्रका अनुसार माघ २१ का दिन मुरारी बापु भारतको दिल्लीबाट एउटा चार्टर बिमानद्वारा भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आउने कार्यक्रम तय भएको छ । प्रत्येक दिन दिनको तीन पटकसम्म ५ हजारभन्दा धेरैलाई निःशुल्क खानाका लागि भण्डाराको प्रबन्ध मिलाइएको र भण्डारामा जतिसक्दो धेरैजनालाई सहभागी गराउन सवैमा आग्रह गरिएको मिश्रले बताए ।

यो कार्यक्रमको भारतीय धार्मिक टेलिभिजन च्यानल आस्थाबाट कार्यक्रम अवधिभर १ सय ७० देशमा पुग्नेगरि प्रत्यक्ष प्रशारणको व्यवस्था मिलाइएको छ । रामकथा प्रबचनको साथमा भगवान बुद्धको जीवनीमा आधिरित नाट्य कथा तथा सांस्कृतिक कार्यक्रमको पनि तयारी गरिएको छ । कार्यक्रम स्थलको हलमा आवाज धेरै गुञ्जिने (इको) समस्या देखिएकाले समाधानका लागि मुम्बईदेखि प्राविधिक टोलीलाई बोलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *