मधेसबाहेक सबै प्रदेशमा सरकार गठनको डेडलाइन- गठबन्धनमा अझै भएन बाँडफाँट – Nepal Press

मधेसबाहेक सबै प्रदेशमा सरकार गठनको डेडलाइन- गठबन्धनमा अझै भएन बाँडफाँट

काठमाडौं । सत्ता साझेदार दलहरुमा भागबन्डा नमिल्दै सातमध्ये ६ प्रदेशमा सरकार गठन गर्न आह्वान भएको छ । मधेसबाहेक सबै प्रदेशमा सरकार गठन गर्न प्रदेश प्रमुखहरुले आह्वान गरेका हुन् । तर, सत्ता गठबन्धनको शीर्ष नेताहरुले हालसम्म भागबन्डा मिलाउन सकेका छैनन् ।

नेकपा एमालेसहित ७ दलको समर्थनमा प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त नगरेसम्म भागबन्डा नटुंग्याउने तयारी छ ।

प्रधानमन्त्री दाहालले पुस २६ गते विश्वासको मत लिँदैछन् । तर, प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि नै केही प्रदेशमा सरकार गठन गर्न दाबी प्रस्तुत गर्न प्रदेश प्रमुखले समयसीमा तोकेका छन् ।

गठबन्धनमा प्रारम्भिक प्रस्तावअनुसार एमालेलाई ४, माओवादीलाई २ र मधेसमा जनता समाजवादी पार्टी र जनमत पार्टीको आलोपालो गर्ने गरी छलफल अघि बढेको छ । तर, जसपा आलोपालो गर्ने पक्षमा छैन ।

१०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार गठन गर्न ५४ सांसद आवश्यक पर्छ । यहाँ सबभन्दा ठूलो दल एमालेको २३, कांग्रेसको २२, जसपाको १६, जनमतको १३, माओवादीको ९, नेकपा एसको ७ र लोसपाको ९ सांसद छन् । ५ स्वतन्त्र सांसद छन् भने नागरिक उन्मुक्ति पार्टी, नेपाल संघीय समाजवादी पार्टी र राप्रपाका १-१ जना सांसद छन् ।

मधेसमा सरकार गठनको विषयमा सत्ता साझेदार दलमात्रै नभएर दोस्रो ठूलो दल कांग्रेसले पनि चासो राखेको छ । यहीबीच जसपा अध्यक्ष उपेन्द्र यादवले आजैमात्र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेर यस विषयमा छलफल गरिसकेका छन् ।

यता, बागमतीमा राप्रपा र सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीले पनि मुख्यमन्त्री दाबी गरेपछि गठबन्धनमा भागबन्डा मिलाउन हम्मेहम्मे परिरहेको छ । गठबन्धनमा राष्ट्रपतिदेखि मुख्यमन्त्रीसम्म प्याकेजमै सहमति गर्न प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निरन्तर वार्तामा छन् । तर, अझै टुंगो लगाउन सकेका छैनन् ।

राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखदेखि मुख्यमन्त्रीसम्म प्याकेजमै भागबन्डा हुने भएकाले दलहरुबीच छलफल भइरहेको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बताए ।

प्रदेशमा आफ्नो दलको उपस्थिति नभए पनि सत्ता साझेदार दलहरुबीच शक्ति बाँडफाँट मिलाउने प्रयास भइरहेको उनको भनाइ छ ।

७ प्रदेशमध्ये तीनवटामा एमालेका नेता मुख्यमन्त्री बन्ने निश्चित भएको छ । प्रदेश १ मा हिक्मत कार्की, कर्णालीमा यमलाल कँडेल र गण्डकीमा खगराज अधिकारी मुख्यमन्त्री बन्ने निश्चित प्रायः छ । उनीहरु तीनै जना एमाले स्थायी कमिटी सदस्य भएकाले मुख्यमन्त्री बन्ने निश्चित छ ।

कुन प्रदेशमा कस्तो छ सरकार गठनको अवस्था ?

प्रदेश १ मा एमालेका कार्कीको सम्भावना

प्रदेश १ मा नयाँ सरकार गठन गर्न प्रदेश प्रमुख पर्शुराम खापुङले आह्वान गरिसकेका छन् । उनले आइतबार बेलुका ५ बजेभित्र सरकार गठन गर्ने समय दिएका छन् । तर, पछिल्लो राजनीतिक समीकरणअनुसार प्रदेशमा नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्ने टुंगो लागिसकेको छैन ।

यद्यपि नेकपा एमाले र माओवादी केन्द्रले नयाँ सरकारको नेतृत्वका लागि दाबी गरिरहेका छन् । तर, प्रदेशको सबैभन्दा ठूलो दल एमालेले सरकारको नेतृत्व गर्ने सम्भावना छ । यहाँ एमालेले स्थायी कमिटी सदस्य हिक्मत कार्कीलाई अघि सारेको छ । माओवादीका इन्द्रबहादुर आङ्बोले पनि मुख्यमन्त्रीमा दाबी गरिरहेका छन् ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतको सरकार बनाउन ४७ सांसद आवश्यक पर्छ । यहाँ एमालेसँग ४०, माओवादीसँग १३ कांग्रेससँग २९, राष्ट्रिय प्रजातन्त्र पार्टीसँग ६, नेकपा एकीकृत समाजवादीसँग ४ र जनता समाजवादी पार्टीसँग १ जना सांसद छन् । यहाँ एमाले माओवादी गठबन्धनको सरकार गठनका लागि सुविधाजनक बहुमत छ ।

बागमतीमा त्रिपक्षीय हानथाप

बागमतीमा पनि सरकार गठन गर्न आह्वान भइसकेको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री नियुक्त गर्न पुस २५ गते सोमबार अपरान्ह ४ बजेसम्मको समय सीमा तोकेका छन् ।

बागमती प्रदेशमा ११० जना सांसद छन् । सरकार गठन गर्न प्रदेशमा सामान्य बहुमतका लागि कम्तीमा ५६ सांसद आवश्यक पर्छ । सत्ता गठबन्धनमा रहेको एमालेका २७, माओवादी केन्द्रका २१ र राप्रपाका १३ सांसद छन् ।

यी ३ दलको मत जोड्दा बागमतीमा नयाँ गठबन्धनसँग ६१ मत पुग्छ । बागमती प्रदेश सरकारको नेतृत्वमा एमाले, माओवादी र राप्रपाको दाबी छ । एमालेबाट जगन्नाथ थपलिया, माओवादीमा शालिराम जमरकट्टेल र राप्रपाबाट उद्वव थापाको दाबी छ ।

गण्डकीमा खगराज निश्चित !

गण्डकी प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस २५ गते सोमबार अपरान्ह ४ बजेसम्मको समय निर्धारण गरिसकेका छन् ।

यहाँ पनि कुनै एक दलको स्पष्ट बहुमत नभएकाले बहुमतका लागि दुई वा दुईभन्दा बढी दल आवश्यक छ । गण्डकीमा जम्मा ६० सांसद छन् । सरकार गठन गर्न ३१ सांसद आवश्यक पर्छ ।

यहाँ पहिलो दल कांग्रेसका २७, एमालेका २२, माओवादीका ८, राप्रपाका २ र नेकपा एकीकृत समाजवादीका एक जना सांसद छन् । केन्द्रीय गठबन्धनअनुसार एमाले, माओवादी र राप्रपा मिल्दा ३२ सीट हुन्छ । यहाँ पनि एमाले-माओवादी गठबन्धनको बहुमत भएकाले एमालेका खगराज अधिकारी मुख्यमन्त्री बन्ने प्रवल सम्भावना छ ।

लुम्बिनीमा गठबन्धनको केन्द्र निर्णायक, कांग्रेस पनि सक्रिय

लुम्बिनीमा सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनले पुस २७ गते बुधबार ४ बजेसम्मको समयसीमा तोकिसकेका छन् । ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ । अहिले केन्द्रमा गठबन्धन गरेका ६ दलको यहाँ ५३ सांसद छन् ।

यहाँ एमालेबाट लीला गिरी र माओवादीबाट जोखबहादुर महराले मुख्यमन्त्रीमा दाबी गरेका छन् । तर, केन्द्र निर्णायक हुँदा कुन दलले भाग पाउने भन्ने टुंगो लागेको छैन ।

यहाँ एमालेसँग २९, कांग्रेससँग २७, माओवादीसँग १०, राप्रपा र नागरिक उन्मुक्तिसँग ४-४, जसपा र जनमतको ३-३ जना सांसद छन् । प्रदेशमा दोस्रो रहेको कांग्रेसले पनि अहिलेको गठबन्धनलाई भत्काउन नागरिक उन्मुक्ति, जसपा र जनमतलाई ठूलै भाग दिएर मनाउन खोजेको छ । तर, त्यो सम्भावना कम छ ।

सुदूरपश्चिममा खगराजको सम्भावना

सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले यही पुस २७ गते साँझ ५ बजेभित्र सरकार गठन गर्न समय तोकिसकेका छन् । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार गठन गर्न २७ जनाको समर्थन चाहिन्छ ।

यहाँ १९ सांसदसहित नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी छ । दोस्रो दल माओवादी केन्द्रको ११, तेस्रो दल नेकपा एमालेको १०, नागरिक उन्मुक्तिको ७, नेकपा एकीकृत समाजवादीको ४, राप्रपाको १ र १ जना स्वतन्त्र सांसद छन् ।

यहाँ एमाले र माओवादीबीच नेतृत्व लिन हानथाप भइरहेको छ । यो प्रदेश माओवादीको भागमा पर्ने सम्भावना छ । माओवादीका खगराज भट्ट सम्भावित मुख्यमन्त्री हुन् ।

उनीहरुले आज बिहानमात्रै मुख्यमन्त्री नछाड्न प्रधानमन्त्री प्रचण्डलाई भेटेर आग्रह गरिसकेका छन् । यहाँ एमालेका राजेन्द्र रावल र नागरिक उन्मुक्तिका रामेश्वर चौधरी पनि मुख्यमन्त्रीको लबिङमा छन् ।

कर्णाली यमलाल कँडेलको सम्भावना

कर्णाली प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीका लागि दाबी पेश गर्न पुस २७ गते बुधबार साँझ ५ बजेसम्मको समय दिएका छन् । कर्णाली प्रदेशसभामा ४० सांसद छन् ।

कांग्रेसका १४, माओवादी केन्द्रका १३, एमालेका १०, राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसद एक-एक जना छन् । सरकार गठन गर्न २१ सांसद आवश्यक पर्छ । यहाँ एमाले र माओवादी मिलेपछि सहजै बहुमतको सरकार बन्छ ।

यहाँ एमालेका यामलाल कँडेल मुख्यमन्त्री बन्ने सम्भावना छ । तर, माओवादीले पनि राजकुमार शर्मालाई मुख्यमन्त्री बनाउनुपर्ने दाबी गरिरहेको छ । बिहीबार पनि कँडेललाई मुख्यमन्त्री बनाउनुपर्ने मागसहित नेताहरु अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेर दबाब दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर