१६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव फागुनमा हुने – Nepal Press

१६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव फागुनमा हुने

काठमाडौं । १६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैठौं प्राङगारिक कृषि मेला-२०७९ आगामी फागुन पहिलो साता राजधानीमा आयोजना हुने भएको छ ।

स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनी कोरोना महामारीको कारण विगत तीन वर्षदेखि स्थगित भएकोमा यस पटक अगामी फागुन २ देखि ६ गतेसम्म राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आयोजना हुन लागेको हो ।

प्रदर्शनीको बारेमा बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले मुलुकभरका झण्डै छ लाखभन्दा बढी लघु, घरेलु तथा साना उद्योगहरु र कृषि व्यवसायमा संलग्न उद्यमीहरुलाई प्रदर्शनीले प्रतिबिम्बित गर्ने बताए ।

‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ र ‘मिहनेत, श्रृजना, उत्पादन र वस्तु मैरै नेपालको’ भन्ने प्रदर्शनीको मुख्य नारा रहेको छ । महोत्सवमा नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग लगायत सबै खाले उद्योगको उत्पादनलाई समावेश गरी बीटुबी, बीटुसी, बीटुजी जस्ता अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य आदि हुनेछ ।

प्रदर्शनीमा नेपालका सबै प्रदेश र जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेशलगायत सार्क मुलुक तथा चीनको सहभागिता रहने महासंघले जनाएको छ । प्रदर्शनीमा २०० वटा स्टलको व्यवस्था हुने र दुई लाख भन्दा बढी अवलोकनकर्ताहरूले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ भने सात करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने प्रक्षेपण गरिएको छ ।

नेपालको अर्गानिक उत्पादनलाई निर्यातमुखी बनाउन र अन्तर्राष्ट्रिय व्यवसायीहरुलाई समेत आकर्षित गर्न अर्गानिक उत्पादनलाई नेपाल सरकारले प्रोत्साहन गरिरहेको र यस्ता उत्पादनहरु उपभोग गर्न उपभोक्ताहरुसमेत जागरुक रहेको परिप्रेक्षमा अर्गानिक उत्पादनहरुका बारेमा आम नागरिकलाई सचेतना गराउने र सहज रुपमा अर्गानिक उत्पादनहरु उपलव्ध गराउन यस्ता उत्पादनको बिक्री वितरणलाई सहयोग पुर्याउने उद्देश्यका साथ अर्गानिक एसोसियशनसँगको सहकार्यमा कृषिका अर्गानिक उत्पादनहरुको छुट्टै प्याभिलियनमार्फत प्रदर्शनी गरिने व्यवस्था गरिएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा हुने यस मेलाको सह-आयोजकको रुपमा अर्गानिक एसोसियसन अफ नेपाल, नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय-व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, वागमती प्रदेश सरकार, सुदुरपश्चिम प्रदेश सरकार आदि रहने छन् । त्यसैगरी अन्य सरकारी निकाय तथा गैरसरकारी संघसंस्थाहरु यसका प्रवर्द्धक र सहयोगी रहनेछन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *