सीमाभन्दा बढी चालू पूँजी कर्जा लिएका व्यवसायीले अब कुन-कुन समयमा कति तिर्ने ? – Nepal Press

सीमाभन्दा बढी चालू पूँजी कर्जा लिएका व्यवसायीले अब कुन-कुन समयमा कति तिर्ने ?

काठमाडौ । अन्तत: चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन नेपाल राष्ट्र बैंक ब्याक भएको छ । स्थगनको माग भएको मार्गदर्शन संशोधन गरिएको छ । विशेष गरी मार्गदर्शनको संशोधन सबैभन्दा बढी फाइदा सीमाभन्दा बढी ऋण लिएका व्यवसायीलाई देखिएको छ ।

त्यस्ता ऋणीले अब २०८० असारदेखि २०८२ असार (२ वर्ष) सम्म पाँच किस्तामा ऋण समायोजन गर्न सक्ने छन् ।

यसरी समायोजन गर्दा पहिलो वर्ष २०८० असार सम्ममा सीमाभन्दा बढी हुने कर्जा रकमको १० प्रतिशत कर्जा भुक्तानी गर्नुपर्नेछ । त्यसपछि २०८० पुसमा २० प्रतिशत, २०८१ असारमा २० प्रतिशत, २०८१ पुसमा २० प्रतिशत र २०८२ असारमा ३० प्रतिशतका दरले भुक्तानी गर्नुपर्ने व्यवस्था छ ।

चाँलू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ लागू भएको मिति कात्तिक १ गते पहिले प्रवाह भएका चालू पूँजीकर्जाहरूलाई मार्गदर्शनअनुसार पहिलो पटक पुनरावलोकन वा नवीकरण गर्नुपर्दा मार्गदर्शनले तोकेको सीमाभन्दा बढी कर्जा प्रवाह भएको अवस्थामा त्यस्तो रकमलाई २०८२ असार मसान्तसम्म भुक्तान गरी सीमाभित्र ल्याउनुपर्नेछ ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले यसले व्यवसायीमा केही राहत दिएको जनाएका छन् । यद्यपि पहिलो किस्ता तिर्न अझै समस्या नै रहेको उनको भनाइ छ ।

अल्पकालीन अवधिको कर्जा नवीकरण भने नहुने भएको छ । चालू पूँजी प्रयोजनको स्थिर प्रकृतिको आवधिक कर्जालाई ३ देखि १० वर्ष अवधिमा बैंकहरुले वर्र्गीकरण गरेर प्रवाह गर्न सक्ने व्यवस्था भएको छ । चालू पूँजी कर्जा लिन ५ वर्षको वित्तीय विवरण चाहिने व्यवस्थालाई झारेर अब ३ वर्षको वित्तीय विवरण भए पुग्ने भएको छ ।

१ करोड रूपैयाँसम्मको चालू पूँजी कर्जा लिँदा भने मार्गदर्शनमा भएको व्यवस्था लागू हुने छैन । यसअघि यो ५० लाख रूपैयाँसम्मको सीमामा मार्गदर्शनको अवस्था लागू नहुने बनाइएको थियो ।

अर्थमन्त्री विष्णु पौडेल आउनेवित्तिकै व्यवसायीलाई मन्त्रालयमै बोलएर गभर्नरसमेतको उपस्थितिमा समस्या सुनेका थिए । समाधानको आश्वासन पनि दिएका थिए । सोमबारमात्रै गर्भनर महाप्रसाद अधिकारीले उद्योगी व्यवसायीको छाता संगठनका अध्यक्षले राष्ट्र बैंकमै बोलाएर सुझाव मागेका थिए ।

व्यवसायीहरूले चालू पूँजी कर्जा स्थगनको माग गरेका थिए । अघिल्लो सरकार हुँदा यो विषयमा प्रवेश नै गर्न नचाहेको राष्ट्र बैंक अन्तत: युटर्न हुँदै संशोधन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *