यी हुन् प्रदेश १ का सम्भावित सभामुख – Nepal Press

यी हुन् प्रदेश १ का सम्भावित सभामुख

विराटनगर । प्रदेश १ मा सरकार गठनको काउन्डाउन सुरु भएपनि सत्ता गठबन्धन दलमा भागबण्डामा कुरा नमिल्दा सभामुख चयनको प्रक्रिया भने अन्योल बनेकाे छ ।

प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्रमा सभामुख र उपसभामुख चयन गरिसक्नु पर्ने भएपनि सत्तामा जाने दलहरूकाबीचमा बाँडफाँट नमिल्दा प्रक्रिया शुरु हुन नसकेको हो ।

संविधानको धारा १८२ को उपधारा (१) अनुसार प्रदेश सभाका सभामुख र उपसभामुखको चयन प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र गर्ने व्यवस्था छ ।

प्रदे १ प्रदेश सभाको पहिलो बैठक गएको आइतबार नै बसेको थियो । पहिलो बैठक बसेको एक साता बित्न लाग्दा पनि सत्ता समीकरणमा गएका एमाले, माओवादी राप्रपा र जसपाकाबीचमा सभामुख कुन पार्टीको बन्ने भनेर टुंगो लाग्न सकेको छैन ।

माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले मुख्यमन्त्री, सभामुख र उपसभामुख को बन्ने भन्ने टुंगो शीर्ष नेताहरूले लगाउने भएकाले प्रदेश तहमा छलफल नभएको बताए ।

प्रदेश १ को सभामुखमा एमाले र माओवादी दुवै दलले दाबी गर्दै आएका छन् । दुवै दलले दाबी गरे पनि अहिले भागबण्डा भई नसकेको एमाले पोलिटब्युरो सदस्य तथा प्रदेश सभा सदस्य तीलविक्रम मेन्याङ्वोले बताए ।

उनले अहिले सम्म यो पार्टीको भागमा सभामुख उपसभामुख भन्ने निर्णय आई नसकेको बताए ।

प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा एमालेले पोलिटब्युरो सदस्य तथा ताप्लेजुङ प्रदेशसभा निर्वाचन क्षेत्र (१) बाट निर्वाचित तिलकुमार मेन्याङ्बोलाई सभामुखका रूपमा अघि सार्ने देखिएको छ ।

सुरुमा एमालेबाट संविधानसभाका सदस्य तथा प्रदेश सभा सदस्य रेवती रमण भण्डारीलाई सभामुखको रूपमा अघि सारेको थियो । तर, भण्डारीले सभामुख नबन्ने बताएपछि मेन्याङ्वोको नाम अघि सारेको श्रोतले बताएको छ ।

मेन्याङ्वोबाहेक इलामका राम रानाको समेत एमाले भित्र सभामुख बन्ने चर्चा रहेको छ । मेन्याङ्वोले पार्टीले दिएको जुनसुकै भूमिका निभाउन आफू तयार रहेको बताए ।

रानाले पार्टीले दिएको जुनसुकै जिम्मेवारी निभाउन आफू तयार रहेको बताए । उनले भने, ‘अहिले तीनजना साथीहरूको नाम चर्चामा छ । तीमध्ये कसलाई अघि सार्छ अहिले टुंगो लागेको छैन ।’

सभामुख र उपसभामुख चयन गर्दा दुईमध्ये एकजना महिला हुनुपर्ने व्यवस्था धारा १८२ को (२) मा उल्लेख छ ।

नयाँ सत्ता गठबन्धनभित्रको दोस्रो दल माओवादी केन्द्रलाई उपसभामुख दिने गरी एमाले नेताहरूले सहमतिको प्रयास जारी राखेका छन् । तर, माओवादीले भने सभामुख पाउनु पर्ने भन्दै अडान राखेको छ ।

सभामुख दाबी गरेको माओवादीभित्रबाट संखुवासभा १ (१) बाट निर्वाचित राजेन्द्र कार्की र समानुपातिक प्रदेश सभा सदस्य गीता तिम्सिनामध्ये एकजना सभामुख हुने माओवादीका नेताहरू बताउँछन् ।

सत्ता साझेदार दलमध्ये राप्रपाको भागमा प्रदेश १ को सभामुख परे समानुपातिक सांसद अम्बरबहादुर विष्ट हुने राप्रपा संसदीय दलका नेता भक्ति सिटौलाले बताए ।

प्रदेश १ मा एमाले, माओवादी ,राप्रपा र जसपाको संयुक्त सरकार बन्ने छ । यसका लागि तयारी भइरहेको सिटौलाले बताए ।

प्रदेशसभा सचिवालयले भने प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गरिसक्नु पर्ने व्यवस्थाअनुसार सभामुख चयनको आन्तरिक तयारी सुरु गरेको जनाएको छ ।

प्रदेशसभा नियमावली (पहिलो संशोधन) २०७५ लाई आइतबार बसेको प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठकले अंगीकार गरिसकेका कारण सचिवालयले सभामुख र उपसभामुख चयनको बाटो खुलेको हो ।

प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले सभामुख र उपसभामुखको निर्वाचनका लागि कानुन अनुसार प्रक्रिया सुरू भएको बताए ।

उनले सभामुख र उपसभामुखको निर्वाचन एकै पटक नहुने भएकोले प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्रै प्रक्रिया अघि बढाउन प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुबीच सर्वदलीय बैठक बोलाउने तयारी गरिएको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर