जसपा र नेकपा एसबीच एकताको गृहकार्य, यसरी बन्नसक्छ प्रतिनिधिसभाको चौथो शक्ति – Nepal Press

जसपा र नेकपा एसबीच एकताको गृहकार्य, यसरी बन्नसक्छ प्रतिनिधिसभाको चौथो शक्ति

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकताको विषयबारे गृहकार्य अघि बढेको छ।

मंसिर ४ मा भएको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनबाट सोचेजस्तो नतिजा नआएपछि दुई पार्टीले एकता गरेर अघि बढ्नेबारमा छलफल थालेको हो ।

पार्टीको आगामी यात्राको बिषयमा नेकपा एसले चारदिनसम्म स्थायी कमिटी र पोलिटब्यूरो बैठकमा छलफल गरेको छ। जसपाको पनि राजनीतिक समितिको बैठकमा यसबारे छलफल भइरहेको छ ।

दुई पार्टीबीच यसअघि एकताको चर्चा चलेपनि सोमबारको पोलिटब्यूरो बैठकपछि नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले त्यसबारे पुष्टि गरे ।

जसपासँगको एकताबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले भनेका थिए, ‘जसपासँगको एकताको विषयमा हामी छलफलमा छौँ ।’

त्यसो त केही दिनअघि जसपाका प्रवक्ता मनीष सुमनले पनि नेकपा एससँग एकता भए आश्चर्य मान्नुपर्ने कुनै कारण नभएको अभिव्यक्ति दिएका थिए ।

जसपासँगको एकताको चर्चा चलिरहेको बेलामा नेकपा एसले आज औपचारिक रुपमा वामपन्थी एकताको पहल गर्ने निर्णय गरेको छ ।

बैठकपछि प्रवक्ता खतिवडाले भने, ‘हामी वामपन्थी एकताको पक्षमा छौँ । त्यसका लागि आवश्यक निर्णय र गृहकार्य गर्ने जिम्मा पोलिटब्यूरोले सचिवालयलाई दिइएको छ । जसपासहित सबै वामपन्थी शक्तिलाई एकजुट बनाउन पहल गछौँ ।’ शुक्रबार मात्रै जसपा र नेकपा एसको सहकार्यको विषयमा झलनाथ खनाल र उपेन्द्र यादवबीच भेटवार्ता भएको थियो । प्रवक्ताले जसपाको एकताबारे छलफल भइरहेपनि नेकपा एसका अर्का नेता भविसोर पराजुली अहिले एकता विषयमा कुरा अघि नबढेको बताउँछन् ।

अनौपचारिक बहस भएपनि औपचारिक रुपमा कुरा अघि नबढेको नेकपा एसका अर्का एक नेता बताउँछन् । ती नेता भन्छन्, ‘अहिलेसम्म एकताको विषयमा छलफल भएजस्तो मलाई लागेको छैन । बैठकमा आधिकारिक रुपमा त्यो कुरा आएको छैन । म अध्यक्षसँग निरन्तर संवादमै छु । उपेन्द्रजीसँग हाम्रो सम्मानित नेताको भेट भएको हो । तर, एकताको विषयमा होइन ।’

झलनाथ र उपेन्द्रबीच आइतबारको भेटमा अझै वामपन्थीहरु मिले संसदमा १३९ मत पुग्ने देखिएकाले कसरी अगाडि बढ्ने भन्नेबारे छलफल भएको ती नेताको दाबी छ ।

भेटबारे ती नेताले भने, ‘वामपन्थीहरु मिले संसदमा १३९ मत पुग्छ । त्यो सम्भावना हामीसँग छ कि छैन त्यसमा प्रचण्ड र ओलीलाई ल्याउन सकिने अवस्था छ कि छैन ? भन्नेबारेमा छलफल भएको हो ।’

दुई नेताबीच राष्ट्रपति चयनको पदभारको विषयमा पनि आन्तरिक छलफल भएको सुनाए । नेता खनाल र अध्यक्ष यादव दुवै प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएका हुन् । उनीबीच राष्ट्रपति र उपराष्ट्रपति चयन भएपछि रिक्त स्थानमा उपनिर्वाचनबाट संसदमा कमब्याक गर्ने रणनीति रहेको चर्चा छ ।

यस्तै, जसपाले पनि आजै मात्रै विचार मिल्ने शक्तिहरुसँग पार्टी एकताको लागि वार्ता समिति गठन गरेको प्रवक्ता मनिष सुमनले बताए । उनका अनुसार वार्ता समितिमा राजेन्द्र श्रेष्ठ, रकम चेम्जोंग र गोविंद चौधरी रहेको बताए ।

नेकपा एससँग पनि पार्टी एकताको तयारी हो भन्ने नेपाल प्रेसको जिज्ञासामा उनले भने, ‘हामीले कुनै पार्टीलाई तोकेर निर्णय गरेका होइनौँ । विचार मिल्नेसँग सहकार्य र एकता गछौँ। उहाँहरुसँग पनि सामान्य छलफल भइरहेको छ ।’

जसपा र नेकपा एसबीच पार्टी एकता भए संसदको चाैथाे दलकाे रुपमा स्थापित हुनेछ । अहिले जसपाको १२ र नेकपा एसको १० सीट छ। जसपाले प्रत्यक्षमा ७ र समानुपातिकमा ५ सीट जितेको भएपनि नेकपा एस भने थ्रेसहोल्ड कटाउन सकेन ।

तीन लाख मत नल्याएर राष्ट्रिय दल नबनेपछि नेकपा एसलाई चुनौति बनेको छ। कतिपयले एमालेबाट अलग हुनुको औचित्य पुष्टि गर्न नकसकेको टिप्पणी गर्ने गरेका छन् ।

तर, प्रवक्ता खतिवडा भन्छन्, ‘पार्टी फुटको औचित्य कुनै बैठकले पुष्टि गर्ने होइन। हामी अहिले पनि वाम एकताको पक्षमा छौँ । त्यस दिशामा विभिन्न समूहसँग छलफल र सहकार्य गरेर पार्टीं निर्माणमा लाग्छौँ ।’

दुई पार्टीबीच एकता भएर रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई उछिनेर चौथो पार्टी बन्नेछ । रास्वपाले २० सीट जितेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर