श्रींलकाको अर्थतन्त्र अहिले कस्तो छ ? (तथ्यांकसहित) – Nepal Press

श्रींलकाको अर्थतन्त्र अहिले कस्तो छ ? (तथ्यांकसहित)

काठमाडौ । विदेशी मुद्रा सञ्चितिकै कारण टाट पल्टेको श्रीलंकाको अर्थतन्त्र अहिले कस्तो छ भन्ने चासोको सम्बोधन श्रीलंकाको केन्द्रीय बैंकले प्रकाशन गरेको तथ्यांकले गरेको छ ।

श्रीलंकाको विदेशी मुद्रा सञ्चितिको चाप अझै कायमै रहेको देखिएको छ । यद्यपी अघिल्लो महिनाको तुलनामा भने सुधार देखिएको छ । सेन्ट्रल बैंक अफ श्रीलंकाको पछिल्लो तथ्यांकले अहिले श्रीलंकासँग १ अर्ब ८० करोड ६ लाख अमेरीकी डलर सञ्चिति रहेको देखाउँछ । यो केन्द्रीय बैंकसँग भएको सञ्चिति मात्र हो । केन्द्रीय बैंकको सञ्चितिलाई आधिकारिक सञ्चिति मानिदै आएको छ ।

जबकी गत वर्ष यसै अवधिमा (सन २०२१ नोभेम्बर) केन्द्रीय बैंक सँग १ अर्ब ५८ करोड डलर सञ्चिति थियो । २०२२ को अक्टोबरमा यस्तो मुद्रा केन्द्रीय बैंकसँग १ अर्ब ७० करोड अमेरिकी डलर रहेको तथ्यांक श्रीलंकाको केन्द्रीय बैंकसँग छ । अहिले अघिल्लो महिनाको तुलनामा १० करोड डलरले सञ्चिति बढेको देखिन्छ ।

२०२२ मा विदेशी मुद्रा सञ्चितिको अवस्था

नोभेम्बर – १ अर्ब ८० करोड ६ लाख अमेरिकी डलर
अक्टोबर – १ अर्ब ७० करोड अमेरिकी डलर
सेप्टेम्बर – १ अर्ब ७७ करोड अमेरिकी डलर
अगस्ट – १ अर्ब ७१ करोड अमेरिकी डलर
जुलाई – १ अर्ब ८१ करोड अमेरिकी डलर
जुन – १ अर्ब ८५ करोड अमेरिकी डलर
मे – १ अर्ब ८८ करोड अमेरिकी डलर
अप्रिल – १ अर्ब ८१ करोड अमेरिकी डलर
मार्च – १ अर्ब ९१ करोड अमेरिकी डलर
फेब्रुअरी – २ अर्ब ३१ करोड अमेरिकी
जनवरी – २ अर्ब ३६ करोड अमेरिकी डलर

सन २०२१ को डिसेम्बरमै ३ अर्ब भन्दा बढी डलर सञ्चिती रहेको श्रीलंकाको सञ्चितिको अवस्था विस्तारै खस्कँदै गएको देखिन्छ ।

सन २०२० मा श्रीलंकासँग साढे ५ अर्ब रुपैयाँ भन्दा बढी विदेशी मुद्रा सञ्चिति थियो । त्यसको ठिक एक वर्ष अघिसम्म पनि श्रीलंकासँग साढे ७ अर्ब बढी डलर सञ्चिति रहेको केन्द्रीय बैंकले बताएको छ । अहिले अमेरिकी १ डलरसँगको विनिमय दर (खरिद) .३६० श्रीलङ्का रूपैयाँ छ ।

सेन्ट्रल बैंक अफ श्रीलंकाले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार श्रीलंकामा अहिले महंगी ६५ प्रतिशत छ । खाद्य मुद्रास्फिति ७३.७ प्रतिशबाट घटेर ६४.४ प्रतिशतमा झरेको छ । गैरखाद्य तर्फको महंगी पनि साढे ५४ प्रतिशतबाट झरेर ५३.४ प्रतिशतमा झरेको छ । कोर मुद्रास्फिति ४९.४ प्रतिशतबाट ४७.७ प्रतिशतमा झरेको छ ।

मुद्दती निक्षेपको औसत भारित ब्याजदर १८.५ प्रतिशत, कर्जाको औसत भारित ब्याजदर .२८ प्रतिशत छ । स्थायी निक्षेप सुविधा दर १४.५० प्रतिशत, स्थायी ऋण सुविधादर १५.५० प्रतिशत छ । केन्द्रीय बैकको बैंकदर ३०.२ प्रतिशत छ ।
सन् २०२२ को सुरुदेखि नै विदेशी मुद्राको सञ्चितिमा चाप परेको श्रीलंकामा राजनीतिक कारणले पनि थप मलजल गरेको थियो ।

कोभिड महामारीले थलिएको श्रीलंकन अर्थतन्त्र रुस–युक्रेन युद्धका कारण झनै प्रभावित बन्न पुगेको थियो । राजपाक्ष सरकारले चुनावका दौरान धेरै सस्ता लोकप्रिय कार्यक्रमहरूको घोषणा गरेको र करका दरहरूमा व्यापक कटौती गरी जनतालाई ठूलो राहत दिने कार्यक्रमहरू घोषणा गरेको थियो ।

यसकै कारण सन २०१९ को राष्ट्रपति निर्वाचन र २०२० को संसदीय निर्वाचन वर्तमान राष्ट्रपति गोताबाया राजपाक्षको पार्टीले अत्यधिक बहुमतले जित्यो । ऋणको भारमा चलेको श्रीलंकाको नेतृत्वले आम्दानीको स्रोत नहेरी ल्याएको लोकप्रिय कार्यक्रमकै कारण देशको आर्थिक अवस्था झन संकटमा पर्न गएको विश्लेषण छ ।

श्रीलंककाको पछिल्लो आर्थिक अवस्थाले विश्वलाई नै पाठ सिकाएको छ । नेपालको खस्कँदो आर्थिक अवस्थालाई पनि श्रीलंकन पथमा पुगेको भन्दै व्यापक आलोचना भएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *