विकास खर्च बढाउन परिसंघले गर्‍यो उपप्रधानमन्त्री श्रेष्ठको ध्यानाकर्षण – Nepal Press

विकास खर्च बढाउन परिसंघले गर्‍यो उपप्रधानमन्त्री श्रेष्ठको ध्यानाकर्षण

काठमाडौं । नेपाल उद्योग परिसंघले नवनियुक्त उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेको छ । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिँदै विकास खर्च बढाउन आग्रह गरेको छ ।

परिसंघका अध्यक्ष अग्रवालले पूर्वाधार क्षेत्रमा लगानीको आवश्यकतामा जोड दिँदै विकास खर्च बढाउन आग्रह गरेका हुन् ।

पूर्वाधारमा कम लगानी भएको, विकास खर्च कम हुँदा समग्र पूर्वाधार उद्योगमा सुस्तता आएको उनले बताए । पूर्वाधार क्षेत्रमा सुस्तता आउँदा निर्माण व्यवसायीसहित निर्माणसँग सम्बन्धित सबै क्षेत्रमा मन्दी आएको अध्यक्ष अग्रवालले जानकारी दिए ।

अध्यक्ष अग्रवालले निर्माण व्यवसायीहरुलाई गर्नुपर्ने भुक्तानी रकम छिटो दिन अर्थ मन्त्रालयसँग समन्वय गर्न, विकास खर्च बढाउन एवं बजेट छुट्याएर विकास परियोजना छिटो सम्पन्न गर्नेतर्फ ध्यान दिइनुपर्ने सुझाव दिए ।

परिसंघले अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न वित्तीय क्षेत्र (तरलता संकट तथा उच्च ब्याजदर), औद्योगिक प्रवर्द्धन, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै तत्काल गर्न सकिने उपायसमेत सुझाएको छ ।

परिसंघको बधाई तथा अर्थतन्त्र सुधारका सुझाव ग्रहण गर्दै उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री श्रेष्ठले अर्थतन्त्र सुधारका लागि परिसंघको सुझाव महत्वपूर्ण रहेको बताए । उनले समस्याहरुको समाधान गर्दै अगाडि बढ्ने जानकारी दिए ।

‘जहाँ समस्या छन् समाधान गर्ने र जहाँ कमजोरी छन् त्यसलाई सच्चाउने हो । जहाँ छुट दिनै नसकिने छ त्यहाँ आवश्यक इन्टरभेन्सन गर्ने प्रक्रियामा अगाडि बढ्नेछौं’, उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री श्रेष्ठले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *