प्रदेश १ सभामा झापालीको ‘मिनीसभा’ – Nepal Press

प्रदेश १ सभामा झापालीको ‘मिनीसभा’

विराटनगर । प्रदेश १ को प्रदेशसभामा झापाबाट मात्रै २० जना प्रदेशसभा सदस्यले प्रतिनिधित्व गरेका छन् । १४ जिल्ला रहेको प्रदेशमा झापाबाट मात्रै २० जना प्रदेश सदस्यले प्रदेश सभामा प्रतिनिधित्व गर्दा प्रदेश सभा भवनमा झापालीको मिनी सभा हुने देखिएको छ ।

झापामा प्रदेशसभाका १० वटा निर्वाचन क्षेत्र छन् । त्यहाँबाट निर्वाचित भएर १० जना प्रदेश सदस्य प्रदेश १ को प्रदेशसभामा आएका छन् । यस्तै झापाबाट थप १० जना प्रदेश सभा सदस्य समानुपातिक तर्फबाट आएका छन् । प्रदेशको समानुपातिक तर्फ एमाले, काँग्रेस र राप्रपाले झापाबाट तीन–तीन जनालाई प्रदेश सभा सदस्य बनाएका छन् । माओवादी केन्द्रले पनि झापाबाटै समानुपातिक तर्फबाट १ जना प्रदेश सभा सदस्य बनाएको छ ।

एमालेबाट प्रदेशसभा समानुपातिक तर्फबाट झापाका कमला थापा मगर, तारादेवी ढकाल र नम्बरलाल धिमाललाई प्रदेश सभा सदस्य बनाएको छ । एमालेले प्रदेश १ प्रदेशसभामा १५ जना सांसद समानुपातिक तर्फबाट पाएको छ । १२ जना सांसद पाएको काँग्रेसले झापाबाट उद्धव थापा, मोहन महर्जन र लखिकुमारी गणेशलाई प्रदेश सभा बनाएको छ ।

प्रदेश १ मा ४ जना समानुपातिक सांसद पाएको राप्रपाले झापाका ३ जनालाई प्रदेश सभा सदस्य बनाएको छ । राप्रपाले निमसरी राजवंशी, अम्बरबहादुर विष्ट र गोपालबहादुर विश्वकर्मालाई प्रदेश सभा सदस्य बनाएको हो । ४ जना समानुपातिक सांसद पाएको माओवादी केन्द्रले पनि झापाकी बन्दना झाँगडलाई प्रदेशसभा सदस्य बनाएको छ ।

प्रत्यक्ष तर्फबाट झापा क्षेत्र नम्बर १(१) बाट नेपाली कांग्रेसका गोपाल तामाङ र १(२)बाट राप्रपाकी सविना बजगाई, विजयी हुँदै प्रदेश सभा सदस्य भएका छन् । यस्तै क्षेत्रनम्बर २(१)बाट एमालेका एकराज कार्की र २(२)बाट तिलचन (चिन्तन) पाठक प्रदेश सभामा विजयी हुँदै प्रदेश सभामा आएका छन् ।

यस्तै ३(१)बाट कांग्रेसका भूमिप्रसाद राजवंशी र ३(२)बाट छविलाल चुँडाल विजयी भएका थिए । क्षेत्र नम्बर ४(१) एमालेका राधाकृष्ण खनाल र ४(२)बाट राप्रपाका भक्ति सिटौला प्रदेश सभा सदस्य भएका छन् ५ का दुवै क्षेत्रबाट एमालेका हिक्मत कार्की र होमबहादुर थापा बजयी हुँदै प्रदेश १ को प्रदेश सभामा निर्वाचित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर