हरिबोल प्रधानमन्त्रीको मुख्य सल्लाहकार बन्ने, वाईसीएल इन्चार्जलाई पनि सचिवालयमा राख्ने तयारी – Nepal Press

हरिबोल प्रधानमन्त्रीको मुख्य सल्लाहकार बन्ने, वाईसीएल इन्चार्जलाई पनि सचिवालयमा राख्ने तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा उपमहासचिव हरिबोल गजुरेललाई ल्याउने भएका छन् । प्रतिनिधिसभा सदस्यको टिकट नपाएपछि असन्तुष्ट नेता गजुरेललाई प्रचण्डले मुख्य सल्लाहकार बन्न आग्रह गरिसकेका छन् ।

सिन्धुली २ मा उनको टिकट बाहुबली नेता राजन दाहाल (लेखनाथ)ले खोसेका थिए । तत्कालीन नेकपामा हुँदा गजुरेलले प्रचण्डलाई माधव नेपाल र झलनाथ खनालहरुको उक्साहटमा नलागी केपी ओलीसँग मिलेर काम गर्न सुझाएका थिए । त्यसपछि प्रचण्ड आफूप्रति नकारात्मक बनेको गजुरेलले बताउने गरेका छन् ।

यसपटक टिकटका लागि प्रदेश कमिटीबाट सिफारिस भए पनि राजन दाहालले हुलहुज्जत गरेर प्रचण्डलाई दबाबमा पारेको आरोप गजुरेलको छ । उपराष्ट्रपति बन्न अस्वीकार गरेका गजुरेलले प्रचण्डसँग पार्टीकै कार्यकारी भूमिका माग गरेका थिए । तर, प्रचण्डले उनलाई मुख्य सल्लाहकार बन्न भनेका छन् ।

सरकारले विश्वासको मत लिएर मन्त्रिपरिषदले पूर्णता पाएपछि गजुरेलको नियुक्ति हुने बताइएको छ । मन्त्रीसरहको सुविधा पाउने गरी गजुरेल प्रचण्डको सल्लाहकार बन्न तयार रहेको बताइएको छ ।

उता वाईसीएल इन्चार्जसमेत रहेका नेकपा माओवादी केन्द्रका युवा नेता रामप्रसाद सापकोटा (दीपशीखा)ले पनि यसपटक प्रधानमन्त्रीको सचिवालयमा जिम्मेवारी पाउने भएका छन् । समकालीन नेताहरु सांसद र मन्त्री बने पनि सापकोटाले अहिलेसम्म संसदीय भूमिका पाएका छैनन् ।

उनी यसपटक भक्तपुर २ बाट चुनाव लड्न चाहन्थे । प्रचण्डका सदाबहार सहयोगी सापकोटा कुनै वेला चुनावी कमाण्डरसमेत थिए । प्रचण्डको सचिवालयमा बसेर राम्रो काम गर्ने भूमिका पाए आफू त्यसका लागि तयार रहेको उनले प्रधानमन्त्रीको स्वकीय सचिव गंगा दाहालमार्फत सन्देश पठाएका छन् ।

प्रधानमन्त्रीको सचिवालयमा अहिले औपचारिक रुपमा कसैले नियुक्ति पाएका छैनन् । यसपटक प्रधानमन्त्रीको सचिवालय चुस्त र कामकाजी बनाउने तयारी छ । सकेसम्म सातै प्रदेशबाट प्रधानमन्त्रीको सचिवालयमा एकएक जना समेट्ने सम्भावना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर