पेलेका विवाद: तानाशाहलाई ‘सफ्ट समर्थन’, छोरीलाई अस्वीकारदेखि गोलको ‘गोलमाल’सम्म – Nepal Press

पेलेका विवाद: तानाशाहलाई ‘सफ्ट समर्थन’, छोरीलाई अस्वीकारदेखि गोलको ‘गोलमाल’सम्म

काठमाडौं । बिहीबार देहत्याग गरेका ब्राजिलका महान खेलाडी पेलेका समाचारले विश्वभरका मिडिया कन्टेन्टहरु भरिभराउ छन् । उनका फुटबल रेकर्डहरुदेखि उनको खेल क्षेत्रको उचाइसम्मका बारेमा धेरै चर्चाहरु आइसकेका छन् । विश्व फुटबलमा एक महान मानक बनेर ८२ वर्षको उमेरमा बिदा भएका पेलेको सकारात्मकसँगै नकारात्मक चर्चाहरु पनि अहिले आएका छन् । यो सामग्रीमा पेलेका विवादका पक्षहरुमा केही घटनाहरुको चर्चा गरिएको छ ।

तानाशाहलाई ‘सफ्ट समर्थन’

पेले विश्व फुटबलका एक महान खेलाडी हुन् । योबारेमा कुनै विवाद छैन । पेले ब्राजिल चिनाउने विश्व विम्ब पनि हुन् । यसमा पनि कुनै विवाद छैन । योसँगै पेले ब्राजिलको तानाशाहका सफ्ट समर्थक हुन् । यसबारेमा पेलेको खूब विवाद हुने गरेको छ । सन् १९६४ देखि १९८५ सम्म २१ वर्ष ब्राजिलमा सैन्य तानाशाहले शासन गरेको थियो । त्यो समयमा सन् १९६६ र १९७० मा पेलेले विश्वकप जिताएका थिए । तानाशाहले सत्ता लिएको समयमा देश र जनता अनि लोकतन्त्रले दुःख पाएकोबारे केही नबोली सफ्ट समर्थन गरेको उनलाई आरोप छ । सन् २०२१ मा बनेको एक डकुमेन्ट्रीमा पेलेले यस बारेमा प्रस्टीकरण दिन चाहेका थिए । उनले भनेका थिए, ‘मलाई लाग्छ मैले केही गर्न सक्ने थिइनँ । म ब्राजिलियन हुँ र मैले ब्राजिललाई के गर्दा उत्कृष्ट हुन्छ त्यही गरें । म पूर्ण रुपमा विश्वस्त छु कि तलबी नेताहरुभन्दा मैले ब्राजिललाई फुटबल र मेरो जीवन पद्धतिबाट धेरै गरेको छु ।’

तानाशाहकालमा मात्रै होइन सन् २०१४ मा ब्राजिलमा भएका व्यापक विरोध प्रदर्शनमा पनि पेले आलोचित भएका थिए । प्रदर्शनकारीहरुमाथि प्रहरीले ज्यादती गरेकोमा उनले हल्का टिप्पणी गर्दै भनेका थिए, ‘प्रदर्शनहरु बिर्सेर राष्ट्रिय टोलीलाई समर्थन गरौं ।’

छोरीलाई अस्वीकार झेल्नुपर्‍यो मुद्दा मामिला

सान्द्रा आरान्तेस दो नासिमेन्तो पेलेकी दुःखी छोरी हुन् । उनले पेलेकी छोरी हुन मुद्दा मामिला र डीएनए टेस्टसमेत गराउनुपरेको थियो । सन् १९९१ मा मुद्दा हालेर सन् १९९३ मा उनको पक्षमा फैसला आएको थियो । तैपनि पेलेले उनलाई कुनै महत्व दिएनन् । ‘राजाले नचाहेकी छोरी’ नामक उनले एक पुस्तक नै लेखेकी थिइन् । ब्राजिलमा पेलेलाई ‘राजा’ भन्ने गरेकाले उनले ‘राजा’ शब्द प्रयोग गरेर पुस्तक लेखेकी थिइन् । ज्यूँदो हुँदामात्रै हैन मरेपछि पनि सान्द्रालाई पेलेले वास्ता गरेनन् । सन् २००६ मा स्तन क्यान्सरले ४२ वर्षमा उनको ज्यान जाँदा पेले मलामीसम्म गएनन् । पेले र घरेलु कामदार एनिजिया माचादोको सन्तानको रुपमा सान्द्रा जन्मेकी थिइन् ।

पेले प्लेब्वाइ जस्तै भएको धेरैको आरोप छ । उनका तीन पत्नी थिए । सबैभन्दा पछिल्लोपटक सन् २०१६ मा ७२ वर्ष हुँदा उनले ४२ वर्षकी व्यापारी महिलासँग बिहे गरेका थिए । सन्तानहरु धेरै भएकोबारेमा पेलेले एक नेट्फिक्स् डकुमेन्ट्रीमा आफ्ना कति सन्तान छन् भन्नेबारेमा कुनै जानकारी नभएको जस्तो भद्दा ठट्टा गरेका थिए ।

गोलमाथि नै गोलमाल

पेलेलाई सबैभन्दा धेरै गोल गरेको खेलाडी भन्ने गरिन्छ । उनी पनि बाँचुञ्जेल तीन विश्वकप जिताएको र सबैभन्दा धेरै गोल गरेको भन्दै आएका थिए । तर, पेलेले लाएको गोल संख्या नै विवादमा छ । विश्वका विभिन्न निकायबाट विभिन्न खालका तथ्यांकहरु उनको गोलमा आउने गरेका छन् । जस्तै फिफाले १३६३ खेलमा १२८१ गोल गरेको तथ्यांक दिन्छ भने गिनिज बुक अफ वर्ल्ड रेकर्डस्ले भने १३६३ खेलमा १२७९ गोल गरेको भन्छ ।

यस्तै पेलेले लामो समय खेलेको ब्राजिलको सान्तोस क्लबले भने १३६५ खेलमा १२८१ गोल गरेको भन्दै आएको छ । यत्तिमात्रै होइन पेलेले गरेको गोलको महत्ताबारेमा पनि विवाद छ । अमेरिकी समाचार संस्था एपीका अनुसार पेलेले ५५० अनअफिसियल खेल खेलेका थिए । जसमा साउदी अरबको २३ वर्षमुनिको राष्ट्रिय टोलीदेखि उरुग्वेको सैन्य क्लबसम्म पर्छन् । भारतीय विश्व च्यानल विओनका अनुसार पेलेले सेमिप्रोफेसनल र जुनियर टोलीलाई गरेका ५०० गोल घटाएर अफिसियल खेलको मात्रै गोल जोड्ने हो भने उनको गोल संख्या ८०० हुन आउँछ । त्यो भनेको क्रिश्चियानो रोनाल्डो र मेस्सीको भन्दा थोरै हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर