प्रदेश १ मा माओवादीले मुख्यमन्त्रीको अत्तो थाप्दा भएन सरकार गठनको दाबी – Nepal Press

प्रदेश १ मा माओवादीले मुख्यमन्त्रीको अत्तो थाप्दा भएन सरकार गठनको दाबी

केन्द्रको औपचारिक निर्णय पर्खंदै एमाले र माओवादी

विराटनगर । माओवादीले प्रदेश १ मा मुख्यमन्त्रीको अत्तो थाप्दा प्रदेश १ मा सरकार गठनको प्रक्रिया लम्बिएको छ । प्रदेश प्रमुख परशुराम खापुंगले प्रदेश १ मा सरकार गठनका लागि बहुमत पुर्याएर आउन दलहरुलाई पुस २४ गते सम्मको समय सीमा दिएका छन् ।

एमाले माओवादीसहित नयाँ गठबन्धनको बहुमत पुगेपनि मुख्यमन्त्रीको दावी माओवालीले नछाड्दा सरकार गठनको प्रक्रिया लम्बिएको हो । माओवादी प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आंवोले माओवादीको मुख्यमन्त्रीमा शसक्त दाबी रहेकाले सरकार गठनको प्रक्रिया लम्बिएको बताए ।

माथिबाट मुख्यमन्त्री कसको भागमा भन्ने निर्णय आइसकेको छैन । उनले भने मुख्यमन्त्रीको विषय प्रदेश तहमा नमिल्ने भएकाले सरकार गठनमा माथिको आदेश पर्खिएर बसेका छौ । आंवोले प्रदेश १ मा मुख्यमन्त्री कसले पाउने भन्ने निर्णय आइनसकेको भनेपनि शीर्ष नेताहरुका बीचमा प्रदेश १ को मुख्यमन्त्री एमालेको भागमा पर्ने समझदारी भएको समाचार आएको छ ।

एमाले संसदीय दलका नेता हिक्मत कार्कीले राप्रपाले समेत औपचारिक रुपमा सरकारमा जाने विषयमा केही नभनेकाले सरकार गठनमा ढिलाइ भएको बताए । उनले भने, ‘हामी एकीकृत समाजवादी, राप्रपा जसपासहितलाई सरकारमा लिएर जाने प्रक्रियामा छौं । यही प्रक्रियाले पनि बहुमत दावी गरेर प्रदेश प्रमुख समक्ष नगएका हौ ।’

माओवादीका आंवाले मुख्खमन्त्री, सभामुख उपसभामुख कुन दलले लिने भन्ने कुराको निर्णय केन्द्रबाटै हुने भएकाले कति मन्त्रालय लिने र कसले कुन मन्त्रालय लिने भन्ने विषयमा कुराकानी नै नभएको बताए । मुख्यमन्त्री र सभामुख टुंगो लागेपछि मन्त्रालय बाँटफाँटको विषयमा तत्काल प्रदेश तहमै कुरा मिल्ने उनले बताए ।

माओवादीका प्रदेशसभा सदस्यहरु भने प्रदेश १ को मुख्यमन्त्री एमालेले नै पाउने भएपनि औपचारिक निर्णय नआएकाले पखिर्एर बसेको बताँउछन् । एक प्रदेशसभा सदस्यले भने, ‘एमाले अध्यक्ष ओलीको प्रदेश त्यही माथि उहाँकै क्षेत्रको प्रदेश सभा सदस्य मुख्यमन्त्री हुने बेलामा माओवादीलाई मुख्यमन्त्री दिने कुरै आँउदैन तै पनि निर्णय भएर नआँउदा सरकार गठनको दावी लिएर जान सकिएको छैन ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर