सरकार नै बीमा क्षेत्रलाई ‘रिस्क ट्रान्सफर’ गर्न खोज्दैन, खबदारी जरुरी छ : प्राधिकरण अध्यक्ष सिलवाल – Nepal Press

सरकार नै बीमा क्षेत्रलाई ‘रिस्क ट्रान्सफर’ गर्न खोज्दैन, खबदारी जरुरी छ : प्राधिकरण अध्यक्ष सिलवाल

काठमाडौं । नेपाल बीमा प्राधिकरण र नेपाल आर्थिक पत्रकार संघ (नाफिज) बीच भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आर्थिक पत्रकाहरुको संगठन (नाफिज) को नवनिर्वाचित कार्यसमितिलाई स्वागत गर्दै प्राधिकरणले पुस १८ गते सोमबार संक्षिप्त अन्तरक्रिया गरेको हो ।

उक्त कार्यक्रममा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रको विकास र विस्तारका लागि आर्थिक पत्रकारहरुको भूमिका महत्वपूर्ण रहने बताउँदै आगामी दिनमा प्राधिकरणले पत्रकारहरुको क्षमता विकासको लागि वार्षिक कार्यक्रम नै बनाएर कार्यान्वयन गर्ने प्रतिबद्धता गरेका थिए । अध्यक्ष सिलवालले बीमाको दायरा र पहुँच विस्तारमा सरकार नै जिम्मेवार नभएको भन्दै त्यसको खबरदारी पत्रकारहरुले गर्नुपर्ने बताए ।

‘सरकारले आफ्नो सम्पत्तिकै बीमा गरेको छैन, बीमाको महत्व बुझेर सरकारले नै जोखिम ट्रान्सफर नगरेको अवस्थामा सर्वसाधारणलाई हामीले के उदाहरण दिने ?’ अध्यक्ष सिलवालले कार्यक्रममा भने, ‘सरकारलाई बीमा क्षेत्रप्रति आफ्नो जिम्मेवारी महसुस गराउन तपाईंहरुको महत्वपूर्ण भूमिका हुन्छ । त्यसमा आवश्यक समन्वय गर्न प्राधिकरण तयार छ ।’

आम जनमानसमा पनि बीमासम्बन्धी सही बुझाइ नहुँदा समस्या बढ्दै गएको उनको भनाइ छ । सरकारले मोटर बीमा अनिवार्य गरे जस्तै घर तथा सम्पत्ति बीमा पनि अनिवार्य गर्नुपर्ने उनले बताए ।

यसैगरी, सो कार्यक्रममा नाफिजका अध्यक्ष मोदनाथ ढकालले देशको आर्थिक विकासमा बीमा क्षेत्रको महत्वपूर्ण भूमिका रहने हुँदा बीमा कम्पनीहरुको लगानी विस्तारमा प्राधिकरणले थप सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्ने बताए ।

यस्तै, बीमा प्राधिकरणका प्रवक्ता तथा कार्यकारी निर्देशक राजुरमण पौडेलले चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म प्राधिकरणले गरेको सम्पूर्ण काम कारबाहीको बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *