सुदूरपश्चिममा को बन्ला मुख्यमन्त्री ? तीन दलबीच तीव्र रस्साकस्सी – Nepal Press

सुदूरपश्चिममा को बन्ला मुख्यमन्त्री ? तीन दलबीच तीव्र रस्साकस्सी

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारमा एमाले, माओवादीसँगै नागरिक उन्मुक्ति पार्टीले पनि दाबी गरिरहेको छ ।

अघिल्लो पटक नेकपा हुँदा एमालेको समर्थनमा माओवादीले पाँच वर्ष चलाएको भन्दै अहिले माओवादीको समर्थनमा एमालेले सरकार चलाउन पाउनु पर्ने दाबी गरिरहेको छ । यता माओवादी केन्द्रले भने सत्ता गठबन्धनको ठुलो दलको हैसियतमा आफूले सरकार चलाउन पाउनु पर्ने दाबी गरेको छ ।

५३ जना प्रदेश सभा सदस्य रहेको प्रदेश सभामा ७ जना मात्रै रहे पनि निर्णायक शक्ति हुँदा नागरिक उन्मुक्ति पार्टीले पनि सरकारको दाबी गरिरहेको छ ।

अहिले सम्म यी तिनै पार्टीले संसदीय दलको नेता पनि छनोट गरिसकेका छन् ।

एमालेबाट राजेन्द्र रावल,माओवादी केन्द्रबाट खगराज भट्ट र नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर चौधरी दलका नेता हुन् । गठबन्धन बाहिर रहेको नेकपा एकीकृत समाजवादीले पनि दलको नेता छनोट गरिसकेको छ । नेकपा एसको दलको नेता दीर्घ सोडारी हुन् । अहिले एमाले नेतृत्वको गठबन्धनमा रहेका ठुला यी तिनै दलले सरकारको दाबी गर्दा सहमति जुट्न सकेको छैन ।

‘अघिल्लो पटक हामीले माओवादीलाई समर्थन गरेका हौँ । अहिले माओवादीले हामीलाई समर्थन गर्नु पर्छ’ एमाले प्रदेश सचिव तथा प्रदेश सभा सदस्य धर्मराज पाठकले भने, ‘यस विषयमा हामी छलफल गरिरहेका छौँ ।’

एमालेले सरकारको नेतृत्व गर्ने अवस्था सृजना भए राजेन्द्र रावल मुख्यमन्त्री बन्ने छन् । उनी एमाले संसदीय दलको नेता हुन् ।

माओवादी केन्द्रले पनि आफ्नो नेतृत्वमा सरकार गठनका लागि प्रदेश इन्चार्ज समेत रहेका संसदीय दलका नेता खगराज भट्टलाई जिम्मा दिएको छ । आइतबार बसेको संसदीय दलको बैठकले भट्टलाई संसदीय दलको नेता चयन गर्दै सरकारको जिम्मेवारी लिनेबारे छलफल गर्ने जिम्मा पनि दिएको छ ।

‘हामीले सरकारको नेतृत्व पाउने सम्भावना अधिक छ यस विषयमा केन्द्रबाटै सहमति हुन्छ ’उनले भने ‘हामी पनि यहाँ यसको छलफल गरिरहेका छौँ ।’

माओवादी केन्द्रले सरकारको नेतृत्व गर्नुपर्ने अवस्था आए भट्ट नै मुख्यमन्त्री बन्नेछन् ।

यता नागरिक उन्मुक्तिले आफूहरू सहभागी नहुँदा सत्ता गठबन्धनमा सरकार बनाउन आवश्यक पर्ने संख्या नपुग्ने भएपछि मुख्यमन्त्रीको दाबी गरिरहेका छन् । उनीहरूले केन्द्रमा माओवादी नेतृत्वको सरकारलाई समर्थन गरे पनि प्रदेशमा भने त्यही गठबन्धनमा सहभागी हुने मात्रै विकल्प नरहेको बताएका छन् ।

सोमबार यस विषयमा केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ र प्रवक्ता दामोदर पण्डितले विभिन्न दलहरूसँग सरकार गठनका विषयमा छलफल गर्न लागेको स्रोतले बताएको छ ।

माओवादी केन्द्र वा एमालेले सरकारको नेतृत्व गर्ने चर्चा चलिरहेका बेला नागरिक उन्मुक्तिले कुनै गठबन्धनमा सहभागी नजनाउने भनेपछि मुख्यमन्त्री दिनुपर्ने बाध्यता आइलाग्न सक्ने विश्लेषण गरिएको छ ।

अहिले सम्म नागरिक उन्मुक्तिलाई प्रदेश प्रमुखमा मनाउने प्रयास जारी छ । प्रदेश प्रमुखमा नागरिक उन्मुक्ति समझदारीमा आए सुदूरपश्चिममा माओवादी वा एमालेको सरकार तयार हुन्छ ।

यस अघि प्रदेश १ गण्डकी र कर्णालीमा एमालेले सशक्त दाबी गरिरहेको छ । यो हुँदा सुदूरपश्चिम प्रदेश माओवादीको भाग लाग्छ सक्छ । माओवादीले सरकारको नेतृत्व गर्ने अवस्था सृजना भए खगराज भट्ट मुख्यमन्त्री बन्ने छन् । उनी माओवादी संसदीय दलका नेता हुन ।

नागरिक उन्मुक्तिले साथ नदिने अवस्थामा सुदूरपश्चिममा सरकार बनाउन एमाले नेतृत्वको सत्तारुढ गठबन्धनसँग बहुमत पुग्दैन । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेकपा एमालेका १०, नेकपा माओवादी केन्द्र का ११, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका १ जना प्रदेशसभा सदस्य छन्।

अहिलेको सत्ता गठबन्धनका ४ दल मिल्दा प्रदेश सांसदको संख्या २९ हुन्छ। सुदूरपश्चिम प्रदेशसभामा २७ जना सांसद सरकार गठनका लागि हुँदा सहज बहुमत पुग्छ।

प्रदेशसभामा सबैभन्दा ठूलो दल नेपाली कांगेसका १९, नेकपा एकीकृत समाजवादी का ४ र एक जना स्वतन्त्र सांसद रहेका छन्।

नागरिक उन्मुक्ति पार्टी एमाले नेतृत्वको गठबन्धन छोडेर कांग्रेस नेतृत्वको गठबन्धनमा सहभागी हुँदा पनि एमाले माओवादी बाहेकको सरकार बन्न सक्ने देखिन्छ । अहिले यस विषयमा छलफल भइरहेको जनाइएको छ ।

नागरिक उन्मुक्तिलाई रुष्ट पार्दा एमाले माओवादी बिना पनि सरकार बन्ने सक्ने खतराले अन्तिममा नागरिक उन्मुक्तिलाई मुख्यमन्त्री दिनुपर्ने अवस्था पनि सृजना हुन सक्ने नेताहरूको बुझाइ छ । यस्तो अवस्था सृजना भए रामेश्वर चौधरी मुख्यमन्त्री बन्ने छन् । उनी नागरिक उन्मुक्ति संसदीय दलका नेता हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर