पेले भन्थे- म्याराडोना, स्वर्गमा हामी एउटै टीमबाट खेल्नेछौं – Nepal Press

पेले भन्थे- म्याराडोना, स्वर्गमा हामी एउटै टीमबाट खेल्नेछौं

काठमाडौं । त्यतिवेला अर्जेन्टिनाले विश्वकप जितेको एक वर्षमात्र भएको थियो । अमेरिकाबाट फर्किएका पेलेले डिएगो म्याराडोनालाई भेट्ने इच्छा व्यक्त गरे । सन् १९७९ मा म्याराडोनालाई रियो दि जेनेरियोमा बोलाएर भेट्ने उनको तयारीले दक्षिण अमेरिका र विश्व फुटबललाई छक्क पारेको थियो ।

एक वर्षअघि घरेलु मैदानमा अर्जेन्टिनाले विश्वकप जितेर पहिलोपटक विश्व विजेता बन्दा म्याराडोना राष्ट्रिय टोलीमा त थिएनन् । तर, दिनदिनै उनको चर्चा चुलिँदो थियो । ब्राजिललाई फुटबलको घर परिचय दिएका र आफूलाई फुटबलको राजाका रुपमा स्थापित गरेका पेलेलाई विश्व फुटबलले निर्विवाद भनिरहेको थियो- तिमी सर्वकालीन महान फुटबलर हौ ।

पेलेले १९ वर्षको किशोरलाई भेटेर के कुराकानी गर्नु थियो र ? त्यसमा पनि अधिकांश ब्राजिलियनहरु अर्जेन्टिनालाई घृणा गर्थे । उत्तिकै अर्जेन्टिनीहरु ब्राजिललाई पनि । अर्जेन्टिना-ब्राजिल फुटबल सम्बन्ध वर्षौंदेखि राम्रो थिएन । सन् १९४६ को कोपा अमेरिका फाइनलमा भएको घटनापछि यी दुई टोलीले करिब एक दशक एक-अर्कासँग खेलेनन् । उनीहरु एक अर्कासँग खेल्नुपर्छ भनेर प्रतियोगिताबाटै नाम फिर्ता लिन्थे ।

यो स्थितिसम्म पुर्‍याउने घटना पनि सामान्य थिएन । ब्राजिलका जैर जोसा पिन्तोले अर्जेन्टिनाका कप्तान जोसो सालोमनलाई यसरी घाइते बनाए कि उनी फेरि खेलमा फर्कन सकेनन् । गम्भीर फलपछि मैदानमा ब्राजिल र अर्जेन्टिनाका खेलाडी आक्रमणमा उत्रिएका थिए । दर्शकसमेत मैदान ओर्लिए । स्थिति सामान्य बनेपछि खेल सुचारु गरियो र अर्जेन्टिना २–० गोलले विजयी भयो ।

महादेशीय च्याम्पियनशिप कोपा अमेरिकामा अर्जेन्टिनाको एकछत्र दबदबा रहेर पनि विश्वकप उपाधि जित्न सकिरहेको थिएन । विश्वकप आयोजना सुरु भएयता आफू सहभागी कोपा अमेरिकामा अर्जेन्टिना सन् १९५६ को संस्करणमा मात्र फाइनल पुग्न सकेको थिएन । ब्राजिल भने नियमित सहभागी भइरहेको थिएन । तर, जब प्रतिस्पर्धामा उत्रन्थ्यो, प्रायः फाइनल पुग्थ्यो । त्यही कारण अर्जेन्टिना-ब्राजिल भिडन्तमा सबैको नजर पर्थ्यो ।

सन् १९५६ मा पेले व्यवसायिक फुटबलमा उत्रिएपछि भने कहानी फेरियो । एक वर्षलगत्तै सिनियर अन्तर्राष्ट्रिय फुटबलमा डेव्यु गरेका पेलेले अर्काे वर्ष विश्वकप जिते । १७ वर्षकै उमेरमा उनले क्वार्टरफाइनलमा गोल गरे भने सेमिफाइनलमा ह्याट्रिक गरे । उनी विश्वकपमा गोल र ह्याट्रिक गर्ने सबैभन्दा कम उमेरका खेलाडी बने । फाइनलमा पनि गोल गरेपछि पेलेलाई भन्न थालियो- उनी फुटबलका राजा हुन् ।

पेलेअघि विश्वकपको फाइनलमा गोल गर्ने किशोर खेलाडीहरु जन्मिएका थिएनन् । सन् १९६२ र १९७० को विश्वकपमा पनि ब्राजिल विजेता बन्यो, पेले सफलताको केन्द्रमा रहे । ब्राजिलले आफूलाई फुटबलको घरका रुपमा परिचय पाएको पनि त्यतिवेलै हो । मानिसहरुले भन्न थालिसकेका थिए- हरेक ब्राजिलियनको रगतमा फुटबल बगिरहेको हुन्छ ।

पेलेको गोल मेसिन छवि उनीसँग खेलेकाहरुले भन्दा सुनाउँदा पनि फुटबल जोश भरिने अवस्था थियो । भनिन्छ- पेलेले ब्राजिललाई एक ढिक्का बनाएका थिए, फुटबलमार्फत जोडेका थिए । पछि विश्वकपमा ब्राजिलको खेल हेर्न त्यहाँ सार्वजनिक बिदा पनि दिन थालिएको थियो । छिमेकी तर कटु सम्बन्ध भएको चीर प्रतिद्वन्द्वीमा छाएको यो सफलताबाट अर्जेन्टिनामा पनि विश्व च्याम्पियन बन्ने हुटहुटी बढ्दो थियो । सन् १९७८ मा अर्जेन्टिनाले घरेलु मैदानमा विश्वकप जितेर ब्राजिललाई भन्यो- हामी पनि विश्वकप जित्न सक्षम छौं ।

त्यतिवेला म्याराडोनाले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा डेव्यु गरेको एक वर्षमात्र भएको थियो । तर, विश्वकप टोलीमा भने थिएनन् । कम उमेरको भएकाले टोलीमा नराखेको प्रष्टोक्ति तत्कालीन अर्जेन्टिनी प्रशिक्षक सिजन लुइस मेनोट्टीको थियो । एक वर्षपछि १९ वर्षको उमेरमा म्याराडोनाले फिफा युथ विश्वकप खेल्दै प्रतियोगिता जिते । ६ गोल गरेका म्याराडोनालाई प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी चुनियो । आफूले खेलाडी जीवनबाट सन्न्यास लिएकै वर्ष सिनियर अन्तर्राष्ट्रिय फुटबलमा डेव्यु गरेका म्याराडोनासँग पछि पेलेले बोलाएर भेट्नु अर्थपूर्ण मानिन्छ । उदीयमान म्याराडोनालाई मोटिभेट गर्न पेलेले बोलाएको पनि उल्लेख रहेको पाइन्छ ।

त्यतिवेला पेलेको भेट्ने प्रस्ताव म्याराडोनाले सहजै स्वीकार गरेको अर्जेन्टिनी स्पोट्र्स म्यागजिन एल ग्राफिकोले लेखेको छ । त्यसअघि म्याराडोनाले पेलेलाई भेटेका थिएनन् । उक्त म्यागजिनका अनुसार रियो दि जेनेरियोमा भएको भेटमा पेलेले आफूभन्दा २० वर्ष कान्छा म्याराडोनाको काँधमा हात राख्दै घडी र बल उपहारसहित केही सुझाव दिएका थिए । पेलेले भनेका थिए, ‘मानिसहरुले तिमीलाई सर्वोत्कृष्ट हौ भने भने त्यसमा कहिल्यै ध्यान नदेऊ । तिमीलाई आफू हिजोभन्दा राम्रो भएँ भन्ने कहिल्यै लाग्नुहुन्न ।’

म्याराडोना त्यतिवेला ब्राजिलका पूर्वप्लेमेकर रिभेलिनोलाई आफ्नो आदर्श मान्थे । तर, पेलेलाई कसैले नकार्न सक्दैनथ्यो । सन् १९८६ को विश्वकपले एकाएक म्याराडोनालाई पेलेको प्रतिद्वन्द्वी बनायो । अर्जेन्टिनीहरु भन्थे- म्याराडोना पेलेभन्दा सर्वाेत्कृष्ट । ब्राजिलियनहरु भन्थे- पेले म्याराडोनाभन्दा सर्वोत्कृष्ट ।

उक्त विश्वकपको क्वार्टरफाइनलमा म्याराडोनाले गरेको गोलले फिफाले गरेको अनलाइन भोटिङमा गोल अफ दी सेन्चुरी जितेको थियो । उक्त विश्वकपमा सर्वोत्कृष्ट खेलाडी बनेका म्याराडोनाले सन् १९९० को विश्वकपमा पनि अर्जेन्टिनालाई फाइनल पु‍¥याएका थिए । तर, यसपटक उपाधि जित्न सकेननन् ।

सन् १९९३ को कोपा अमेरिका-यूईएफए कप अफ च्याम्पियन्स जितेपछि उनले त्यसै वर्ष सिनियर अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिए । उता क्लब फुटबलमा पनि म्याराडोनाले इटालीको नापोलीबाट गज्जबै गरे । नापोलीका लागि ७ वर्ष खेल्दै बनाएको म्याराडोनाको सर्वकालीन सर्वाधिक गोलकर्ताको कीर्तिमान तोडिन २६ वर्ष लागेको थियो ।

म्याराडोनाको एकपछि अर्काे सफलताले पेलेसँग उनको तुलना थप चर्कंदै गएको थियो । सन् १९९९ मा अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिलले पेलेलाई शताब्दी खेलाडी भनेर घोषणा गरेपछि त्यसले म्याराडोना समर्थकहरु आक्रोशित बने । अर्काे वर्ष फिफाले गरेको अनलाइन सर्वेक्षणमा म्याराडोनालाई शताब्दी खेलाडी घोषणा गरियो ।

तर, युवा पुस्ताले पेलेको खेल नहेरेकाले उनीप्रति कम भोट आउनु स्वाभाविक भन्दै शताब्दी खेलाडी छनोट गर्ने विधिमै प्रश्न गरियो । जसका कारण फिफाले फुटबल परिवारभित्र मात्र फेरि सर्वेक्षण ग‍र्‍यो । यसपटक पेले, म्याराडोनाभन्दा अगाडि देखिए । विवाद उत्पन्न हुने देखेर फिफाले दुवै सर्वेक्षणका परिणामलाई मान्यता दिएर पेले र म्याराडोना दुवैलाई शताब्दी खेलाडी घोषणा गरेको थियो ।

वेलाबखत उनीहरुले एकअर्कालाई छेडछाड पनि गरेको सुनिन्थ्यो । म्याराडोना भन्थे, ‘पेले राम्रो खेलाडी हुन् । तर, उनी राजनीतिक रुपमा सोच्छन् ।’ म्याराडोना लागुऔषधको लतमा फसेकाले पेले उनलाई ‘ब्याड एक्ज्याम्पल’ भन्थे ।

तर, पेले ‘को सर्वोत्कृष्ट’ भन्ने बहसमा कहिल्यै सहभागी भएनन् । म्याराडोनाले आफू खेलिरहेकै समयमा सोधिएको प्रश्नमा जवाफ दिएका थिए, ‘म्याराडोना भनेको म्याराडोना हो । म सामान्य खेलाडी हुँ, पेले महान खेलाडी हुन् । म पेलेलाई पछि पार्ने प्रयास गर्दिनँ किनभने सबैलाई थाहा छ उनी सर्वकालीन महान खेलाडी हुन् ।’

अन्य अवसरमा म्याराडोना पनि यो बहसमा त्यति उत्रिएनन् । चासो भयो त केवल अरुलाई, विश्वलाई । तर, सन् २००० मा आएको दुवै खेलाडीको जीवनीमा भने एक-अर्कामाथि आरोप लगाइएको थियो ।

म्याराडोनाले त्यसअघि पेले समलिङ्गी भएको र सान्तोषका लागि खेल्दा त्यहाँका एक प्रशिक्षकसँग सम्बन्ध रहेको विवादास्पद अभिव्यक्ति दिएका थिए । पेलेको ‘पेले हिज लाइफ एन्ड टाइम्स’मा म्याराडोना लागुऔषधको दुर्व्यसनमा रहेकाले उनले बोलेको कुरा कसैले विश्वास नगर्ने कारण पेलेले प्रतिक्रिया नजनाएको उल्लेख छ ।

त्यतिवेला पेले भने लागुऔषधविरुद्धको अभियानमा रहेकाले म्याराडोनाले उक्त कुरा बोलेको दाबी गरिएको छ । उक्त पुस्तकमा सन् १९८० को दशकमा अर्जेन्टिनाका राष्ट्रपति कार्लाेस मेनेमले पेलेलाई विशेष अतिथिका रुपमा भ्रमणका लागि बोलाउँदा म्याराडोना रिसाएको पनि भनिएको छ । पुस्तकमा पेलेले म्याराडोना एक सर्वोकृष्ट खेलाडी भएको तर, आफूसँग तुलना गर्न नमिल्ने बताएको उल्लेख छ । म्याराडोनाले आफ्नो पुस्तक ‘आई एम डिएगो’मा पेलेले फुटबल सुधार्न बेवास्ता गरेको र आफ्ना साथीहरु दुःखमा पर्दा पनि नहेरेको आरोप लगाएका छन् ।

खेलाडी जीवनपछि सार्वजनिक समारोहहरुमा पेले र म्याराडोना दुवैलाई निकै हाँसीखुशीसाथ रमाइलो गरिरहेको थुप्रैपटक देखियो । यस्तो लाग्थ्यो कि उनीहरु निकै मिल्ने साथीहरु हुन् । सन् २०१६ मा पेलेले कमरको शल्यक्रिया गरेपछि म्याराडोना उनलाई भेट्न पुगेका थिए । पेलेलाई भेटेपछि उनले भनेका थिए, ‘उहाँलाई स्वस्थ देख्न पाउँदा खुशी लागेको छ ।’

२०औं शताब्दीका यी सर्वोत्कृष्ट खेलाडीहरु २१औं शताब्दीमा भने आफ्नो राष्ट्रिय टोलीका सफलताबाट सन्तुष्ट रहने अवस्था रहेन । सन् २००२ मा विश्व विजेता बनेयता ब्राजिलले फेरि विश्वकप जित्न सकेको छैन । सन् २०१४ मा ब्राजिलमा आयोजित विश्वकप पेले र घरेलु नागरिक तथा समर्थकका लागि पीडादायी बन्यो ।

पहिलोपटक युरोपले फुटबलमा पेलेको घरमा गएर विश्वकप जित्यो । पेलेले आफ्नो उत्तराधिकारी मान्दै आएका नेमारले विश्वकप जितेको देख्न पाएनन् । उता म्याराडोनाको छटपटी पनि सामान्य थिएन । सन् १९९३ पछि सिनियर अन्तर्राष्ट्रिय उपाधि जित्न नसकेको अर्जेन्टिनाका खेलहरु हेर्न उनी रंगशालामै पुग्थे ।

उनी आफैं पनि अर्जेन्टिनाको प्रशिक्षक बनेर विश्वकपमा उत्रिए । तर, क्वार्टरफाइनलभन्दा अगाडि बढ्न सकेन । पेलेलाई म्याराडोनाले चुनौती दिए जस्तै यी दुवै खेलाडीसँग सर्वकालीन महान खेलाडीको होडमा रहेका लियोनल मेस्सीले चारवटा प्रतियोगितामा अर्जेन्टिनालाई फाइनलमा पुर्‍याए पनि म्याराडोनाले उपाधि जितेको देख्न पाएनन् । सन् २०२० को अन्त्यतिर म्याराडोनाको ६० वर्षकै उमेरमा निधन भएपछि भावुकता दर्साउनेमा पेले पनि थिए ।

पेलेले लेखे, ‘मानिसहरुले जीवनभर तिमी र मलाई तुलना गरे । तिमी एउटा जिनियस थियौ, जसले विश्वलाई रोमाञ्चित बनायौ । खुट्टामा बल लिएर हिँड्ने म्याजिसियन थियौ । एउटा साँचो लिजेन्ड । तर, त्योभन्दा माथि, मेरा लागि तिमी एउटा महान साथी हौ अझ ठूलो हृदय भएको । आज यदि हामीले एक-अर्कालाई तुलना गर्न छाडेर एक-अर्काको अझ बढी प्रशंसा गर्न थाल्यौं भने विश्व अझ राम्रो हुनेछ । त्यसैले म भन्छु, तिमी कसैसँग तुलना हुन सक्दैनौं । मेरो महान साथी, हाम्रो समग्र यात्राका लागि तिमीलाई धन्यवाद । एक दिन, स्वर्गमा हामी एउटै टीमबाट सँगसँगै खेल्नेछौं ।’

पेले र म्याराडोनापछि सर्वकालीन महान खेलाडीको बहसमा मेस्सी र क्रिस्टियानो रोनाल्डो पनि मिसिए । उनीहरुले कम्तिमा विश्वकप जित्नुपर्ने तर्कहरु पनि अघि देखिए । सन् २०१४ मा अर्जेन्टिनालाई फाइनलसम्म पुगेर उपविजेतामा सीमित भएको देखेका पेले र म्याराडोनाले त्यसको दुई वर्षपछि रोनाल्डोले युरोकप जितेको देखे । अर्जेन्टिना भने ती दुई वर्षमा अन्य दुई प्रतियोगितामा पनि फाइनल पुगेर पराजित भएको थियो । म्याराडोनाको निधनपछि बल्ल अर्जेन्टिना र मेस्सीले सिनियर अन्तर्राष्ट्रिय उपाधि जिते ।

गत वर्ष अर्जेन्टिनाले ब्राजिलको माराकाना पुगेर कोपा अमेरिका जित्यो त्यो पनि घरेलु टोलीलाई हराएर । यसपटक अर्जेन्टिना विश्वकपको फाइनलमा पुग्दा सारा दक्षिण अमेरिका एक देखियो । उनीहरुले कुनै पर्वाह नगरी अर्जेन्टिनाको समर्थन गरे । ब्राजिलका थुप्रै लिजेन्डहरु कतारमा पुगेर अर्जेन्टिना र मेस्सीको सफलता कामना गरिरहेका थिए । अस्पतालको शय्यामा जीवनमरणसँग लडिरहेका पेलेले अर्जेन्टिनाले विश्वकप जितेलगत्तै लेखे, ‘पक्कै डिएगो (म्याराडोना) मुस्कुराइरहेका होलान् ।’

खासमा म्याराडोना पनि मेस्सीले विश्वकप जितेको हेर्न चाहन्थे । पेलेले जस्तो, उनले खेलाडी जीवनपछि राष्ट्रिय टोली विश्व विजेता बनेको देख्न पाएनन् । तर, म्याराडोनाभन्दा २० वर्ष जेठा पेलेले अन्तिम घडीमा अर्जेन्टिना विश्व विजेता बनेको नियाल्न पाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर