४५ सय पारिश्रमिक दिँदा जब अन्जु पन्तले भनिन्- पाँच सय पुगेन भाइ ! – Nepal Press
गीत प्रसंग

४५ सय पारिश्रमिक दिँदा जब अन्जु पन्तले भनिन्- पाँच सय पुगेन भाइ !

काठमाडौं । गीतकार लोकराज अधिकारी दाङको स्वर्गद्वारी रेडियोमा गजलको कार्यक्रम चलाउँथे । हरेक कार्यक्रमको अन्त्य आफ्नै एक गजल वाचन गरेर गर्थे । एक दिन एउटा गजल भने-

तिम्ले पराई ठानेपछि पराई हुन के भयो र
तिम्रो मेरोबीचको नाता भन्नु पनि के रह्यो र

यो गजल अधिकारीका दाङकै साथीहरुले औधी रुचाए । गीत बनाउनुपर्छ भनेर सुझाए । अधिकारी पनि हौसिए । दाङकै एकखाले ट्युन बनेको थियो । पछि गायक तथा संगीतकार कृष्ण रौलेले पनि कम्पोज बनाए । अर्का संगीतकार सन्तोष श्रेष्ठले पनि शब्द मन पराए । अधिकारीलाई भने, ‘लोकराजजी, त्यो शब्द मलाई दिनुस्, म गीत बनाउने कोसिस गर्छु ।’

यसवेलासम्म अधिकारी स्वर्गद्वारी एफएम छाडेर सगरमाथा एफएममा काम गर्न काठमाडौं छिरिसकेका थिए । संगीतकार श्रेष्ठ बहराइन जाँदै थिए । प्लेनमै गीतको मेलोडी तयार गरे ।

२०६७ सालमा गीतको मेलोडी तयार भयो । तर, कसलाई गाउन दिने ? गायिका अन्जना गुरुङको नाम आयो । सँगै गायिका अन्जु पन्तको नाम पनि आयो । पन्तको त्यसवेला ‘नबिर्से तिमीलाई, नपाएँ तिमीलाई’ लोकप्रिय भएको थियो ।

अधिकारी र श्रेष्ठले गीत हिट होला भनेर सोचेकै थिएनन् । भर्खरै चल्न सुरु गरेकाले पन्त पनि गाउन राजी भइन् । सगरमाथा एफएममा अधिकारीको तलब मासिक नौ हजार थियो । त्यही तलबबाट जोगाएर गीत तयार पार्नु थियो । गीतको काम प्रिज्मा स्टुडियोमा सुरु भयो ।

अधिकारी सुनाउँछन्, ‘राति रेडियोको काम सकाएर स्टुडियोमा जान्थें । त्यसवेला अन्जु दिदीले थाहा नपाउने गरी शिशिर योगी दाइलाई पनि गाउन दिएका थियौं । गीत बजारमा आएपछि यति धेरै रुचाइयो कि सन्तोष र मलाई संगीतकार र गीतकारको रुपमा त्यही गीतले स्थापित गरिदियो । त्यसवेला सीआरबीटीमा सर्वाधिक डाउनलोड भएको गीत बन्यो यो ।’

अधिकारीले पन्तसँग पाँच हजार पारिश्रमिकमा डिल गरेका थिए । पन्तले पनि हुन्छ भनेकी थिइन् । शिशिर योगीले छ हजार पाँच सय मागे पनि चार हजार पारिश्रमिक पक्का गरेका थिए । गायक र गायिकाको पारिश्रमिकमै अधिकारीको एक महिनाको तलब सकियो ।

गीतको रेकर्ड सकियो । पन्त प्रिज्मा स्टुडियोबाट तल झरिन् र अधिकारीलाई भनिन्, ‘भाइ, पाँच सय पैसा पुगेन नि !’

अधिकारीले हाँस्दै जवाफ दिए, ‘पाँच सयको हामी सबैले फ्रुटी खायौं नि दिदी !’

बाह्र वर्षअघिको त्यो पल सम्झन्छन् अधिकारी, ‘हामी सबैले फ्रुटी खाएका थियौं । मसँग पनि पैसा थिएन । पाँच सय ठूलो पैसा थियो ।’

गीत बजारमा आएपछि लोकप्रियमात्रै बनेन । तीन महिनापछि गीत पुनः रेकर्ड पनि गराइयो । पहिला सीडीमा बजार पठाएको गीत चलेपछि पुनः रेकर्ड गराएर अझै राम्रो क्लालिटीमा बनाइयो । त्यसवेला भने पन्तलाई अधिकारीले दश हजार पारिश्रमिक दिए ।

अहिलेसम्म पन्तसँग ६ वटा गीतमा सहकार्य गरेका अधिकारीले ३० हजारसम्म पारिश्रमिक दिएका छन् । १२५ भन्दा बढी गीत रेकर्ड गराइरहेका अधिकारी गीत नै लेखेर खाइरहेका छन् । अधिकारीको ‘हैसियत’ नामक संयुक्त गजल संग्रह पनि प्रकाशित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *