सत्तामा पुग्नु राजनीतिक पार्टीहरूका लागि स्वभाविक प्रक्रिया हो : खाण – Nepal Press

सत्तामा पुग्नु राजनीतिक पार्टीहरूका लागि स्वभाविक प्रक्रिया हो : खाण

रुपन्देही । पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले सत्तामा पुग्नु राजनीतिक पार्टीहरूका लागि स्वाभाविक प्रक्रिया भएको बताएका छन् ।

यो प्रक्रियालाई कसैले पनि असहजतापूर्वक नलिन आग्रह गर्दै उनले भने, ‘आफ्नो मूलभूत सिद्धान्त, अठोट, रणनीति र कार्यक्रमसहित सरकार सञ्चालनमा जाने सबै दलको प्रयास हुन्छ।’

देशभरका नेपाली कांग्रेसका कार्यकर्ताहरू आत्तिनुभन्दा पनि कहाँनिर हामीले आफूलाई सच्याउनुपर्ने उनले बताए ।

बिपी कोइराला अध्ययन प्रतिष्ठानको छैटौँ साधारण सभा, चौथो अधिवेशन तथा ४६ औ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको शनिवार उद्घाटन गर्दै खाणले पार्टी र देशमा राजनीतिक परिवर्तनमा योगदान दिने बिपी कोइरालाको दुरदर्शीता आजको आवश्यकता भएको बताए ।

नेपालको राष्ट्रिय राजनीतिको धरातलमा पछिल्लो हिंसात्मक राजनीतिबाट मुलुकलाई निकास दिएर नेपालको राष्ट्रियतालाई संवर्द्धन गर्दै लोकतान्त्रिक मूल्य मान्यतालाई सबल, सुदृढ र प्रभावकारी बनाउँदै जनताको अधिकारलाई विस्तारित गर्ने क्रममा नेपाली कांग्रेसले पछिल्ला चरणहरूमा राजनीतिक दलहरूसँग हातेमालो गरेको उनले बताए ।

अहिले पनि राजनीतिक दलहरूसँग हातेमालो गर्न जरुरी रहेको उनले दाबी गरे । यसै नीतिमा रहेर निरन्तर दलहरूसँग रहेर सहमति, सहकार्य र एकताको हात अघि बढाएको उनले बताए ।

‘आलोचनाको पात्र बनेको छु, तर पनि पार्टीभित्र नेपाली काँग्रेसले आफ्नो नीतिगत अडानका साथ अरू राजनीतिक दलहरूसँग सहमति, सहकार्य र एकता गर्नै पर्छ भन्ने पक्षमा म सधैँ उभिइरहने छु, जतिसुकै अलोकप्रिय भएता पनि,’ खाणले थपे ।

आफ्नो निर्वाचन क्षेत्रमा पार्टीभित्र र बाहिरका राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरू सक्रिय भएको उनले दाबी गरे । यसमा आफू कुनै टिप्पणी नगर्ने खाणको भनाई छ ।

प्रतिक्रिया

One thought on “सत्तामा पुग्नु राजनीतिक पार्टीहरूका लागि स्वभाविक प्रक्रिया हो : खाण

  1. आफूले हारेपछि मन्त्री बन्न पाईदैन । त्यसैले पार्टी सरकारमा गएकोभन्दा नगएको राम्रो । कि कसो खाँड साब ? सरकारमा पार्टी गएको भए गृहमन्त्री अर्कै हुन्थ्यो । मजाले कमाउथ्यो । अनि कार्यकर्ता नेता सबै उसैको पछि लाग्थे । आफू जोकर फाल्तु भईन्थ्यो । खुचिङ्ग भयो । कि कसो ! काँग्रेसका सबै नेता यस्तै हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर