राष्ट्रपति चुनावअघि माथिल्लो भंगालस्थित विद्या भण्डारीको घरको मर्मत सम्भार जारी – Nepal Press

राष्ट्रपति चुनावअघि माथिल्लो भंगालस्थित विद्या भण्डारीको घरको मर्मत सम्भार जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको दोस्रो कार्यकाल सकिनै लाग्दा चपलीस्थित निजी निवास मर्मत सम्भार शुरु भएको छ । बुढानीलकण्ठ नगरपालिका वडा नम्बर २ चपलीस्थितत माथिल्लो भंगालमा राष्ट्रपति भण्डारीको निजी निवास छ ।

नेपालको संविधान जारी भए लगत्तै व्यवस्थापिका संसदबाट निर्वाचित भएको करिब २ वर्ष र निर्वाचक मण्डलबाट निर्वाचित भएको ५ वर्ष गरी भण्डारीले करिब ७ वर्ष नेपालको राष्ट्रपति पद सम्हालेकी छन् ।

निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति घोषणा गर्नुअघि नै राष्ट्रपति भण्डारीको घर जीर्णोद्धार गरिँदै छ । सो घर निर्माणपछि पनि राष्ट्रपति हुनुभन्दा अघि भण्डारीको बसोबास नयाँ बानेश्वरस्थित देवर डा।कैलाश भण्डारीको घरमा थियो ।

अब राष्ट्रपति पदबाट बाहिरिएपछि भने भंगालास्थित घरमा बस्ने बताइएको छ । यसअघि नागरिकता विधेयकको विवादका बेला पनि राष्ट्रपतिको सो घर रंगरोगन गरिएको थियो । यस पटक राष्ट्रपतिको घर पुनर्निर्माणकै शैलीमा मर्मत भइरहेको देखिएको छ ।

कतिपयले विद्या भण्डारी फेरि पनि राष्ट्रपति बन्न संविधानले नरोकेको तर्क गरिरहेका छन् । भण्डारी पहिलो कार्यकाल व्यवस्थापिका संसदबाट निर्वाचित भएकाले संविधान बमोजिम संघीय र प्रदेश संसदबाट निर्वाचित भएको एक कार्यकाल मात्र भएको दाबी गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर