क्रान्तिकारी पवन कार्की समूहले देशभर समानान्तर कमिटी विस्तार गर्ने – Nepal Press

क्रान्तिकारी पवन कार्की समूहले देशभर समानान्तर कमिटी विस्तार गर्ने

यस्ता छन् केन्द्रीय विस्तारित बैठकका १२ निर्णय

काठमाडौं । पञ्चा सिंहको नेतृत्वबाट विद्रोह गरेको माओवादीनिकटको अखिल क्रान्तिकारी पवन कार्की समूहले देशभर समानान्तर कमिटी विस्तार गर्ने भएको छ ।

बिहिबार काठमाडौंमा बसेको क्रान्तिकारी विद्रोही समूहको केन्द्रीय कार्यालय विस्तारित बैठकले उक्त निर्णय गरेको हो ।

बैठकका लागि देशभरबाट आएका नेतालाई प्रदेशका संयोजक/इन्चार्ज, विभागीय प्रमुखहरूले पछिल्लो अवस्थाबारे रिपोर्टिङ गरेका थिए । बैठकको संगठनको पूर्णता दिने, स्ववियू निर्वाचन, आगामी संघर्षको कार्यक्रम तय गर्ने तथा वैचारिक राजनैतिक मुद्दा एजेण्डामा केन्द्रित भएको प्रवक्ता उपदेश यादवले नेपाल प्रेसलाई बताए ।

‘संगठनलाई विधिसम्मत् चलाउन र आम नेता-कार्यकर्ताको न्याय गरी क्षमतावान साथीहरूलाई अवसर प्रदान गर्नुपर्ने आवश्यकता भएकाले अखिल क्रान्तिकारीलाई वास्तविक विद्यार्थीको हातमा सुम्पन्नुपर्ने एजेण्डासहित आन्दोलन अघि बढाउने समझदारी बनेको छ’, उनले भने ।

यादवका अनुसार सबै भौगोलिक र गैरभौगोलिक जिल्ला तथा इकाइ कमिटीमा संयोजकहरू बनाएर संगठनलाई देशभर विस्तार गरिनेछ ।

उनीहरूले पञ्चा सिंह नेतृत्वको कमिटीलाई अवैध भएकाले खारेज गरेर संगठन पुनर्गठन गर्न नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

जनताका जनजीविका, राष्ट्रियता र संविधानको कार्यान्वयन साथै समग्र शैक्षिक क्षेत्रको परिवर्तनका लागि हाम्रो संघर्ष केन्द्रित गर्न बैठकले मार्ग निर्देश गरेको संयोजक पवन कार्कीले बताए । तत्काल संगठनलाई पूर्णता प्रदान गरि देशैभर जागरण पैदा गर्ने अभियान संचालन उनको भनाइ छ।

उनले भने, ‘अब शैक्षिक क्षेत्र भित्रका विकृती विसंगती र माफियाकरणको अन्त्य गर्ने गरि अखिल (क्रान्तिकारी) शैक्षिक रुपान्तरणको एजेन्डा लिएर अगाडि बढ्ने छ । उच्च शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयन गर्न सरकारसँग माग गर्नेछौं ।’

यी हुन् बैठकका निर्णय

१) स्ववियू सम्बन्धित कार्यक्रमहरू सञ्चालन गर्ने साथै अखिल (क्रान्तिकारी) उम्मेद्वार को हुने ? उत्कृष्ट विद्यार्थीहरुलाई उम्मेद्वार बनाउनको निम्ति कलेज कलेजमा अभियान सञ्चालन गर्ने ।

२) सबै भौगोलिक र गैर भौगोलिक जिल्लाहरूमा (८५ जिल्ला) संयोजकको जिम्मेवारी प्रदान गर्ने ।

३) फरक धारमा रहेका क्रान्तिकारी संगठनहरु संग एकताका निम्ति वार्ताको ढोका खुल्ला गरेर वार्ता अगाडी बढाउन नेता सागर केसी सहितको टोलीलाई जिम्मेवारी दिएको ।

४) प्रदेश समिति, विश्वविद्यालय राष्ट्रिय समितिहरूका इन्चार्ज तोकेर सक्रियता साथ संगठन निर्माण तिब्र गतिले अघि बढाउने ।

५) विधानको धारा २७ बमोजिम समय सीमा नाघेको सबै इकाई , नगर, महानगर समितिहरुको सम्मेलन गर्ने ।

६) स्ववियू निर्वाचन हुने सबै कलेजहरूमा केन्द्र बाटै कमाण्डर पठाउने ।

७) योद्धा नामक संगठनको मुखपत्र प्रकाशन गर्ने ।

८) पटक पटक मन्त्री भइसकेका सांसदहरुलाई फेरि पनि मन्त्री बनाउनुको सट्टा नयाँ अनुहारलाई मन्त्रिमण्डल मा समावेश गराउनको निम्ति पार्टीलाई ध्यानाकर्षण गराउने ।

९) सबै प्रदेशका भेला तथा बैठक सञ्चालन गर्ने र त्यस मातहतका सम्पूर्ण कमितीहरुको बैठक , भेला, सम्मेलन सम्पन्न गर्ने ।

१०) आगामी मार्ग निर्देश, नीति, योजना, कार्यक्रमको लागि थप बैठक चलाउदै जाने ।

११) शिक्षा क्षेत्रको सुधारका निम्ति सुझाव सहित प्रधानमन्त्री तथा विश्वविद्यालयका कुल्पतिलाई ध्यानकर्षण पत्र बुझाउने ।

१२) सुझाव समितिलाई लिखित सुझाव दिए अनुसारै संगठन भित्र उमेरहद कडाइका साथ लागू गराउने । एक व्यक्ति एक कार्यकाल एक पद नियम कार्यान्यन गराउनु पर्ने । कोही व्यक्ति पनि सोही पदमा दोहरिन नमिल्ने साथै क्रमशः माथिलो जिम्मेवारी लिने गरी अघि बढ्ने । जस्ता निर्णयहरु अब आउने २३ औं राष्ट्रिय सम्मेलनको लागि विधान निर्माण गर्न कार्यकर्ता माझ र पार्टी नेतृत्व माझ अपील र अनुरोध गर्ने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर