ओली संयोजक रहेको समिति अल्पकालीन कि दिर्घकालीन ? पाँच सदस्यको नाम तय – Nepal Press

ओली संयोजक रहेको समिति अल्पकालीन कि दिर्घकालीन ? पाँच सदस्यको नाम तय

काठमाडौं । सत्तारुढ गठबन्धनको आज बसेको बैठकले सरकारको साझा न्यूनतम कार्यक्रम तय गर्नका निम्ति एमाले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा समिति बनाएको छ । उक्त समितिमा सत्ता साझेदार सबै पार्टीहरूको प्रतिनिधित्व रहनेछ ।

आज बसेको बैठकमा चार पार्टीहरूको मात्रै सहभागिता थियो । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीका साथ राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बैठकमा बसेका थिए ।

सरकारको साझा न्यूनतम कार्यक्रमको मस्यौदा ५ दिनभित्र तयार गर्न ओली संयोजकत्वमा समिति बनाइएको हो । समितिमा एमालेबाट थप एक नेता रहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डा. धवलशम्शेर राणा. माओवादीबाट वर्षमान पुन र रास्वपाबाट डा. मुकुल ढकाल समितिमा रहने भएका छन् । गठबन्धनका अन्य तीन दलहरू जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीको बैठकमा सहभागिता नरहेकाले समितिमा ती दलबाट प्रतिनिधित्व हुन बाँकी छ ।

स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले आजको बैठकमा एकीकृत समाजवादी पार्टीलाई पनि सरकारमा ल्याउनुपर्नेमा जोड दिएका थिए । सरकारमा आएको खण्डमा सो पार्टीबाट पनि समितिमा एक प्रतिनिधि राखिनेछ ।

समितिलाई तत्कालन निम्ति साझा न्यूनतम कार्यक्रमको मात्रै कार्यभार दिइएको छ । तर, गठबन्धनका सूत्रधार ओलीकै संयोजकत्वमा समिति बन्नुले यसलाई दिर्घकालीन संयन्त्रकै रूपमा स्थापित गराउने सोच हुनसक्ने पनि आँकलन छ ।

विगतमा गठबन्धन सरकारलाई मार्गदर्शन गर्नका निम्ति एक शीर्ष नेताको संयोजकत्वमा उच्चस्तरीय संयन्त्र निर्माण गर्ने प्रचलन थियो । अहिलेको समिति पनि त्यही संयन्त्रको रूप हुनसक्ने गठबन्धनका एक नेताले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर