ओली-प्रचण्ड एकै ठाउँमा उभिएपछि अलमलमा माधव नेपाल – Nepal Press

ओली-प्रचण्ड एकै ठाउँमा उभिएपछि अलमलमा माधव नेपाल

काठमाडौं । कांग्रेस नेतृत्वको सत्ता गठबन्धन टुटाएर एमालेसहित ७ दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेपछि नेकपा एस संकटमा परेका छ । सरकारमा सहभागी हुने या नहुने भन्ने विषयमा नेताहरु दुई धारमा बाँडिएका छन् ।

तर, प्रचण्डको प्रस्तावपछि अध्यक्ष माधव नेपाल आन्तरिक छलफलमा जुटेका छन् । पार्टीभित्रबाट संस्थागत निर्णय गराएर उनी सरकारमा जाने वा नजाने निर्णय गराउन खोजेका छन् ।

प्रचण्डसँगको छलफलपछि अध्यक्ष नेपालले पार्टीमा छलफल गरेर मात्रै निर्णय लिने बताएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले बताए ।

प्रधानमन्त्री र अध्यक्ष नेपालबीचको भेटवार्ताबारे उनले भने, ‘उहाँलाई सरकारलाई समर्थन दिन आग्रह गर्नुभएको छ । उहाँहरुले सल्लाह गर्छौँ भन्नुभएको छ । उहाँले सरकारात्मक रूपमा लिनुभएकाले त्यही अनुसार बढ्ने अपेक्षा गरेको छ ।’

तर, सरकारमा सहभागी हुने प्रधानमन्त्रीबाट प्रस्ताव आएपनि अहिलेसम्म त्यसबारे कुनै निर्णय नभएको एसका प्रवक्ता जगन्नाथ खतिवडा बताए ।

उनले भने, ‘अहिले हामीले विभिन्न माध्यमबाट छलफल गरिरहेका छौँ। अब पार्टीभित्रका सबैको सुझावको आधारमा निर्णय लिन्छौं ।’

सरकारमा सहभागिता र आगामी कदमबारे केन्द्रीयदेखि जिल्ला तहका नेताहरूसँग पनि अहिले भर्चुअल माध्यमबाट सुझाव संकलन भइरहेको उपमहासचिव गंगालाल तुलाधरले नेपाल प्रेसलाई बताए ।

उनले भने, ‘हामी अहिले सरकारमा जाने नजाने कुनै निर्णय गर्दैनौँ । तल्लो तहबाट आएको सुझावको एउटा प्रतिवेदन बनाउँछौँ । पार्टी स्थायी कमिटीले त्यसबारेमा निर्णय गर्छ ।’

आफूहरू सकेसम्म सरकारमा जान नपाए हुन्थ्यो भन्नेमै अझै रहेको उनको भनाइ छ । उनले सरकारमा नगएर प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने विकल्पबारे पनि छलफल भइरहेको बताए । जारी भर्चुअल बैठकमा सहभागी अधिकांश नेताहरूले सरकारमा जानुपर्नेमा जोड दिएको अर्का एक नेताले बताए । सरकारमा गएर सम्मानजनक भाग लिनुपर्ने दबाब आएको ती नेताको भनाइ छ ।

तर, सुझावप्रति असहति राख्दै ती नेताले भने, ‘हामी अहिले दोधारमा छौँ । पार्टीको समीक्षा गरेर संगठन अगाडि बढाउने बेलामा गठबन्धनमा अल्झियौँ । गठबन्धनमा हामीले केही हदसम्म कांग्रेस र माओवादी पनि धोखा भएको छ । त्यसैलै हामीले अहिले नै नयाँ समीकरणको सरकारलाई स्वीकार्नु उपयुक्त हुँदैन ।’

प्रचण्डले सरकारलमा ल्याउन पहल गर्दैगर्दा एमाले नेताहरूले पार्टीमै फर्काउने प्रयास थालेका छन् । अध्यक्ष नेपाल एमालेमा आए पहिलो दल बन्ने देखिएपछि नेताहरुले रणनीतिक मूभ चालेका छन् ।

नेपाललाई एमालेमा फर्काउने दोस्रो तहका नेताहरु पनि सक्रिय भएर लागेका छन् । आजमात्रै एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले अध्यक्ष निवास कोटेश्वरमा पुगेर भेटवार्ता गरे ।

भेटवार्तापछि उनले भने, ‘मैले उहाँलाई अब पार्टीमा फर्किन आग्रह गरेको छु। उहाँले सकारात्मक नै हुनुहुन्छ। तर, गठबन्धनबाट प्रचण्ड एक्लै बालकोट पुगेकोप्रति उहाँको चित्तदुखाइ पाए ।’

भेटवार्तामा नेकपा एसका सचिव मेटमणि चौधरी पनि थिए। एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड एक ठाउँमा उभिएपछि अध्यक्ष नेपाललाई पनि फर्काउने प्रयास भइरहेको छ। अहिले ओली र नेपालबीच भेटवार्ताको वातावरण सिर्जना गर्ने गृहकार्य भइरहेको छ ।

मंगलवार साँझ उपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले अध्यक्ष नेपाल भेट्न कोटेश्वर पुगेका थिए । यसअघि उपमहासचिव पृथ्वी सुब्बा गुरुङले पनि नेपाललाई भेटेर एमालेमा फर्किन आग्रह गरेका थिए ।

सुवास नेम्वाङदेखि महेश बस्नेतसम्मका नेताहरू माधव नेपालसँग विगत भुलेर पार्टीमै फर्किन आग्रह गरिरहेका छन् ।

तर, नेकपा एसका नेता तुलाधर एमाले नेतृत्वले गल्ती स्वीकार नगरेसम्म मिल्ने सम्भावना नभएको जिकिर गर्छन् । उनी भन्छन्, ‘उहाँहरुले विभिन्न माध्यमबाट प्रस्वात ल्याइराख्नुभएको छ। त्यो सकारात्मक नै हो । तर, पहिलाको गल्ती स्वीकार गरेर आत्मालोचना नगरेसम्म सहकार्य हुने देखिँदैन । त्यही विषयमा पनि हामी तल्लो तहबाट सुझाव मागिरहेका छौँ ।’

वामपन्थी एक हुनुपर्छ भनेर पहल हुनु सकारात्मक भएको उनको बुझाइ छ ।

उनी थप्छन्, ‘हामीलाई पार्टीभन्दा बाहिर राखेर ओलीजीले दुई पटक प्रतिनिधिसभा विघटन गर्नुभयो । त्यस विषयमा उहाँले आत्मालोचना गर्नुपर्छ। हामी पनि हाम्रो तर्फबाट भएको केही गल्ती भए स्वीकार गरेर आत्मालोचना गर्न तयार छौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर