लुम्बिनीमा मुख्यमन्त्री सम्मेलन स्थगित, सांसदहरूको शपथ १६ गते तय – Nepal Press

लुम्बिनीमा मुख्यमन्त्री सम्मेलन स्थगित, सांसदहरूको शपथ १६ गते तय

रूपन्देही । लुम्बिनी प्रदेश सरकारले पुस १५ गते दाङ देउखुरीमा गर्न लागेको मुख्यमन्त्री सम्मेलन स्थगित भएको छ। अन्य प्रदेशका मुख्यमन्त्रीहरुलाई नयाँ राजधानीमा भ्रमण गराउने र गत ५ वर्ष कार्याकालको समीक्षा गर्न सम्मेलन गरिने भएपनि २ दिन अघि स्थगित भएको हो।

पछिल्लो राजनीतिक कारणले मुख्यमन्त्री सम्मेलन स्थगित गर्ने निर्णय भएको मुख्यमन्त्री कुलप्रसाद केसीका प्रेस संयोजक मानसिंह बिकले जानकारी दिए।

संघीय सरकार बन्दा हालै दलहरुबीचको गठबन्धनको समीकरण पनि परिवर्तन भएको छ। कांग्रेस माओवादी गठबन्धन गरेर चुनावमा गएको भएपनि एमालेको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेका छन्।

यसैबीच लुम्बिनी प्रदेश सभाका नवनिर्वाचित सांसदहरुको शपथग्रहण कार्यक्रम पुस १६ गते हुने भएको छ। प्रदेश मन्त्रीपरिषदको बुधबार बसेको बैठकले पुस १६ गते सांसदहरुलाई शपथ गराउनका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो।

प्रदेश सभा बैठकको आहवान पनि गर्न पनि सिफारिस गरिएको आन्तरिक मामिला मन्त्री तिलकराम शर्माले बताए। ‘प्रदेश प्रमुखले नै तोकेको मितिमा हुने गरी हामीले बैठकको लागि सिफारिस गरेका छौं। सायद १८ देखि २० गतेसम्म पहिलो बैठक बस्छ।’ उनले भने।

प्रदेश सभा सदस्यको सपथग्रहण र बैठक लुम्बिनीको नयाँ राजधानी देउखुरीमा नै हुनेछ । प्रदेश सरकारले शपथको मिति तोकेपछि प्रदेश सभाले सोही अनुसार तयारी गरेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर