‘ओली प्रतिगमन’ लाई समर्थन गरेको भन्दै मसालद्वारा युवा नेता विमल पोखरेलको सार्वजनिक आलोचना – Nepal Press

‘ओली प्रतिगमन’ लाई समर्थन गरेको भन्दै मसालद्वारा युवा नेता विमल पोखरेलको सार्वजनिक आलोचना

काठमाडौं । राष्ट्रिय जनमोर्चाको माउ पार्टी नेकपा (मसाल)ले सो पार्टीका युवा नेता तथा अखिल छैटौंका पूर्वअध्यक्ष विमल पोखरेलका सार्वजनिक अभिव्यक्ति पार्टी नीतिविपरीत रहेको भन्दै सार्वजनिक रुपमै आलोचना गरेको छ ।

मसालका प्रवक्ता रामप्रकाश पुरीले मंगललवार ६ बुँदे सार्वजनिक स्पष्टीकरण जारी गर्दै लगातार पार्टीका नीतिको आलोचना गर्नु गम्भीर प्रकारको अनुशासनहीनता भनेका छन् ।

पुरीले विमल पोखरेलमाथि ‘ओली प्रगितमन’को प्रत्यक्ष वा अप्रत्यक्ष रुपले समर्थन गरेको आरोप समेत लगाएका छन् । पाँच दलीय गठबन्धन र चुनावी तालमेललाई पोखरेलले गलत भनेकोमा मसालले आलोचना गरेको छ ।

गठबन्धनबाट मसालले २ सीट पाएकोमा बागलुङमा चित्रवहादुर केसी विजयी हुँदा प्युठानमा भने दुर्गा पौडेल एमालेका सुर्य थापासँग पराजित भएकी छन् । पोखरेल प्युठानकै हुन् । मसालले पार्टीका शुभचिन्तक र समर्थकबाट यस्ता अभिव्यक्ति आउनु गलत रहेको जनाएको छ ।

यसैबीच पोखरेलले भने पार्टीले गरेको आलोचनालाई उच्च प्रकारको सार्वजनिक छलफल भन्दै आफूले व्यक्त गरेका विचारहरूमा आफू दृढ भएको बताएका छन् ।

पोखरेलले भनेका छन्- मसालले गरेको आलोचनालाई ऐतिहासिक रुपमा लिएको छु । कुरा त्यति मात्रै होइन, पार्टीले दिएका हरेक जिम्मेवारीहरूलाई दिलो ज्यान लगाएर दृढतापूर्वक पूरा गर्ने गरेको छु । आगामी दिनमा पनि मैले जुनसुकै जिम्मेवारीलाई पूरा तागत लगाएर पूरा गर्नेछु ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर