अर्थमन्त्री फेरिएसँगै फेरियो गभर्नरको बडिल्याङ्गवेज, ट्यूनिङ मिल्ने संकेत – Nepal Press

अर्थमन्त्री फेरिएसँगै फेरियो गभर्नरको बडिल्याङ्गवेज, ट्यूनिङ मिल्ने संकेत

काठमाडौ । अर्थ मन्त्रालय र राष्ट्र बैंकको चिसिएको सम्बन्ध मन्त्री फेरिएसँगै युटर्न भएको छ । जनार्दन शर्मा अर्थमन्त्री हुँदा मन्त्रालयमा देखै नपर्ने गभर्नर महाप्रसाद अधिकारी विष्णु पौडेलको इन्ट्रीसँगै मन्त्रालयभित्र फुर्तिफार्ति र चहलपहल बढाइरहेका छन् ।

अर्थमन्त्री विष्णु पौडेल आएको भोलिपल्टै उनलाई बधाइ दिन मन्त्रालय पुगेका थिए अधिकारी । उनी दिनभर अर्थमन्त्रीसँगै बसेर विभिन्न गुनासा र भेटहरुको साक्षी बनिरहे ।

मंगलबार अर्थमन्त्रालयमा निजी क्षेत्रका प्रतिनिधिलाई अर्थमन्त्री पौडेलले पालैपालो बोलाएर उनीहरुको समस्या बुझेका थिए । आन्दोलनरत व्यवसायीको गुनासो सुन्न अर्थमन्त्री आफ्नो कार्यकक्षबाट बाहिर आउँदा गभर्नर अधिकारी पनि उनको आडमा देखिए ।

उद्योगी व्यवसायीहरुको छाता संगठन उद्योग वाणिज्य महासंघ (एफएनसिसिआइ) र नेपाल उद्योग पसिरसंघ (सिएनआइ) को छुट्टाछुट्टै छलफलमा पनि अर्थमन्त्रीसँग बसेर गभर्नर अधिकारीले उद्योगीहरुको गुनासा सुनिरहे ।

मंगलबार मन्त्रीलाई भेट्नेहरुको लर्को लाग्दा अर्थमन्त्रालय परिसरमा जाम नै भयो । अन्य मन्त्रालयमा भन्दा अलि बढी चहलपहल राष्ट्रको ढुकुटीको चाबी रहेको अर्थमन्त्रालयमै थियो । अर्थशास्त्रको विज्ञता नभएका अर्थमन्त्रीलाई गभर्नरको साथले आडभरोसा मिल्यो ।

पूर्वअर्थमन्त्री शर्मासँग गभर्नर अधिकारीको सम्बन्ध राम्रो हुन सकेको थिएन । शर्मालाई नटेरेका गभर्नरले पौडेलप्रति भने झुकाव देखाएका छन । गर्भनर स्वयम एमाले निकट भएकाले उनीहरुको ट्यूनिङ मिल्न सक्ने आंकलन गरिएको छ ।

उद्योगीहरुको समस्या सुनेपछि अर्थमन्त्रीको आडैमा बसेका गर्भनर केही बोलेनन् । तर अर्थमन्त्री पौडेलले व्यवसायीहरुलाई भने, ‘तपाईंहरुको समस्या अर्थमन्त्रालयले मात्र सुनिरहेको छैन, राष्ट्र बैंकले पनि सुनिरहेको छ ।’

अर्थमन्त्री पौडेलले निजी क्षेत्रलाई मनोबल उच्च पारेर अर्थबाट फर्कन आग्रह गर्दै भने, ‘तपाईंहरुको समस्या समाधान नजिक छ । अर्थमन्त्रालय र राष्ट्र बैंकको तर्फबाट हुने काम गर्छौ ।’

उनको त्यो अभिव्यक्तिबाट राष्ट्र बैंकको ग्यारेन्टी उनी आफैले लिइरहेको बुझ्न कठिन थिएन । यसले पनि अर्थमन्त्री र गभर्नरबीच आपसी विश्वास र सौहार्दता झल्किन्छ ।

अधिकारीलाई राष्ट्र बैंकको गर्भनरमा केपी वली सरकारले नियुक्त गरेको हो । तर एमाले सरकारबाट बाहिरिएपछि गर्भनर अधिकारीले असहयोग गरेको आरोप छ । पूर्वअर्थमन्त्री जनार्दन शर्मासँग विभिन्न विषयमा मतभेद रहेका गभर्नर अधिकारीलाई सरकारी सूचना चुहाएको आरोप लगाउँदै तत्कालीन अर्थमन्त्री शर्माकै प्रस्तावमा मन्त्रिपरिषदले निलम्बन गरेको थियो ।

गभर्नरमाथि अनुसन्धान अघि बढे पनि त्यसविरुद्ध सर्वोच्च अदालत पुगेका अधिकारीलाई अदालतले काममा फर्किन आदेश दियो । राष्ट्र बैंकको नेतृत्वबाट अधिकारीलाई हटाउने शर्माको प्रयास असफल भयो । त्यहीँबाट अर्थमन्त्रालय र राष्ट्र बैंकको सम्बन्ध बिग्रिँदै गयो ।

उता तत्कालीन अर्थमन्त्री शर्मा बजेट बनाउँदै गर्दा सिमित घरानाको स्वार्थमा परेर करको दर हेरफेर गरेको आरोपमा व्यापक विवादित बने । विवादसँगै शर्माले राजीनामा दिए । संसदीय समितिले छानबिन गरेपनि शर्मामाथिका आरोपहरु पुष्टि गर्ने आधारहरु भेटिएका थिएनन् । यद्यपी प्रमाण मेटाउने कार्य शर्माले नै गरेको भनेर चर्को विरोध पनि भएको थियो । यता नेकपा एमालेको अर्थ विभागमा रहेको ‘एम अधिकारी’ राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भएको भन्दै चौतर्फी विरोध भयो ।

एमालेले भने गभर्नर अधिकारी आफ्नो विभागमा नभएको दाबी गरे पनि एम अधिकारी को हो भनेर सार्वजनिक भने गरेन । कांग्रेस, माओवादीलगायतका दलहरुले भने एमालेले गभर्नर अधिकारीलाई आफ्नो विभागमा राखेको दाबी गर्दै तीव्र विरोध गरे । तर पछि शर्माले सफाइ पाएपछि एम अधिकारी काण्ड पनि मत्थर भयो । कतिपयले एम अधिकारी र जनार्दनको सीसीटीभी काण्ड साटफेर गरेर तैं चुप मै चुप भएको आरोप पनि लगाएका छन् ।

दुवैजना आफ्नो भूमिकामा फर्किए तर सम्बन्ध झनै बिग्रियो । त्यसको छायाँ जनार्दन शर्मा सोमबार अर्थमन्त्रीबाट बिदाइ हुँदै गर्दा पनि देखियो । बिदाइमा अर्थमन्त्रालय मातहतका निकायको प्रमुखको बाक्लो उपस्थिति थियो, तर नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भने अनुपस्थित रहे । शर्मा विदाइ भएको भोलिपल्टदेखि नै मन्त्रालयमा उनको चहलपहल बढ्न थालेको हो ।

कतिपयले विपक्षी दलको सरकारलाई असफल देखाउन प्रयास गरेका गभर्नरको अर्थतन्त्रलाई लिएर दिने आगामी अभिव्यक्ति सुन्नलायक हुने आंकलन गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *