रविको गृह प्रवेश-प्रचण्डविरुद्ध चुनाव लड्न चितवन गए, उनकै क्याबिनेटको उपप्रधानमन्त्री भए – Nepal Press

रविको गृह प्रवेश-प्रचण्डविरुद्ध चुनाव लड्न चितवन गए, उनकै क्याबिनेटको उपप्रधानमन्त्री भए

काठमाडौं । कुनै समय प्रहरीलाई अगाडि लगाएर स्टिङ अप्रेसनमा हिँड्ने गरेका रवि लामिछाने गृहमन्त्री नियुक्त भएसँगै अब उनीमाथि देशभरको शान्ती सुरक्षा सुदृढ र बलियो बनाउने जिम्मेवारी थपिएको छ । अब उनले प्रहरीसहितका सुरक्षा संयन्त्र परिचालन गरेर अपराध नियन्त्रण गर्नुपर्ने छ भने अपराधीलाई सजायको दायरामा ल्याउनुपर्ने छ ।

अपराधको राजनीतिकरणबाट बढ्दो निराशा उनिसामू तेर्सिएको प्रमुख चुनौती हो जसलाई कानूनी शासन स्थापित गरेर उनले हटाउनु पर्नेछ ।

देशभर व्याप्त भ्रष्टाचार, अनियमिताता, जवाफदेहीहिनता र अपारदर्शीताविरुद्ध आफ्नो पत्रकारितामार्फत खरो उत्रने गरेका लामिछाने आफ्नो छोटो राजनीतिक करियरमै यस्तो विन्दुमा पुगेका छन् जहाँबाट उनको अग्नि परिक्षा सुरु हुनेछ । उनले भन्ने गरेजस्तो नेताहरुलाई टुडिखेलमा ल्याएर नाकको डाँडी भाँचिने गरी हान्नुपर्ने अवस्थामा उनी स्वयं पनि आउन सक्नेछन् ।

पार्टी दर्ता गरेको ६ महिना पनि बित्न नपाउँदै संसदीय निर्वाचनमा बलियो उपस्थिति देखाएपछि प्रमुख दलहरु उनी नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई गठबन्धनमा साथ लिएर सरकारमा जानुपर्ने बाध्यात्मक स्थितिमा पुगेका थिए ।

त्यसो त रवि क्रेज असामान्य देखेपछि संसदीय निर्वाचनको पूर्व सन्ध्यामा केपी ओलीसहित प्रमुख राजनीतिक दलका नेताहरुले राजनीतिमा युवा उपस्थितीलाई स्वागतयोग्य रहेको बताएका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डसँग चुनावी प्रतिस्पर्धा गर्न भन्दै चितवन पुगेका रवि आफ्नो पहिलो संसद यात्रामा प्रचण्डकै मन्त्रि मण्डलको महत्वपूर्ण मन्त्रालय सम्हाल्ने जिम्मेवारीमा पुगेका छन् ।

राजनीतिक नेतृत्वविरुद्ध निरन्तर छेड, जहाँ मुद्दा त्यहीँ चुनावी प्रतिस्पर्धा

पत्रकारिता गर्दागर्दै अमेरिका लागेका रवि पछि नेपाल फर्किएर पुनः टेलिभिजनमा सक्रिय भएका थिए । टेलिभिजन कार्यक्रममा जनताका आम समस्याबारे बोलेर र प्रश्न सोधेर अनि कतिपय अवस्थामा समस्या समाधान गरेर चर्चा कमाएका रवि निरन्तर राजनीतिक नेतृत्वमाथी खनिरहन्थे ।

त्यही बीचमा रविसँग कुनै समय काम गरेका एक पत्रकार चितवनमा झुन्डिएको अवस्थामा फेला परेपछि उनलाई आत्म दुरुत्साहनमा मुद्दा चलाएर हिरासतमा राखिएको थियो । रविले आफूविरुद्ध राजनीतिक षड्यन्त्र भएको भन्दै प्रतिवाद गरिरहे । रविको पक्षमा चितवनमा जनसागर उर्लियो । चितवन जिल्ला अदालतबाट धरौटीमा छुटेपछि केही समय पत्रकारितामा सक्रिय रहेका उनले त्यसपछि एकाएक राजनीतिमा आउने घोषणा गरेका थिए ।

उनले प्रचण्ड चुनाव लड्दै आएको र उनकी छोरी रेणु मेयर रहेको भरतपुर महानगरपालिकासहितको ठाउँमा चुनावी प्रतिस्पर्धा गर्ने निर्णयमा पुगेका थिए । प्रचण्ड भने चितवन छाडेर गोरखामा चुनाव लड्न पुगेका थिए । संसदीय निर्वाचनमा प्रचण्डको पार्टी तेस्रो भएको थियो भने पहिलो संसदीय निर्वाचन प्रतिस्पर्धामै राष्ट्रिय स्वतन्त्र पार्टी चौथो भयो । काठमाडौंका १० निर्वाचन क्षेत्रमा मात्र रविको पार्टीले ४ सिट जित्यो ।

‘पैसा बुझाउन नसक्नेको हुँदैन सरुवा बढुवा’

शेरबहादुर देउवा सरकारमा सुरक्षा निकायभित्र एउटा भाष्य नै निर्माण भएको छ– जसले पैसा बुझाउन सक्दैन उसको सरुवा बढुवा हुँदैन ।

प्रहरीको सरुवा बढुवामा गृह मन्त्रालयलाई निकम्मा बनाएर प्रधानमन्त्री देउवा, उनको परिवार र सचिवालयले सोझै हस्तक्षेप गर्ने गरेको स्वंय सुरक्षा अधिकारीहरु बताउँछन् ।

पूर्व आईजीपी शैलेश थापाले सरुवा बढुवाका लागि शक्ति केन्द्र धाउनेमाथि कारबाही गर्ने धम्की दिइरहेपनि देउवा सरकारले उनलाई निरन्तर कज्याएको थियो ।

आफ्ना र आफूनिकटलाई बढुवा गर्न र जिम्मेवारीमा पुर्याउन देउवाले दरबन्दीसमेत थप गर्न पछि नपरेको स्थिति देखा परेको थियो ।

‘संगठनमा राम्रो काम गर्दा पुरस्कृत भइन्छ र करियर बन्छ भन्ने आशा नै समाप्त भएको अवस्था छ । शक्तिका पुजारीहरु निरन्तर हाबी भइरहेका छन् । रवि जीले कसरी संगठनमा आशा ल्याउनु हुन्छ, त्यो हेर्न बाँकी छ’, प्रहरीका एक बहालवाला एसपी भन्छन् ।

एक प्रभावशाली मन्त्रालय भएर पनि गृह मन्त्रालयका कामकारबाहीमा पछिल्लो समय प्रधानमन्त्री कार्यालय हावी भइरहेको छ । प्रधानमन्त्रीको ठाडो निर्देशनमा, गृह मन्त्रालयलाई बाइ पास गरेर कतिपय विवादास्पद निर्णयहरु भएका देखिएका छन् । ‘अवस्था यस्तो पनि देखियो की सुरक्षा निकायले गृह मन्त्रालयलाई बेवास्ता गरी सोझै प्रधानमन्त्री कार्यालयसँग सम्पर्क गर्ने अवस्था बन्यो’, ती एसपी भन्छन् ।

रविसामू अब लड्खडाएको गृह मन्त्रालयलाई सोझो पार्नुपर्ने पहिलो चुनौती छ । त्यसपछि गुण र दोषका आधारमा पुरस्कृत र दण्ड गर्ने, व्यथितीलाई सुधार गर्ने मानक स्थापित गर्नुपर्ने छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर