असफल अर्थमन्त्रीको ट्याग भिरेर अर्थबाट बाहिरिए जनार्दन शर्मा – Nepal Press

असफल अर्थमन्त्रीको ट्याग भिरेर अर्थबाट बाहिरिए जनार्दन शर्मा

काठमाडौ । अर्थमन्त्रीको रुपमा जनार्दन शर्माको १७ महिना विवादै विवादले भरियो । उनकै पालामा अर्थतन्त्र सर्वाधिक कमजोर बनेको ट्याग लिएर सोमबार उनी अर्थमन्त्रालयबाट बाहिरिएका छन् । अर्थमन्त्रालयबाट बाहिरिँदै गर्दा उनले कर्मचारीले गरेको विदाइमा अर्थतन्त्रका सूचकहरु बुझ्न पाएको र अर्थमन्त्रालय मातहतका विभिन्न निकायबीचको महत्व बुझ्न पाएको बताए ।

त्यसलगतै पत्रकारलाई धन्यवाद दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले आफू मन्त्री बनेर आउँदै गर्दा नै देशको अर्थतन्त्र बिग्रन थालिसककेको बताए । त्यसपछि थप समस्या बल्झदै गएको र अर्थतन्त्र साह्रै खराब हुन्छ भन्ने टिप्पणीका बीच आफूले सफलतापुर्वक रक्षा गर्न सकेको पनि दाबी गरे ।

यद्यपि, अर्थमन्त्रीले आफ्नो बचाउँ गर्दै बाहिरिँदा उनकै पालामा अर्थतन्त्र सर्वाधिक सकसपूर्ण अवस्थामा पुगेको थियो । त्यसले नै उनलाई असफल अर्थमन्त्रीको बिल्ला भिराएर पठाएको छ । सम्भवतः उनको राजनीतिक करियरको सबैभन्दा आलोचनामय बनेको समय भनेको अर्थमन्त्रीकै कार्यकालमा हो । उर्जामन्त्री हुँदा उज्यालो नेपालको थोरै पाएको जस पनि सम्हाल्न सकेनन् ।

अर्थतन्त्रको ढुकुटीको चाबी लिएको मानिसले बजेट बनाउँदै गर्दा निश्चित समुदायलाई लाभ पुग्ने गरी करको दर हेरफेर गरेको आरोप लागेको शर्माले पछि सफाइ त पाए तर सर्वसाधारणले उनी निर्दोष भएकोमा पत्याएनन् । त्यही आरोपमा उनी निलम्बितसमेत भए । यति बेला उनको व्यापक विरोध भयो ।

अर्कातर्फ आयातमुखी अर्थतन्त्र भएको नेपालमा त्यही आयात गर्ने विदेशी मुद्राको सञ्चितीमा पनि ह्रास आइरह्यो । गर्भनर महाप्रसाद अधिकारीले नै एक कार्याक्रममा भनेका थिए ५५ वर्ष लगाएर बचत गरेको विदेशी मुद्रा सञ्चिती एक बर्षमै सकियो भनेर । यस्तो परिस्थिति शर्माकै कार्यकालमा देखिएको हो । विदेशी मुद्रा सञ्चितीमा व्यापक दबाव भएपछि देश श्रृलंका पथमा पुर्याएको अपजस उनलाई छ ।

अर्कोतर्फ उनकै कार्यकालमा राष्ट्र बैंकको स्वायततामा ब्याजदरमा हस्तक्षेप गर्ने बहानामा प्रहार भएको पूर्वगभर्नरहरु बताउँछन् । गर्भनर महाप्रसाद अधिकारी र अर्थमन्त्रीको अहमले मौद्रिक र वित्तीय अवस्थाका बारेमा समन्वयकारी भूमिका निर्वाह भएन । जसका कारण उद्योगी व्यवसायी अर्थमन्त्रीमार्फत राष्ट्र बैंकको भूमिकामा नियन्त्रण गर्न लागे । अर्थमन्त्री र गभर्नरको इगो आजकै (सोमबार) विदाइको कार्यक्रममा समेत देखिएको छ । अर्थमन्त्रालय मातहतका निकायका प्रमुखहरु अर्थमन्त्री शर्मालाई विदाइ गर्न अर्थमन्त्रालय नै पुगे तर नेपाल राष्ट्र बैंकबाट नत गर्भनर नत डेपुटी गर्भनर नत कार्यकारी निर्देशक नै पुगे ।

यता सरकारको राजस्व घटिरहेको विषयमा भने अर्थमन्त्री शर्माले चुनावका कारण त्यतातिर ध्यान दिन नसकेको बताएका छन् । पूँजीगत खर्च हुँदै गरेको, आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा कम नहुने र महंगीसमेत नियन्त्रणमा आइरहेको शर्माले सुनाएका छन् । उनकै पालामा देखिएको तरलता अभावलाई उनले अन्र्तराष्ट्रिय परिदृश्यसँग जोडेका छन् ।

अर्थमन्त्री शर्माकै पालामा सेयर बजारका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसकारण पनि सेयर बजार सुधारको काम गर्न नसकेको भन्दै उनको कार्यकालमा लगानीकर्ता सन्तुष्ट देखिएनन् ।

तर शर्माले आफूले नगरेका कुरामा पनि अनेक लाञ्नछना लगाइएको बताए । अनेक आलोचनाका बाबजुत पनि आफूलै धेरै गर्न सकेको भन्दै राम्रा कामको फेहरिस्तसमेत सुनाए ।

अर्थतन्त्रका अधिकांश सूचक कमजोर बने । अझै पनि बैंकमा पैसा छैन, ब्याजदर वृद्धिले लगानीमा ह्रास आएको छ, जसले गर्दा उद्योगीहरुके उत्पादन घटेको छ । अर्थतन्त्र चलायमान बन्न सकिरहेको छैन ।

अर्थतन्त्रको ड्राइभिङ सिटमा बसेकाले नै अर्थतन्त्रमा देखिएका समस्या तथा सहजताको जस अपजस लिनुपर्ने विज्ञहरुले पनि बताउँदै आएका छन् । उनको कार्यकालमा अर्थतन्त्र सर्वाधिक खराब भएकै कारण असफल अर्थमन्त्रीको ट्याग शर्मामा अडिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर