लगातार दुई चुनाव जितेका मन्त्री बन्न बाँकी माओवादीका यी सांसद – Nepal Press

लगातार दुई चुनाव जितेका मन्त्री बन्न बाँकी माओवादीका यी सांसद

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट प्रत्यक्ष निर्वाचित १८ जना सांसदमध्ये लगातार दुईपटक निर्वाचन जितेका तर मन्त्री नभएका ३ सांसद देखिएका छन् । २०७४ र २०७९ को दुवै निर्वाचनमा जितेकामध्ये मन्त्री नबनेका सुदन किराती, अमनलाल मोदी र हितबहादुर तामाङ हुन् ।

माओवादीले लगातार चुनाव जितेका तर मन्त्री नबनेका नयाँ अनुहार छान्ने मापदण्ड बनाउँदा यी ३ जनाबाट पर्ने सम्भावना छ । यसअघि श्यामकुमार श्रेष्ठ र सन्तकुमार थारुलगायतका केही नेता २०७० र २०७४ को लगातार दुईपटक निर्वाचन जितेर मन्त्री बन्न पाएका थिएनन् । यस पटक निर्वाचनमा नै सहभागी भएनन् ।

प्रदेश १ बाट लगातार दुईपटक निर्वाचन जित्नेमा भोजपुर १ का सुदन किराती र मोरङ ४ का अमनलाल मोदी हुन् । माओवादीले पूर्वमा ३ वटा निर्वाचन क्षेत्रमा मात्रै जित हासिल गर्दा किराती र मोदी दोस्रोपटक निर्वाचित भएका हुन् भने खोटाङ १ बाट रामकुमार राई पहिलो पटक निर्वाचित भएका हुन् । पूर्वबाट किराती र मोदीमध्ये एकजना पर्ने सम्भावना छ ।

यसमा पनि पहिलो चरणमा सुदनको पल्ला भारी रहेको प्रचण्डनिकटका एक नेता बताउँछन् । भोजपुरको चुनावीसभामा प्रचण्डले योपटक सुदनलाई रोजेको मन्त्री दिने वाचा गरिसकेका छन् ।

‘अस्तिको पटक नै मैले मन्त्री बनाउन जोड गर्दा गर्दै सकिन यो पटक उहाँलाई रोजेको मन्त्रालय दिइन्छ । हेर्नुहोला पहिलोचोटि उहाँले रोजेको मन्त्रालय दिन्छु, अस्तिको ऋण तिर्न बाँकी छ सुदनलाई’, प्रचण्डले भनेका थिए ।

पहिलो संविधानसभासहित ह्याट्रिक गरेका सुदनले एमाले उम्मेदवार पूर्वमुख्यमन्त्री तथा सञ्चारमन्त्री शेरधन राईलाई हराएका थिए भने मोदीले एमालेकै विनोद ढकाललाई हराएका थिए ।

नुवाकोट १ बाट हितबहादुर तामाङले एमालेका बद्री मैनालीलाई हराउँदै लगातार दोस्रो जित निकालेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर