प्रचण्डले सरकारकाे नेतृत्व गर्नुहुन्छ, पावर शेयरिङबारे टुंगिएको छैन: पोखरेल (भिडिओ) – Nepal Press

प्रचण्डले सरकारकाे नेतृत्व गर्नुहुन्छ, पावर शेयरिङबारे टुंगिएको छैन: पोखरेल (भिडिओ)

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल कांग्रेसले सरकार बनाउन नसकेपछि एमालेले अग्रसरता लिएको बताएका छन् ।

बालकोटमा बसेको एमाले माओवादी गठबन्धनको बैठकपछि उनले भने, ‘पहिलो दल कांग्रेसले सरकार बनाउन नसकेपछि दोस्रो ठूलो दलको रुपमा एमालेले सरकार गठन गराउनुपर्ने नैतिक बाध्यता आइलाग्यो । राष्ट्रपतिले भनेको समयमा सरकार गठन नहुँदा जनादेशभन्दा विपरीत हुने भएकाले दलहरुबीच छलफल गरेर सहमति बनाएका छौं ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार बनाउने सहमति भएको उनले बताए । दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनको दाबी गर्न राष्ट्रपतिले दिएको समयभित्र पेश गर्न शीतलनिवास जान लागेको एमाले महासचिव पोखरेलले बताए ।

सरकार गठन पछाडि पावर शेयरिङको विषयमा छलफल हुने उनले बताए । प्रचण्डलाई एमालेको ७८, माओवादीको ३२, रास्वपाको २०, राप्रपाको १४, जसपाको १२, जनमतको ६ र नागरिक उन्मुक्तिको ४ गरेर १६६ सांसदको समर्थन रहनेसमेत उनको भनाइ छ ।

उनले भने, ‘अहिले हामीले एजेण्डामा आधारित सरकार गठन गर्ने कुरामा सहमति गरेका छौं । सहमत भएका दलहरुबीच समझदारी बनाएर अघि बढ्छौं ।’

बालकोट बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाएर राष्ट्रपति र सभामुख एमालेले लिने गरी सहमति गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर