सबैभन्दा बढी तलबभत्ता खाने सीईओ कुमारी बैंकका, अन्य बैंकले कसलाई कति दिन्छ ? – Nepal Press

सबैभन्दा बढी तलबभत्ता खाने सीईओ कुमारी बैंकका, अन्य बैंकले कसलाई कति दिन्छ ?

काठमाडौं । आकर्षक रोजगारीको क्षेत्रमध्ये बैंक पनि एक हो । बैंकको जागिरलाई सम्मानजनक पेशाको रुपमा हेरिँदै आएको छ । बैंकको जागिर त्यसमा पनि सीईओमा निकै ‘चार्मिङ’ छ । आकर्षक तलब, सेवा सुविधाकै कारण श्रमिकहरुको रोजाइमा परेको बैंकले कर्मचारीकै लागि वार्षिक अर्बौं रुपैयाँ खर्च गर्दै आएको छ । बैंकका सीईओले त वार्षिक करोडौं रुपैयाँ कमाउने गरेको बैंकहरु बताउँँछन् ।

साधारणसभा गरिसकेका र साधारणसभा गर्न बाँकी केही बैंकले सीईओलाई कति तलब भत्ता दिन्छन् भन्नेबारेमा चर्चा गर्नेछौं ।

कुनै पनि आर्थिक वर्षको साधारणसभा सो आर्थिक वर्ष सकिएको ६ महिनाभित्र गरिसक्नुपर्ने प्रावधानका कारण बैंक तथा वित्तीय संस्थाले धमाधम साधारणसभा गरिरहेका छन् भने केहीले साधारणसभाको घोषणा गरेका छन् । मर्जरको मैदानमा रहेका र पुस मसान्तभित्रै एकीकृत कारोबार गर्न चाहेका बैंकले पनि साधारणसभा यही पुसभित्रै गर्दैछन् ।

बैंकहरुको वार्षिक प्रतिवेदनअनुसार अहिलेसम्मको अवस्थामा सबैभन्दा धेरै तलब भत्ता खाने सीईओ बनेका छन् कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल । उनले एक वर्षमा करिब ४ करोड रुपैयाँ तलबभत्तावापत बुझेका छन् ।

अरु बैंकका सीईओको कति छ तलबभत्ता ?

कुमारी बैंक

कुमारी बैंकले प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाललाई गत आर्थिक वर्ष (२०७८÷७९) मा ३ करोड ९९ लाख १५ हजार ५६७ रुपैयाँ तलब भत्ता दिएको छ ।

सीईओलाई तलबबापत ९५ लाख ४८ हजार १८८, भत्ताबापत १६ लाख ८७ हजार ७११, संचय कोषमा ९ लाख ५४ हजार ८१८, दशैं भत्ताबापत १० लाख ६५ हजार ६८०, बिदाबापत ४० लाख ६३ हजार ७३६, उपदानबापत २ लाख ४३ हजार ३६२, बोनसबापत ३९ लाख ९२ हजार ४८१ र अन्य शीर्षकमा १ करोड ८३ लाख ५९ हजार ५८८ रुपैयाँ दिएको जनाएको छ । कुमारी बैंकको कर्मचारी खर्चमात्र २ अर्ब ३३ करोड २९ लाख ८७ हजार ९३४ रुपैयाँ भएको छ ।

बैंकको अन्य सञ्चालन खर्च १ अर्ब २१ करोड ८५ लाख ९१ हजार ८३० रुपैयाँ छ ।

सिटिजन्स बैंक

बैंकले सीईओ गणेशराज पोखरेलाई गत आर्थिक वर्ष १ करोड ७६ लाख ३० हजार ७७६ रुपैयाँ तलबभत्ताबापत भुक्तान गरेको छ ।

पोखरेलको तलब ८४ लाख, भत्ता ६० लाख, दशैंभत्ता ९ लाख ५० हजार, सञ्चयकोष योगदान ८ लाख ४० हजार, बिदाबापतको १२ लाख २६ हजार र अन्य २ लाख १४ हजार गरी सो रकम भुक्तान गरिएको बैंकले जनाएको छ ।

एनसीसी बैंक

एनसीसी बैंकका सीईओ रमेशराज अर्यालले १ करोड ३२ लाख रुपैयाँ बुझेका छन् । अन्य पदाधिकारी तथा व्यवस्थापकलाई बैंकले ३ करोड २४ हजार रुपैयाँ भुक्तान गरेको छ ।

ग्लोबल आईएमई बैंक

ग्लोबल आईएमई बैंकले सीईओ रत्नराज बज्राचार्यलाई १ करोड ५५ लाख १ हजार ६ सय तलबभत्तावापतको रकम भुक्तान गरेको छ ।

सीईओ बज्राचार्यलाई तलबमात्र ७५ लाख ९६ हजार, भत्ता ५० लाख ४० हजार, दशैंभत्ता १० लाख ५३ हजार, सञ्चयकोष ७ लाख ५९ हजार ६ सय रुपैयाँ प्रदान गरिएको बैंकले जनाएको छ ।

यतिवेला कुल कर्मचारी खर्च ३ अर्ब २९ करोड ७ लाख २५ हजार ८१३ रहेको छ ।

बैंक अफ काठमाण्डू

बैंक अफ काठमाण्डूले प्रमुख कार्यकारी अधिकृतलाई १ करोड २७ लाख ८५ हजार रुपैयाँ तलबभत्ता दिएको छ । सञ्चयकोष, औषधोपचार, सवारीसाधन सुविधा, मोबाइल फोनको भुक्तानी तलब, भत्तालगायतको रकम हो । बैंकका सीईओको भूमिकामा श्रवणलाल मास्के छन् ।

सीईओबाहेकलाई तलबभत्ताबापत १७ करोड २ लाख ५७ हजार रुपैयाँ भुक्तान गरेको छ । योसहित बैंकको कुल कर्मचारी खर्च १ अर्ब ४२ करोड ७९ लाख ८ हजार ८४७ र कार्यालय सञ्चालन खर्च ७५ करोड ८६ लाख ३६ हजार ९०४ रुपैयाँ रहेको छ ।

सानिमा बैंक

सानिमा बैंकले प्रमुख कार्यकारी अधिकृतलाई गत आर्थिक वर्ष २ करोड १४ लाख ६ हजार तलब भत्ता दिएको छ । गत आर्थिक वर्ष कार्यकाल सकिएपछि तत्कालीन सीईओ भुवन दाहालले पूरै आर्थिक वर्ष पूरा गर्न पाएनन् । उनी २०७८ माघ ११ गतेसम्म बैंकको सीईओ रहे । त्यसपछि सीईओमा निश्चलराज पाण्डे कार्यरत छन् ।

इन्भेष्टमेन्ट बैंक

इन्भेष्टमेन्ट बैंकले सीईओलाई ३ करोड ६ लाख ३४ हजार रुपैयाँ तलब-भत्ताबापत दिएको छ । ज्योतिप्रकाश पाण्डे इन्भेष्टमेन्ट बैंकका सीईओ हुन् । कुमारीपछि सबैभन्दा बढी तलबभत्ता पाण्डेले पाएका छन् ।

बैंकले कर्मचारी खर्च १ अर्ब ८७ करोड ४३ लाख र कार्यालय सञ्चालन खर्च १ अर्ब २१ करोड १ लाख गरी ३ अर्ब ८ करोड ४४ लाख रुपैयाँ खर्च गरेको छ ।

मेगा बैंक

मेगा बैंक प्रमुख कार्यकारीलाई गत आर्थिक वर्ष १ करोड ७४ लाख ९८ हजार रुपैयाँ भुक्तान गरेको छ । सीईओ अनुपमा खुञ्जेलीको ४ वर्षको कार्यकाल बैशाख १ मा सकिएपछि बैशाख २ गतेबाट नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत छिन् ।

सेञ्चुरी बैंक

सेञ्चुरीका सीईओले गत आर्थिक वर्ष १ करोड १५ लाख ८७ हजार रुपैयाँ तलबभत्तावापत भुक्तान गरिएको छ ।

हाल बैंकको सीईओ मनोज न्यौपाने हुन् । बैंकको कर्मचारी खर्च (बोनसबाहेक) १ अर्ब ४ करोड १३ लाख ४४ हजार ३०० र अन्य सञ्चालन खर्च ४६ करोड ३४ लाख २७ हजार ८४७ ह्रास कट्टी खर्च ३१ करोड ४२ लाख ८८ हजार ७७३ र व्यवस्थापन खर्च १ अर्ब ८१ करोड ९० लाख ६० हजार रुपैयाँ भएको छ । सेञ्चुरीको साधारणसभा हुन बाँकी छ ।

यता पूर्वाधार विकास बैंकले पनि सीईओलाई १ करोड ४८ लाख ९९ हजार रुपैयाँ तलबभत्तावापत बुझाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *