नेपाल टी-२० : फार वेस्टलाई ६७ रनले हराउँदै लुम्बिनीको सानदार सुरुआत – Nepal Press

नेपाल टी-२० : फार वेस्टलाई ६७ रनले हराउँदै लुम्बिनीको सानदार सुरुआत

काठमाडौं । फार वेस्टर्न युनाइटेडलाई ६७ रनले पराजित गर्दै लुम्बिनी अलस्टारले आजदेखि सुरु भएको नेपाल टी–२० लिगमा सानदार सुरुआत गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले दिएको १ सय ५३ रनको लक्ष्य पछ्याएको फार वेस्ट १६।३ ओभरमा ८५ रन जोड्दै अलआउट भयो ।

फार वेस्टका हर्समतुल्लाह शाहिदीले सर्वाधिक ३५ रन बनाए । बिनोद भण्डारी १३ रन र योगेन्द्रसिंह कार्की १० रनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

सानदार बलिङ गरेको लुम्बिनीका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३ विकेट लिए । सागर ढकालले दुई विकेट लिँदा प्याट ब्राउनल, किशोर महतो र विपुल शर्माले समान एक विकेट लिए ।

यसअघि मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५२ रनको योगफल तयार गरेको थियो ।

लुम्बिनीका लागि ओपनर लाहिरु मिलान्थाले सर्वाधिक ६० रनको योगदान गरेका थिए । उनले, ५० बलमा ८ चौका र १ छक्का प्रहार गरे ।

कप्तान दीपेन्द्रसिंह ऐरीले ३५ रन, बनाउँदा विपुल शर्मा १२ रनमा आउट भए ।

गुलसन झाले ९ बलमा तीन छक्काको मद्दतमा २५ रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

फार वेस्टको बलिङमा करण केसी र उमार अलीले समान तीन/तीन विकेट लिए ।

उद्घाटन खेलमा काठमाडौं नाइट्सले पोखरा एभेन्जर्सलाई २६ रनले हराएको थियो ।

लुम्बिनीले दोस्रो खेल बिराटनगर सुपर किङ्ससँग आइतबार खेल्नेछ । फार वेस्टले सोमबार काठमाडौंसँग खेल्नेछ ।

 

तस्बिरहरु : गाैरव पाैडेल

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर