नयाँ सरकार गठन : राष्ट्रपतिले दिएको समय सीमा घर्किँदै, दलहरूबीच सहमतिको सूत्र समेत बनेन – Nepal Press

नयाँ सरकार गठन : राष्ट्रपतिले दिएको समय सीमा घर्किँदै, दलहरूबीच सहमतिको सूत्र समेत बनेन

आजको छलफलले निकास देला ?

कैलाली। नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सीमा कम हुँदै गइरहेको छ। संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न राष्ट्रपतिले पुस १० गते अपराह्न ५ बजेसम्मको समय दलहरूलाई दिएकी थिइन् ।

राष्ट्रपतिले दिएको समय सीमा सकिन ३१ घण्टा बाँकी रहँदा पनि दलहरूबीच सरकार गठनको सहमति त परैको कुरा  सूत्र समेत पत्ता लाग्न सकेको छैन । सत्ता गठबन्धनकै सरकार पहिलो प्राथमिकतामा रहेको जनाएको माओवादीले प्रधानमन्त्रीका लागि एमालेसँग पनि सहकार्य हुन सक्ने बताएपछि गठबन्धनमा समस्या सृजना भएको हो ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’ जसरी पनि पहिलो चरणमा प्रधानमन्त्री बन्न चाहन्छन् यता कांग्रेस सभापति शेरबहादुर देउवालाई पहिलो शक्तिले तेस्रो शक्तिलाई सरकार नसुम्पिन पार्टी भित्रैबाट चर्को दबाब छ । यस्तो हुँदा दुई नेताबीचको ‘वान टु वान’ वार्ता पनि सफल हुन सकेन ।

हिजो दुबै नेताहरूबीच सहमति जुट्न नसकेपछि आज फेरि सहमतिका लागि दुबै नेता छलफलमा बस्ने भएका छन् । हिजोको छलफलमा करिब साढे दुई घण्टासम्म दुबै नेताहरूले प्रधानमन्त्रीको अडानमा कायम रहेका थिए ।

छलफलमा प्रचण्डले पहिलो चरणमा प्रधानमन्त्री पाए गठबन्धनको सरकार बनाउने नभए विकल्प रोज्न बताएका सङ्केत दिएका थिए । मुलुकलाई सङ्कटबाट बाहिर ल्याउन गठबन्धनको सरकार आवश्यक रहेको बताएका देउवाले पहिलो चरणको प्रधानमन्त्री भने कांग्रेसलाई सहयोग गर्न प्रचण्डलाई आग्रह गरे । देउवाले पार्टी भित्रैबाट चर्को दबाब रहेको भन्दै प्रधानमन्त्री छोड्न नसकिने बताएपछि हिजोको बैठकमा ठोस सहमति हुन नसकेको हो ।

गठबन्धनकै सरकार गठनका लागि पुन: आज छलफल गरिन लागिएको हो । आज दिउँसो ३ बजे पुन बस्ने गरि हिजो देउवा र प्रचण्ड छुट्टिएका थिए । शीर्ष नेताहरू अडानमा रहँदा दोस्रो तहका नेता पनि दौडधुपमा छन् । शुक्रबार देउवा र प्रचण्डको छलफल हुनु भन्दा पहिले कांग्रेस नेता प्रकाशमान सिंह खुमलटार पुगेर पहिलो कार्यकाल देउवालाई छाड्न आग्रह गरेका थिए ।

यता अर्थमन्त्री जनार्दन शर्माले दाहाललाई सरकारको नेतृत्व दिन देउवालाई आग्रह गरेका थिए । यी दुबै नेताहरूको आग्रहलाई देउवा र प्रचण्डले स्वीकार गरेनन् ।नयाँ सरकार गठनका लागि १३८ सांसद आवश्यक पर्छ । कुनै एक दलको बहुमत नहुँदा अहिले दुई वा सो भन्दा बढि दलहरू आन्तरिक गृहकार्यमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर