कार्यकाल सकिने बेलामा किन बोलाइयो देउखुरीमा सबै मुख्यमन्त्रीलाई लुम्बिनीमा ? – Nepal Press

कार्यकाल सकिने बेलामा किन बोलाइयो देउखुरीमा सबै मुख्यमन्त्रीलाई लुम्बिनीमा ?

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले कार्यकाल सकिने समयमा सबै प्रदेशका मुख्यमन्त्रीलाई आफ्नो प्रदेशमा आमन्त्रण गरेर मुख्यमन्त्री सम्मेलान गर्न लागेका छन् ।

पाँच वर्षे कार्यकाल पूरा गरेका सातवटै प्रदेशका मुख्यमन्त्रीहरुलाई पुस १५ लुम्बिनीको स्थायी राजधानी देउखुरीमा बोलाइएको हो । सरकारबाट बिदा हुनै लागेका मुख्यमन्त्रीहरुबीच सरकारका कामको समीक्षा र अव बन्ने सरकारलाई सुझाव दिनका लागि भन्दै सम्मेलन गर्न लागिेएको सरकारको भनाइ छ ।

प्रदेश सरकारका प्रवक्ता तथा संचार मन्त्री तिलकराम शर्माले सबै मुख्यमन्त्रीहरुको सल्लाहमा यो समीक्षात्मक कार्यक्रमको आयोजना लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले गरेको जानकारी दिए ।

मुख्यमन्त्री केसीको निमन्त्रणामा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राइ, मधेश प्रदेशका लालबाबु राउत, बागमती प्रदेशका राजेन्द्रप्रसाद पाण्डे, गण्डकी प्रदेशका कृष्णचन्द्र नेपाली, कर्णालीका जीवनबहादुर शाही र सुदूरपश्चिम प्रदेशका सरकार प्रमुख त्रिलोचन भट्ट सम्मेलनमा सहभागी हुन देउखुरी आउने छन् ।

तर १५ पुस पहिले राजीनामा दिएका मुख्यमन्त्री सम्मेलनमा आउँछन् वा आउँदैनन् भन्ने विषयमा प्रवक्ता शर्माले प्रष्ट पारेनन् । सबैको समय लिएरै त्यो मितिमा सम्मेलन बोलाइएको हो, थप विषय त अहिले भन्न सकिएन– उनले भने ।

प्रदेशको स्थायी राजधानी देउखुरीको भ्रमण गराएर यही मुख्यमन्त्रीहरुको सम्मेलन गर्न लागिएको मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विश्वकर्माले बताए ।

२०७७ असोज २० गते प्रदेशसभाको बैठकले देउखुरीलाई लुम्बिनी प्रदेशको स्थायी राजधानी बनाउने प्रस्ताव पारित गरेको थियो । त्यसको झन्डै २६ महिनापछि स्थायी राजधानी कार्यान्वयनमा आएको हो ।

मुख्यमन्त्री कार्यालयले देउखुरीबाट यही मंसिर २८ गतेबाट काम गर्न सुरु गरिसकेको छ । अन्य मन्त्रालयहरु अव छिट्टै नै सार्ने तयारी थालिएको छ । नयाँ सरकार बन्नै लागेका बेला काम चलाउ भैसकेका मुख्यमन्त्रीहरुले सम्मेलनको विषयवस्तुबारे सत्तारुढ दलहरु नै अनविज्ञता जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर