मुख्यमन्त्री राई भन्छन्- चमत्कारिक अवस्थाबाहेक यही सरकार निरन्तरताको परिदृश्य देख्दैछु – Nepal Press

मुख्यमन्त्री राई भन्छन्- चमत्कारिक अवस्थाबाहेक यही सरकार निरन्तरताको परिदृश्य देख्दैछु

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले कुनै चमात्कारिक अवस्थाबाहेक यही सरकारको निरन्तरता हुने राष्ट्रिय परिदृश्य बन्दै गएको बताएका छन् ।

बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित चालू आर्थिक वर्षको प्रथम चौमासिक प्रगति समीक्षामा उनले गठबन्धनको निरन्तरता हुने बताएका हुन् ।

‘सरकार परिवर्तन नहोला भन्दिनँ तर यही गठबन्धनको सरकार बन्ने राष्ट्रिय परिदृश्य म देख्दैछु’ मुख्यमन्त्री राईले भने ।

कर्मचारी स्थायी सरकार भएको स्मरण गराउँदै उनले सरकार सञ्चालनका क्रममा कर्मचारीलाई सहयोगीभन्दा सल्लाहकारको रूपमा लिएको बताए ।

‘कर्मचारीका सवालमा हिजो हामीले कुनै रंग हेरेनौं, बिरालो कालो होस् वा सेतो मुसा मारे पुग्छ भने झैं हामीलाई काम चाहिएको छ’, उनको भनाइ थियो ।

मुख्यमन्त्री राईले कर्मचारी जागीर खान मात्रका लागि नभई कामका लागि भएकाले सबै कर्मचारीले पाएको र दिइएको जिम्मेवारीअनुसार काम गर्नुपर्नेमा जोड दिए ।

सरकार फेरिने प्रक्रियालाई स्वाभाविक रूपमा लिनुपर्ने भन्दै एउटा सरकारले गरेको कामको दायित्व र जिम्मेवारी अर्को सरकारका लागि बोझ नहोस् भन्नेतर्फ कर्मचारी नै सजग हुनुपर्ने बताए । आफू नेतृत्वमा आउनुपूर्व पूर्ववर्ती सरकारले बहुवर्षीय योजनासहितका टुक्रे योजनामा गरेको खर्चले निकै ठूलो तनाव सहनुपरेको भोगाई पनि उनले सुनाए ।

‘जोसुकैको सरकार होस् स्रोत सुनिश्चित छैन भने बजेटमा उल्लेख नगरौं भनेर कर्मचारीले भन्न सक्नुपर्छ, हैन भने अर्कालाई भार पर्छ’, राईले भने, ‘नहुने, नमिल्ने काम छ भने निर्धक्क भएर हुँदैन भन्नुपर्छ, अनि हुने काम छ भने स-सना छिद्र खोजेर अल्झाउनु पनि हुँदैन ।’

साउनयता प्रथम चौमासिकमा प्रदेश सरकारअन्तर्गतका विभिन्न १७ वटा मन्त्रालय तथा निकायको प्रगति विवरण प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर