साम्राज्ञी र पुष्पको ‘तिम्रो मेरो साथ’, ट्रेलर रिलिजमा रमाइलो बात ! – Nepal Press

साम्राज्ञी र पुष्पको ‘तिम्रो मेरो साथ’, ट्रेलर रिलिजमा रमाइलो बात !

काठमाडौं । ‘कस्तो समयमा प्रेमी वा प्रेमिकाको आवश्यकता महसुस हुन्छ ?’ सञ्चारकर्मीको यस्तो प्रश्नमा पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहनिकै बेर अल्मलिए । केहीबेर हाँसो पनि चल्यो ।

‘कस्तो राम्रो प्रश्न, तर के जवाफ दिने होला ?’ साम्राज्ञीले टाउको कन्याइन् । यता सन्दीप क्षेत्री भुत्भुताइरहेका थिए, ‘कति गाह्रो प्रश्न हो बे ?’

‘के रे दाई प्रश्न ?’ पुष्पले प्रश्न दोहोर्याउन लगाए । केहीबेर सोचेपछि पहिले पुष्पले जवाफ दिए । ‘जब मान्छे घृणित, फ्रस्ट्रेट, डिप्रेस्ड हुन्छ, त्यतिबेला उसले माया र प्रेमको स्पर्श खोज्छ’, उनले आधा भावुक र आधा रोमान्टिक मुद्रामा भने । तर, उनको जवाफमा सन्दीपले अर्को मजाक गरे ।

नाक खुम्च्याउँदै उनले भने, ‘जस्ट पास आन्सर हो यो । साम्राज्ञी त फेलै हुन्छ ।’ त्यसपछि माइक सामाज्ञीको हातमा पुग्यो । पुसको चिसोमा पनि छातीमा खुलेको वस्त्र लगाएकी उनले जवाफ पनि खुलेरै दिइन्, ‘स्पेसल्ली आइ थिंक, माया भन्ने कुरा सबैलाई जतिखेर पनि चाहिन्छ । तर विशेषत गाह्रो अवस्थामा, जिन्दगीको खराब मोड चलिरहेका बेलामा र आफूले मुख खोलेर नभन्दा पनि कसैले बुझिदिए हुन्थ्यो भन्ने परिस्थिति आएको बेलामा मायाको धेरै जरुरत पर्छ । आइ थिंक यही नै हो ।’

साम्राज्ञीतर्फ अर्को प्रश्न फ्याँकियो, जुन प्राय फिल्म रिलिजको बेला कलाकारलाई सोधिने रेडिमेड प्रश्न हो । ‘फिल्म रिलिजको बेला कस्तो खालको दबाब हुन्छ ?’

साम्राज्ञीले प्रश्न नै मन पराइनन् । ‘ह्या दाइ, के प्रश्न सोध्या होला,’ उनले भनिन् । तर जवाफ दिन पनि पछि हटिनन् ।
‘अभियसली दबाब हुन्छ । आफूले काम गरेको फिल्म नचलोस् भन्ने कसलाई हुन्छ र दाइ ?’ उनले भनिन् ।

यो रमाइलो दृष्य हो, प्रदर्शोन्मूख चलचित्र ‘तिम्रो मेरो साथ’ को आज आयोजित ट्रेलर रिलिज कार्यक्रमको । पुष्प र साम्राज्ञीको रोमान्स हेर्न पाइने यो चलचित्र यही पुस २९ गतेबाट देशभर एकसाथ रिलिज हुँदैछ । यसै चलचित्रबाट नवनायिका एमिली लामाले डेब्यु गर्दैछिन् । सस्पेन्स त्रिकोणात्मक प्रेमकहानीमा आधारित चलचित्रमा चर्चित हाँस्यकलाकार सन्दिप क्षेत्री पनि मुख्य भुमिकामा देखिने छन् ।

ट्रेलर रिलिज कार्यक्रममा चलचित्रका कलाकारसहित निर्माता, निर्देशक र लेखक उपस्थित थिए । तर, सञ्चारकर्मीको फोकसमा नायक–नायिका हुने नै भए । कुराकानीको क्रममा पुष्प र साम्राज्ञीलाई पत्रकारले विभिन्न खाले प्रश्न सोधे, जुन ट्रेलर रिलिजसँग असम्बन्धित पनि थिए ।

पुष्प र साम्राज्ञीको यो दोस्रो सहकार्य हो । यसअघि उनीहरुले चलचित्र ‘मारुनी’ मा एकसाथ काम गरिसकेका छन् । मारुनीलाई दर्शकले निकै रुचाएका थिए । उनीहरुको जोडीको खुवै चर्चा भएको थियो । तिम्रो मेरो साथले यी दुईको स्टारड्मलाई साथ दिन्छ वा दिँदैन भन्ने चाहीँ आउने दिनहरुले बताउनेछन् । तर चलचित्रले राम्रो व्यापार गर्छ भन्नेमा भने दुवै विश्वस्त देखिए ।

‘तिम्रो मेरो साथ’ का निर्देशक हुन, रमेश एम.के पौडेल । उनी चलचित्रका निर्माता पनि हुन् । लेखनमा जमेका पौडेलले यो चलचित्र भने आफै निर्देशन गरेका छन् । अमेरिकामा फिल्म मेकिङ पढेर आएका उनी अमेरिकाकै ग्रीन कार्ड होल्डर हुन् ।
अमेरिका जानुअघि चलचित्र निर्माण गर्दाको पल सम्झिँदै पौडेल सुनाउँछन्, ‘पहिला चलचित्र बनाउँदा एउटै कुरा १५ चोटी हेर्थेँ । ३५ दिन लाग्ने काम ७० दिन लगाएर सकाउँथे । जब त्यहाँ गएर पढेँ, धेरै कुराको ज्ञान भयो । जब कथा सुनेँ, आफैँलाई निर्देशन गर्ने सोख चढ्यो । नयाँ पुराना सबै निर्देशकसँग सहकार्य गरेको छु । यो चलचित्रमा भने आफैँ खटेर लाग्न मन लाग्यो ।’

चलचित्रको कथा सबिर श्रेष्ठले लेखेका हुन् । लेखनमा उनलाई बाबुराम निरौलाले साथ दिएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *